कमलपोखरीको मौलिकता मासिने खतरा

कमलपोखरीको मौलिकता मासिने खतरा
तस्बिरहरू : कृष्पा श्रेष्ठ

काठमाडौं : २०७२ को अन्त्यतिर रानीपोखरी पुनःनिर्माणमा निकै विवाद भयो। कारण थियो– पुनःनिर्माणमा कंक्रिट प्रयोग गरिनु।

त्यसको सर्वत्र विरोध भएपछि फेरि रानीपोखरी पुरानै शैलीमा पुनःनिर्माण थालियो, जुन सम्पन्न भइसकेको छ। 

तर, अहिले कमलपोखरीमा पनि कंक्रिट प्रयोग गरेर रानीपोखरीकै अवस्था दोहोर्याउन खोजिँदैछ। यसैको उदाहरण हो– कमलपोखरीको निर्माणाधिन पर्खाल। 

कमलपोखरी चारैतिर बनाइन लागिएको उक्त पर्खाल कंक्रिट अर्थात् ढुंगा, बालुवा र सिमेन्ट प्रयोग गरेर बनाइँदैछ। ६ करोड रूपैयाँ (भ्याटसहित) लागत रहेको पर्खालको ठेक्का कँडेल निर्माण सेवाले पाएको छ। 

पर्खाल मात्रै होइन, कमलपोखरीको बीच भागमा कंक्रिट प्रयोग गरी कमलको फूल निर्माणसमेत गरिँदैछ। 

कमलपोखरी पुनःनिर्माणमा कंक्रिट प्रयोग गरी यसको मौलिकता मासिन लागिएको भन्दै सम्पदा अभियन्ताले चिन्ता व्यक्त गरेका छन्। 

सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ कमलपोखरी पुनःनिर्माणमा रानीपोखरी पुनःनिर्माणमा सुरुमा गरिएको गल्ती दोहोर्याउन खोजिएको बताउँछन्। कमलपोखरी अनुगमन गर्दा त्यहाँ कंक्रिट प्रयोग भएको देखिएको उनको भनाइ छ। ‘यसले सम्पदाको मौलिकता मास्ने मात्रै होइन, पानीको मुहान पनि अवरुद्ध पार्छ,’ उनले भने। 

अर्का सम्पदा अभियन्ता सञ्जय अधिकारी पनि मौलिकता नासिने गरी कमलपोखरी पुनःनिर्माण गर्न नहुने बताउँछन्। ‘कंक्रिट प्रयोग गरी भइरहेको पुनःनिर्माणलाई रोक्नुपर्छ भनेर हामी लागेका छौं। अभियानबाट सम्बन्धित निकायको ध्यानकर्षण गराइनेछ,’ उनले भने।  

उनले सम्बन्धित क्षेत्रका जनप्रतिनिधिलाई पनि कंक्रिट प्रयोगबारे सचेत गराउन पहल गरिने बताए। ‘सुरुमा अभियानकै रूपमा ध्यानाकर्षण गराउँछौं। नभए फिल्डबाटै अभियान चलाउने हो।’ 

उता काठमाडौं महानगरपालिका वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठ कमलपोखरी ऐतिहासिक सम्पदा नभएकाले कंक्रिट प्रयोग गरिएको दाबी गर्छन्। त्यसकारण पुनःनिर्माणको विरोध गर्नुमा कुनै तुक नभएको उनको तर्क छ। ‘कमलपोखरी पुनःनिर्माणमा सबैले साथ दिनुपर्नेमा उल्टै विरोध गर्नु दुःखको कुरा हो,’ उनले भने। 

कमलपोखरीमा आधुनिक शैलीमा थालिएको पुनःनिर्माणले मौलिकता मासिने भन्दै सम्पदा अभियन्ताले पुनःनिर्माण रोक्न माग गरेका छन्। उनीहरूले कंक्रिट प्रयोग नगरी निर्माण गर्न सुझाव दिएका छन्। 

काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्की र वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठले २०७६ असारमा कमलपोखरी पुनःनिर्माणको शिलान्यास गरेका थिए।

पुष २३, २०७७ बिहीबार ०५:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।