मधेसका महँगा ज्वाइँ !

मधेसका महँगा ज्वाइँ !

तर, जब केटा पक्षले दाइजोको रूपमा दुई लाख रूपैयाँ नगद र एक मोटरसाइकल मागे, उनी खंग्रंङै भइन्। 

कारण– उनको परिवारसँग केटा पक्षले मागेको दाइजो दिने ‘हैसियत’ थिएन। 

तैपनि उनको परिवारले दाइजो दिने सहमति गर्याे। कारण थियो– छोरीको उमेर बढ्दै गएकाले बिहे नहुने चिन्ता। 

छोरीको बिहेको टुंगो लागेपछि सामान्य आर्थिक अवस्था भएकी उनी बिहेका लागि पैसाको जोहोमा लागिन्। र, उपाय निकालिन्– लघुवित्तबाट ऋण निकाल्ने। 

लघुवित्तबाट चार लाख रूपैयाँ ऋण निकालेर उनले जेठो छोरी बिहे पनि गरिन्। 

००० 

उनी सामान्य परिवारका मानिसलाई छोरीको बिहे गर्न मात्रै होइन, अन्य धेरै कुराको समस्या हुने गरेको बताउँछिन्। ‘सब चिजकी समस्या छी। हर चिजकी दुःख छी। खाने पिनेके तनाव छी,’ उनले भनिन्। 

छोरीसँगै किताबनी खातुन। 

उनी मधेसमा दाइजो बाध्यता भएको बताउँछिन्। ‘दहेज (दाइजो)बिना बिहे सम्भवै छैन,’ उनी भन्छिन्। 

यसकै कारण मधेसमा ज्वाइँ खोज्नु ‘महँगो’ भएको उनी बताउँछिन्। 

दाइजो पछिल्लो समय झन् विकृतिका रूपमा देखिएको उनको बुझाइ छ। ‘पहिले दाइजोमा खासै खर्च हुँदैनथ्यो। साइकल र ५–१० हजार रूपैयाँ दिए पुग्थ्यो,’ उनी भन्छन्, ‘अहिले त मोटरसाइकल र लाखभन्दा बढी नगद नै दिनुपर्छ।’ 

बिहेमा दाइजो दिनका लागि पाँच लाख रूपैयाँ चाहिने भएपछि बाँकी तीन छोरीको बिहे कसरी गरौं भन्ने चिन्तामा छिन् उनी। 

उनको मात्रै होइन, नेपाल–भारत सीमानजिकै हरिनगर गेट नजिकैको बस्तीकी सुकुनी खातुनको पनि उस्तै समस्या छ। 

छाप्रोमा बस्दै आएकी सुकुनी दाइजो दिन नसक्दा माइली छोरीको बिहे गर्न नसकेको बताउँछिन्। छोरीको बिहेको कुरा चलेको दुई वर्ष भएको उनको भनाइ छ। 

सुकुनीका पाँच छोराछोरीमध्ये दुई छोरी र एक छोराको बिहे गर्न बाँकी छ। 

जेठी छोरीको बिहेको ऋण तिर्न हम्मेहम्मे परिरहेको अवस्थामा बाँकी दुई छोरीलाई अन्माएर पठाउने चिन्तामा छन् उनी। 

तराईमा उमेर बढ्दै गएपछि केटीको बिहे नहुने बुझाइ छ। यसकारण सामान्य आर्थिक अवस्था भएकाले पनि ऋण काँढेर दाइजो दिन बाध्य छन्। 

दुहबी नगरपालिका वडा नम्बर ९ कि जोलखा खातुनको पनि उस्तै समस्या छ। 

दुई वर्षअघि उनले छोरीको बिहेका लागि फरवार्ड लघुवित्तबाट चार लाख रूपैयाँ ऋण लिएकी थिइन्। उक्त ऋणको तिर्नुपर्ने अवधि यही पुसमा सकिँदैछ। 

दाइजोका लागि लिएको ऋण चुक्ता हुन नपाउँदै माइली छोरीको बिहे गर्ने बेला हुन थालेको उनी बताउँछिन्। उनकी माइली छोरी १७ वर्ष पुगेकी छन्। 

