किन बत्ती निभ्छ घरीघरी ! 

किन बत्ती निभ्छ घरीघरी ! 

बिना जानकारी विद्युत कटौती हुँदा उपभोक्ता हैरान छन्। नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको बर्हिगमनसँगै बत्ती जाने समस्या बढेको छ।   तर प्राधिकरणले भने यो सामान्य समस्या भएको दावी गर्दै आएको छ।

प्राधिकरणका प्रवक्ता मदन तिम्सिना समयसमयमा बिद्युत कटौती हुनु लोडसेडिङको संकेत नभएको दावी गर्छन्। 

‘अब लोडसेडिङ हुन्छ भनेको एकदुई जनाले चलाएको हल्ला मात्र हो। लोडसेडिङको संकेत होइन। उनले भने,‘तथ्यांकै हेर्ने हो भनेपनि गत वर्षभन्दा कम छ। यो नियमित प्रकृया नै हो। 

काठमाडौं स्यूचाटार सब स्टेशनको उदाहरण दिँदै तिम्सिनाले बत्तीकम गएको स्पष्टिकरण दिए। ‘उदाहरणको रुपमा गत वर्ष मंसिरमा स्यूचाटारको ३९ पटक ट्रिपिङ भएको र सवा ३ घण्टा बत्ती काटिएको थियो। यो वर्ष २ घण्टा बत्ती गएको छ र २३ पटकमात्र ट्रिपिङ गर्नुपरेको थियो। बढि त भएकै छैन।’

यो समस्या उपभोक्ताले कहिलेसम्म भोग्नुपर्छ भन्नेबारे प्राधिकरण आफै एकिन छैन। यस्तो समस्या ट्रिपिङ (मर्मतका लागि सूचना निकालेर बन्द गर्नुपर्ने अवस्था) र सटडाउन (प्राविधिक समस्याका कारण एक्कासी बत्ति जाने समस्या) गर्नुपर्ने अवस्थामा भरपर्ने प्राधिकरणको जवाफ छ। 

यो वर्ष गत वर्षको तुलनामा जाडो बढ्दा पनि विद्युत अवरुद्ध हुने समस्या बढेको तिम्सिना बताउँछन्। ‘अलिकति जाडोमा समस्या बढि हुने ट्रेन्ड पनि छ। मौसमका कारण एकैछिनमा चिसिने हुँदा प्राविधिक समस्या पनि बढेको छ।’ उनी भन्छन्,‘केही समयका लागि हुने आपूर्तिको अवरोधलाई लोडसेडिङको रुपमा हेर्न मिल्दैन।’

विद्युतका उपभोक्ताको माग वार्षिक रुपमा बढ्दो छ। नयाँ घरमा विद्युत जोडिने, एसी जस्ता उपकरण र विद्युतिय सामान खपत गर्न सरकारले गरेको प्रोत्साहनका कारण पनि विद्युतको माग बढेको देखिन्छ। 

माग बढेपनि लोडसेडिङ हुने अवस्था भने नरहेको प्राधिकरणको भनाइ छ। ‘माग वार्षिक रुपमा बढ्दो छ। माग बढेपनि लोडसेडिङ भने हुँदैन’ तिम्सिनाले भने।

प्राधिकरणले आफ्नो आन्तरिक उत्पादन, निजी क्षेत्रको उत्पादन र नपुग हुँदा भारतबाट आयात गरी विद्युतको माग पुर्ति गरिहेकाले लोडसेडिङको अवस्था नरहेको जनाएको छ। 

खेर गएको विजुली उपयोग नहुँदा समस्या

स्वतन्त्र उर्जा उत्पादन संघल (ईपान) भने उत्पादित बिजुली उपयोग नहुँदा यस्तो समस्या आएको दाबी गर्दछ। ईपानका उपाध्यक्ष गणेश कार्की खेरगएको विजुली उपयोग नहुँदा यस्तो समस्या आएको बताउँछन्। 

‘लोड धान्न नसकेर समस्या देखिएको हो। यो प्राविधिक विषय हो। सुधार गर्न सम्भव छ। उत्पादन भएर पनि विजुलीलाई उपयोगमा ल्याउन नसक्दा बत्ति जाने अवस्था आएको हो’ उनी भन्छन,‘ट्रान्समिसन लाईन नबन्दा नेपालको उत्पादन उपयोगमा आएको छैन। आफ्नै सस्तो बिजुली बेचेर भारतबाट ल्याउनुपरेको अवस्था छ।’ 

कार्कीका अनुसार ट्रान्समिसन लाईन नबन्दा अहिलेको अवस्थामा २५ मेघावाटको सिङटी हाईड्रोपावर दुई वटा पुल नबनेर आठ बर्षदेखि खेरगइरहेको छ। २३ मेघावाटको अपर सोलु हाईड्रो १० महिनादेखि लाईनमा नजोडिँदा र कोसी कोरिडोरको झण्डै ३० मेघावाट विजुली ट्रान्समिसन लाईनमा नजोडिँदा खेर गईरहेको छ। ‘खेर गईरहेको बिजुली लाइनमा उपयोग गर्न सके यस्तो समस्या आउने थिएन’ कार्कीले भने। 

पुष २३, २०७७ बिहीबार १६:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।