लुम्बिनी प्रदेशमा नेकपाको जिल्ला अध्यक्ष र सचिव को कता ?
भैरहवा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुुई समूहमा विभाजित बनेपछि स्थानीयस्तर सम्म नै नेता कार्यकर्ता विभाजित बनेका छन्।
पार्टीको आन्तरिक झगडाको रिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नै विघटन गरेपछि पार्टी फुटेको हो।
नेकपाको दुई समूहबीच भएको आपसी लडाइले प्रदेश सरकारहरुको फेरबदलको पनि चर्चा चलेको छ। यद्यपि लुम्बिनी प्रदेश सरकारमा तत्काल मन्त्रीमण्डल फेरबदलको सम्भावना भने देखिदैन।
लुम्बिनी प्रदेशमा दुवै समूहका प्रभावशाली नेता छन्। ओली समुहमा नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, उर्जामन्त्री टोप बहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, पूर्वकृषिमन्त्री छबिलाल विश्वकर्मा, लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरी लगायत छन्।
त्यस्तै दाहाल–नेपाल समूहमा पूर्वउर्जामन्त्री वर्षमान पुन, पूर्वसभामुख कृष्ण बहादुर महरा, ओनसरी घर्ती, पूर्वकृषिमन्त्री घनश्याम भुसाल, पूर्वश्रममन्त्री गोकर्ण विष्ट लगायत छन्।
लुम्बिनी प्रदेशका १२ जिल्लाका अध्यक्ष र सचिव मध्ये अधिकांश ओली दाहाल–नेपाल समूहमा लागेका छन्। ओली समूहमा ६ अध्यक्ष र ३ सचिव मात्र छन्। बाँकी सबै दाहाल–नेपाल समूहका हुन्।
तीन जिल्ला रोल्पा, दाङ र बाँकेमा भने ओली समूह पदाधिकारीविहीन बनेको छ। मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला दाङमा अध्यक्ष र सचिव दुवै दाहाल–नेपाल समूहमा छन्।
रुपन्देहीका अध्यक्ष शिवराज सुवेदी ओली समूहमा छन् भने सचिव नारायण जिसी दाहाल–नेपाल समूहमा छन्। यस्तै ओली पक्षको जिल्ला अध्यक्षमा कपिलवस्तुका झबिलाल पोखरेल छन्। सचिव रामचन्द्र शाह ठकुरी दाहाल–नेपाल समूहमा छन्।
पश्चिम नवपपरासीका अध्यक्ष भविश्वर तिवारी दाहाल–नेपाल समूहमा छन् भने सचिव तुल्सी पासी ओली समूहमा छन्। पाल्पाका अध्यक्ष नारायण आचार्य ओली समूहमा छन् भने सचिव राजेन्द्र विक दाहाल–नेपाल समूहमा छन्।
गुल्मीका अध्यक्ष मधुकृष्ण पन्त ओली समूहमा छन् भने सचिव वीरबहादुर कार्की दाहाल–नेपाल समूहमा छन्। अर्घाखाँचीका अध्यक्ष चेतनारायण आचार्य ओली समूहमा छन्। सचिव ठाकुर विक दाहाल–नेपाल समूहमा छन्।
यस्तै दाङका अध्यक्ष टीकाराम खड्का, सचिव शुवास पुन, बाँकेका अध्यक्ष आइपी खरेल, सचिव अशोक कोइराला पनि दाहाल–नेपाल समूहमा छन्।
प्यूठानका अध्यक्ष तुलसीराम शर्मा ओली पक्षमा छन् भने सचिव कृष्ण प्रकाश अधिकारी र बर्दियाका अध्यक्ष भवन कुमार थारु दाहाल–नेपाल समूहमा छन्। सचिव लालबहादुर श्रेष्ठ ओली समूहमा छन्।
रुकुम पूर्वका अध्यक्ष मेघबहादुर श्रेष्ठ दाहाल–नेपाल समूहमा छन् भने सचिव सतमान पुन ओली समूहमा छन्। यस्तै रोल्पाका अध्यक्ष सुरेन्द्र घर्ती र हरिबहादुर घर्ती दाहाल–नेपाल समूहमा लागेका छन्।
पुष २२, २०७७ बुधबार १९:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।