आम्दानीको दरिलो स्रोत नहुँदा छोरीको बिहे कसरी गर्ने चिन्तामा छन् उनी। 

जोलखा खातुन।

उनी कार्टुन र प्लास्टिक संकलन गरेर बेचेको पैसाले परिवारको खर्च धान्छिन् र बैंकको किस्ता तिर्छिन्। त्यो काम गरेर दैनिक पाँच सय रूपैयाँसम्म कमाई गर्ने उनी बताउँछिन्। 

कुष्ठरोगबाट पीडित श्रीमानले पनि कहिलेकाहीँ सघाउँछन् उनलाई। 

अबको एक वर्ष पैसा जम्मा गर्ने र माइली तथा कान्छी छोरीको बिहे गर्ने योजनामा छन् उनी। ‘जति ढिला गर्याे त्यति नै बढी दहेज (दाइजो) दिनुपर्छ,’ उनी भन्छिन्। त्यसैले छोरीको चाडो बिहे गर्ने योजना छ। 

उनीसँगै काम गर्ने अम्ना, सकुला, मरियम खातुनको समस्या पनि उस्तै छ। सबैले फरवार्ड लघुवित्तबाट कर्जा लिएर छोरीको बिहेमा दाइजो दिएको किस्ता तिरिरहेका छन्। 

मुस्लिम समुदायमा पनि अहिले यो समस्या विकरालरूपमा देखिन थालेको जानकार बताउँछन्। शहर बजार आसपासमा लुकीछिपी दाइजो लिने–दिने गरे पनि सीमा क्षेत्रमा खुलमखुल्ला मोलमोलाइ हुने गरेको उनीहरूको भनाइ छ। 

समाजशास्त्रका प्राध्यापक अर्जुन उप्रेती छोरीको सुखको लागि भनेर विकसित भएको दाइजो प्रथा अहिले बाध्यताको रूपमा देखापरेको बताउँछन्। 

उनी दाइजो प्रथाको मुख्य स्रोत भारतलाई मान्छन्। ‘भारत स–साना राज्यमा हुँदा त्यहाँका राजाहरूले आफ्नो प्रतिष्ठाको लागि छोरीलाई धन–दौलत दिने गर्थे। पछि त्यही संस्कार अन्य राज्यहरूमा पनि बढ्दै गयो,’ उनले भने, ‘नेपाल–भारतीय सीमा क्षेत्रमा बसोबास गर्ने भोजपुरी र मैथिली समुदायको भारतमा पनि बिहाबारी हुन थाल्यो। त्यहीँबाट दाइजोको संस्कार नेपालमा प्रवेश भयो। मधेसमा मात्र सीमित यो संस्कार अहिले मुस्लिम समुदायमा पनि बढ्दो क्रममा छ। परसंस्कृति ग्रहणको कारण यो फैलदो क्रममा छ।’ 

मुस्लिम समुदायमा दहेजको संस्कार नभए पनि मधेसी समुदायबाट विस्तारै फैलिएको महिला हिंसाविरुद्धकी अभियन्ता सावित्री खातुन बताउँछिन्। 

दुहबी ९ की उनी आफ्नै गाउँमा पनि दाइजोको समस्या धेरै भएको बताउँछिन्। 

‘दाइजोविरुद्ध अभियान चलाउँदा कसैले पनि लिने–दिने नगरेको बताउने तर लुकिछिपी ऋण गरेर दिने गरेका छन्,’ उनले भनिन्। 
पछी छोरीले दुःख पाउली वा तलाक (सम्बन्ध बिच्छेद) देलान् भन्ने डरले पनि दहेज दिने गरेको उनले सुनाइन्। 

समाधान के ? 

महिलालाई शिक्षित र आत्मनिर्भर बनाउन सके सामाजिक समस्याको रूपमा देखापरेको दाइजो प्रथा न्यूनीकरण हुने उप्रेतीको भनाइ छ। 

पुष २४, २०७७ शुक्रबार २१:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।