सीमा सुरक्षामा खटिएका प्रहरी आफै असुरक्षित
इटहरी : पुर्वपश्चिम राजमार्ग देखि करिव ३० किलोमिटर दक्षिणमा पर्छ हुस्की चेकपोष्ट। भारतको घुर्ना बजारको नेपालतर्फको चेकपोष्ट पुग्न करिव १२ किमी कच्ची सडक पार गर्नुपर्छ। त्यही सडकले पुर्याउँछ नेपाल तर्फको अन्तिम सीमाना। चेकपोष्टमा केही सशस्त्र प्रहरी बलका जवान राइफल बोकेर तैनाथ छन्।
सुरक्षा चेकपोष्टमा राखिएको बाँसपनि भाँचिएर पुनः मर्मत गरिएको छ। त्यस नजिकै एउटा निलो घुम्ती छ। घुम्तीसंगै जोडिएका रुखमा बाँधेर एउटा छाप्रो हालिएको छ।
पुरानो त्रिपालले बेरिएको छाप्रो भित्र केही जवानहरु सुतिरहेका छन्। त्यो घुम्ती र छाप्रो सीमा सुरक्षा बलको कार्यालय हो। सामान्य पानी पनि छेक्न नसक्ने गरी बनाइएको छाप्रोमा बसेर उनीहरुले देशको सीमा रक्षा गरिरहेका छन्। त्यहाँ सशस्त्र प्रहरी नायव निरीक्षक (सई) को नेतृत्वमा १३ जनाको टोली तैनाथ छ।
बस्नको मात्र हैन खान र शौचालयको पनि उनीहरुलाई निकै सकस छ। पोष्टको छेवैमा व्यवस्थीत मस्जिद छ। तर, मस्जिदको शौचालय भने प्रहरीले प्रहरीले प्रयोग गर्न पाउँदैनन्। करिव १ किमी टाढा बासघारीमा अस्थायी शौचालय बनाइएको छ।
कम्बर सम्म पानी आउने पोखरी तरेर जुत्ता चप्पल हातमा बोकेर शौचालय जानुपर्ने बाध्यता छ। बर्खायाममा भ्यात्लुङ र सर्पले दिने दुख त कुरै नगरे पनि हुन्छ।
त्यहाँ खाना पनि पाक्दैन। करिव ३ किलोमिटर टाढा रहेको बिक्रमपुर सीमा सुरक्षा पोष्टबाट बिहान बेलुका खाना आउँछ। पानी परेको बेला गाडी फस्ने डरले खाना ल्याउन समस्या हुन्छ। ग्याँस र चुल्होको अभावमा आफै पकाएर खान सक्ने अवस्था समेत छैन। कहिलेकाही स्थानीय संग भाडा मागेर चाउचाउको सुप बनाएर खान्छन् प्रहरी।
चेकपोष्टका सई वीरेन्द्र बोहोराले निकै कष्टपूर्ण ढंगले सीमाको सुरक्षा गर्नुपरेको सुनाए। बोहोराका अनुसार नत राम्रो बस्ने खाने व्यवस्था छ भने नत आवश्यक अन्य स्रोत साधन नै। यो बाक्य पुरा हुन नपाउँदै उनी बसेको कुर्सीमा अड्याएको ढुङ्गा खुस्कियो। ‘यो पनि स्थानीय संग मागेर ल्याएको हो सर। बस्नको लागि निकै समस्या भएर ल्याएको हो मर्मत गर्न पाइएको छैन।’
उनको छेवैमा सिट कभर उप्किएको, हेडलाईक फुटेर सम्पूर्ण अस्थिपन्जर देखिने मोटरसाइकल अड्याइएको छ। कुनै कवाडीमा बेच्न राखेजस्तो मोटरसाइकल स्थानीय एक युवाले मर्मत गरेर चलाउन भनी दिएका हुन्। त्यो पनि मर्मत गरेर गस्तिमा जान काम लाग्ने बोहोराले सुनाए।
सीमानामा भारतीयसँग भन्दा पनि नेपालीसँगै बढि जुध्नुपर्ने बाध्यता रहेको उनले सुनाए। भारतबाट अबैध सामान ल्याए पनि पक्राउ गर्न सक्ने अवस्था छैन। ‘सामान ल्याएर सिधै घरभित्र छिर्छन। घर भित्र पसे हमला गर्न आउँछन्। बोहोराले बाध्यता सुनाए,‘सामान्य बिषयमा केरकार गर्दा पनि बिबाद भइहाल्छ।’
यति मात्रै हैन एकै पटक सयौँको संख्यामा स्थानीयहरु आएर सिपाहीका बन्दुक खोस्ने र भौतिक आक्रमणनै गर्ने गरेको उनले बताए। चेकपोष्ट वरीपरी स–साना छाप्राहरु छन्।
भारतबाट समान ल्याएर बेच्नुनै उनीहरुको मुख्य आम्दानी हो। सरकारी जग्गामा बसेका भु–मिहिन सुकुम्बासीको कमाईको अन्य कुनै श्रोत छैन। त्यसको छेवैमा नहर छ। त्यही नहरले नेपाल र भारतको सीमा कोरेको छ। नहरको वारपार गर्नेहरु त्यतिकै छन्।
खाली झोला लिएर जाने र झोला भरेर नेपाल फर्किनेको ताँती नै देखिन्छ। कतिले साइकलमा त केहिले टाउकोमा बोकेर चामलका बोरा निर्यात गरिरहेका छन्।
स्थानीयलाई जीवन गुजारा गर्न भारतीय बजार जानैपर्ने बाध्यता पनि छ। बाढी आएको बेला डुब्दै भएपनि भारतीय बजार पुग्छन्। नेपाल तर्फभने करिव १२ किलोमिटर टाढा भुटाहा बजार छ। स्थानीयले पारिबाट ल्याएका सामान खरीद बिक्री त्यही भुटाहा बजारमा हुन्छ।
भारतबाट सामान ल्याउने र नेपालमा बिक्री गरी परीवार पाल्नेहरु धेरै छन्।
सुरक्षा चुनौती
२०७५ भदौ ४ गते हरिनगर गाउँपालिकाको भुटाहा बजारमै खुर्सीद आलमको हत्या भयो। हत्यापछि हत्याराहरु भारततिरै लागेको स्थानीयहरु बताउछन्। हत्या भएको दुई वर्ष पुरा भइसक्दा पनि हत्यारा पत्ता लाग्नसकेको छैन। सुनसरी प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरोले छुट्टाछुट्टै अनुसन्धान गरेपनि अहिले सम्म हत्याको नजिक पुग्न सकेको छैन।
हत्यालगत्तै गृहमन्त्री रामबहादुर थापा आफै उपस्थित भएर १० लाख क्षतिपुर्ति दिए। तर, पीडित परिवार भने पैसाँ भन्दापनि न्यायको पर्खाइमा छ।
खुल्ला सिमाना र कमजोर सुरक्षा उपस्थितिको कारण सीमा क्षेत्रमा आपराधिक घटना हुने गरेका छन्। अपराधी नेपाल भारत आवत जावतमा कुनै समस्या नभएको कारण यस्ता समस्या हुने गरेको प्रहरीले जनाएको छ।
पुष २३, २०७७ बिहीबार ०९:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।