सूर्य चिन्हको लोभ देखाउँदै कार्यकर्ता तानातान
इटहरी : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिक बिभाजन पछि कार्यकर्ता तानातानको होडबाजी चलेको छ। केपी शर्मा ओली समुह र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समुहबीचमा देखिएको प्रतिष्प्रधाले नेकपाका कार्यकर्ता चलायमान देखिएका छन्।
आफ्नो समूह मजबुद बनाउन कार्यक्रम गर्ने र कार्यकर्ताको इच्छा अनुसारको पदसमेत दिने प्रतिष्प्रधानै चलेको छ। मंगलबार इटहरीको दुर्गा पार्टी प्यालेसमा भएको दाहाल–नेपाल समूहको भेलाले सूर्य चिन्ह आफ्नो हुने भन्दै ढुक्क हुन कार्यकर्तालाई आश्वस्त पार्यो।
नेकपाका जिल्लास्तरको नेताहरुको भेलाले ओली समूह नक्कली नेकपा भएकोले सूर्य चिन्ह आफ्नो हुने भन्दै कार्यकर्ता तान्ने रणनीति बनायो।
प्रदेश इन्चार्ज भीम आचार्य, जिल्ला अध्यक्ष योगेन्द्र मण्डलसहित इटहरी नगर कमिटिका इन्चार्ज केशव कुमार बिष्टसहितको बैठकले मुल पार्टी दाहाल–नेपाल समुह भएको र ओलीको उडन्ते कुराको बिश्वास नगर्न कार्यकर्तालाई आश्वस्त पारे।
भोलिपल्ट अर्थात बुधबार एकै दिन ओली पक्षका दुईवटा भेला भए। अनेमसंघ इटहरीले बृहत् कार्यकर्ता भेलाको आयोजना गर्यो। नेकपा नेतृ भगवती चौधरीको प्रमुख आतिथ्यतामा भएको भेलामा दाहाल–नेपाल समूहको अवसरबादी र पदलोलुपताको पक्षमा नलागी ओली समुहको पक्षमा खरो उत्रिन कार्यकर्तालाई प्रशिक्षित गराईयो।
दाहाल–नेपाल समूहले पार्टी फुटाएको आरोप लगाउँदै उनीहरुले ओली देशभक्त र नेकपाको संस्थापन भएको बताए। आफ्नो समूहका सूर्य चिन्ह आउनेमा विश्वस्त पार्दै ढुक्क भएर संगठन बिस्तारमा लाग्न भेलाले निर्देशन दिएको छ।
सोहि दिन अनेरास्ववियू सुनसरी जिल्ला कमिटिले लायन्स क्लबको भवनमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो। प्रदेश १ आन्तरिक मामिला मन्त्री हिक्मत कार्र्की सहभागी कार्यक्रममा पनि सूर्य चिन्हबारे कार्यकर्तालाई विश्वस्त दिलाउने काम गरे।
भेलाले निर्वाचनको मिति घोषणा भइसकेकोले चुनावी तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएको थियो। ओली समूहका केन्द्रीय सदस्य तैयब हुसेनले चुनावी तयारी थाल्न ढिलाई गर्न नहुने तर्क गरे। त्यस्तै मन्त्री कार्कीले सूर्य चिन्ह आफुहरुकै हुने दाबी गरे। यदि सूर्य चिन्ह नभएर उदाउँदै गरेको सूर्यबाट भएपनि चुनाव लड्नुपर्ने उनको भनाई छ।
सूर्य चिन्हको आसमा बसेर कुनैपनि समूहमा विभाजित नभएका कार्यकर्तालाई आफूतिर आकर्षित गर्ने होडबाजी सुरु भएको छ।
नेकपा ओली र दाहाल–नेपाल दुवै समूह आफुहरु संस्थापन भएको भन्दै सूर्य चिन्हको प्रचार गर्दै कार्यकर्ता भेला पार्ने होडबाजीमा लागेका छन्।
पुष २२, २०७७ बुधबार २०:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।