‘प्रणय’ एल्बम विवाद : प्रमोद खरेलले दर्ता गराए सुवासविरुद्ध उजुरी 

‘प्रणय’ एल्बम विवाद : प्रमोद खरेलले दर्ता गराए सुवासविरुद्ध उजुरी 

प्रमोदले आफ्नो सिर्जनामा अधिकार नपाएको भन्दै सुवासविरुद्ध काठमाडौं टेकुस्थित महानगरीय प्रहरी परिसरमा मानहानी, करार उल्लंघन र करार सकिएपछि प्रतिलिपि अधिकार हनन गरेको उजुरी दर्ता गरेका छन्। 

उक्त एल्बममा समावेश ‘पोखरामा’ बोलको गीतमा दुवैबीच लेनदेन विवाद छ। 

‘प्रणय’ एल्बम विवाद : दोषी प्रमोद खरेल कि सुवास रेग्मी ?

त्यसअघि आफ्नो सिर्जनामा प्रमोदले अधिकार नपाएको भन्दै ५७ जना संगीतकर्मी परिसरमा पुगेका थिए। 

संगीतकार लक्ष्मण शेष, गायक राजेशपायल राई, शिव परियार, सत्यराज आचार्य, स्वरूपराज आचार्य, इन्दिरा जोशी, संगीतकार तथा गायक चेतन सापकोटा, कालीप्रसाद बास्कोटा, रचना रिमाल लगायतको टोली प्रमोदलाई न्याय दिलाउन माग गर्दै परिसर पुगेको थियो। उनीहरूले अपिल जारी गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन्। 

यता सुवासले भने एल्बममा आफूले लगानी गरेकाले गीतमा आफ्नो अधिकार रहेको दाबी गरेका छन्। 

उनले अन्याय भएकालाई कानुनी उपचार खोज्न पनि आग्रह गरेका छन्। ‘मेरो मानहानी भए म अदालत जान्छु, उता भए उताका जाउन्। रिसमा कसैले वेद पढ्दैन। रिसको झोकमा के–के भनियो होला, प्रमाण पुर्याएर अदालत जानुस्। कानुनबमोजिम कारबाही भोग्न तयार छु,’ उनले भने। 

उनले प्रहरीकहाँ जानेहरूलाई ‘हुल्लडबाज’को संज्ञा दिएका छन्। ‘बाटोमा काम नपाएका, हुल्लडबाजहरू टेकु गएछन्। ती ५७ जना हुल्लडबाजहरूले मात्र होइन, हजार जनाले पनि केही गर्न सक्दैनन्,’ उनले भने। 

यस्तै, सुवासले प्रमोदलाई इंगित गर्दै अर्काको सम्पत्तिलाई ‘आफ्नो’ नभन्न आग्रह गरेका छन्। र, यसबारे कानुनी उपचार खोज्ने चेतावनीसमेत दिएका छन्। 

‘अरूको सम्पत्ति आफ्नो हो भनेर जिद्दी गर्दै हुल्लडबाज गरेर हुँदैन, कानुनी उपचार खोज्नुपर्छ। कानुनले म दोषी देखिए सजाय भोग्न तयार छु। हिसाब र पिसाब क्लियर राखेर निसाफका लागि न्यायालय जानुपर्छ। बुद्धिबुङ्गा बुद्धिले बेतुकमा बेरोजगारहरूको हस्ताक्षर संकलन गरेर हुँदैन,’ उनले भने। 

के हो विवाद ?

संगीतकार लक्ष्मण शेषका अनुसार विन्दवासिनी म्युजिक कम्पनी र प्रमोदबीच ‘प्रणय’ एल्बमको गीत ५ वर्षका लागि सम्झौता भएको थियो। २०६६ मा बजारमा आएको उक्त एल्बममा ८ ओटा गीत समावेश थिए। 

प्रमोदले गीतको बजार प्रवद्र्धनका लागि विन्दवासिनी म्युजिक कम्पनीलाई जिम्मा दिएको थियो। त्यसबाफत विन्दवासिनीले प्रमोदलाई एड्भान्सस्वरूप केही रकम दिएको रहेछ। 

त्यो समयमा भिडियो बनाउन र अडियो निर्माणका लागि भन्दै एड्भान्स दिने चलन थियो। उनीहरूबीच त्यही सम्झौता भएको रहेछ। 
११ वर्षपछि प्रमोदले आफ्नो हिसाब–किताब माग्दा सुवासले उनलाई गालीगलौजसँगै सामाजिक सञ्जालमा जथाभावी लेखे। त्यसपछि हामीले प्रहरीलाई गुहारेका हौं। 

सुवासले प्रमोदलाई सामाजिक सञ्जालमा गालीगलौज पोस्ट गरेर गल्ती गरेको उनको भनाइ छ। 

बजार प्रवर्द्धन गर्नेले सिर्जना आफ्नो भन्न नपाउने लक्ष्मणको भनाइ छ। 

म्युजिक कम्पनीले अर्काको सिर्जनामा आफ्नो दाबी गरेकाले संगीतकर्मी एकजुट भएको लक्ष्मणले बताए। 

 

पुष २४, २०७७ शुक्रबार १९:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।