हल सञ्चालकको अवैध कदमको 'अवज्ञा', फिल्म हेर्न दर्शक आएनन्

हल सञ्चालकको अवैध कदमको 'अवज्ञा', फिल्म हेर्न दर्शक आएनन्

काठमाडौं : सरकारको सूचीमा फिल्म हल बन्द रहने भए पनि नेपाल चलचित्र संघको एकल निर्णयबाट पुस १० गतेबाट एकाएक फिल्म हल खुल्न थाले। गृह मन्त्रालयले जबरजस्ती फिल्म हल खोले कारवाही गर्ने चेतावनी दियो। प्रमुख जिल्ला अधिकारीले पनि उस्तै भाषा बोले। तर, हलवालाले टेरेनन्।

बल्ल बल्ल कोरोना रोकथामबारे निर्णय गर्ने निकायले अन्य क्षेत्रसँगै फिल्म हल पनि खुलाउने निर्णय गर्न मन्त्रिपरिषद्मा सिफारिस गरेको छ। तर, १२ दिनदेखि फिल्म हल खुला छन्। 

सरकारी निर्णय अवज्ञा गरेर हल खुलाए पनि  हल सञ्चालक खुसी छैनन्। कारण– जसरी उनीहरूले सरकारी निर्णय अस्वीकार गर्दै हल खोले उसरी नै दर्शकले पनि उनीहरूको कदमको अवज्ञा गर्दै हल आइदिएनन्।

अहिले फिल्म हलहरूमा ‘आमा’ र ‘सेन्टी भाइरस’ चलिरहेका छन्। तर, हल रित्तो छ। फाट्टफुट्ट दर्शक देखिन्छन् हलमा। व्यापार लगभग छैन भने हुन्छ।

नयाँ बानेश्वरमा रहेको वान सिनेमाज चलचित्र हलका सञ्चालक उमेजराज गिरी नयाँ फिल्म रिलिज नभएकाले दर्शक नआएको अनुमान गर्छन्। 

‘फिल्म हेर्न दर्शक आउँछन्। तर, पुरानै चलचित्रको पोस्टर देखेपछि फिल्म नहेरी फर्किन्छन्,’ उनले भने, ‘अहिले हलमा दुई–चार जनाभन्दा बढी दर्शक हुँदैनन्। तैपनि आउँछन् कि भनेर खोलेका छौं।’

हल सञ्चालकहरूले पुरानै भए पनि युट्युबमा अपलोड नगरिएको फिल्म मागिरहेका छन्। तर, पाएका छैनन्। 

जय नेपाल हलका म्यानेजर साङ दोर्जे लामा दुई जना दर्शकलाई फिल्म देखाएर बस्नु परेको बताउँछन्। नयाँ फिल्म नआएपछि उनले खोलिसकेको हल बन्द गरेर बसेका छन्।

‘दुई जना दर्शकलाई चलचित्र देखाएर के फाइदा होला र ?,’ उनले भने, ‘निर्मातासँग नयाँ फिल्म मागेका छौं। तर, दिएका छैनन्।’

चलचित्र वितरक तथा निर्माता करण श्रेष्ठ अहिले हल खुलाउन मात्रै पुरानो फिल्म भए पनि लगाइएको बताए।

उनले हल खुल्नासाथ दर्शक आउँछन् भनेर हल नखोलेको दाबी गरे। उनले दर्शक हलमा आउँछन् वा आउँदैनन् भन्ने यकिन नगरी नयाँ फिल्म रिलिज गर्न नसकिने बताए। उनले भने, ‘निर्माताहरूले जोखिम मोलेर अहिले फिल्म प्रदर्शन गर्न चाहेनन्। अर्को महिनाबाट हलमा नयाँ फिल्म आउँछन्।’

कसैले सापटी मागेर त कसैले बैंकबाट ऋण लिएर फिल्म बनाएकाले निर्माताहरू अहिले जोखिममा रहेको र दर्शक हलमा आउने वातावरण नबनी नयाँ फिल्म रिलिज गरेर थप जोखिम मोल्न नसकिने उनले बताए।

सिभिल मलमा रहेका क्युएफएक्समा पनि दुई–चार जनाभन्दा बढी दर्शक आएका छैनन्। त्यहाँ पनि दर्शकको खडेरी छ। सामान्य अवस्थामा भीडभाड हुने सिभिल मलमा अहिले हल खोलेजस्तै नभएको हलका म्यानेजर शंकर नेपालले बताए। 

‘चलचित्र हेर्नका लागि भनेर दर्शक आउँछन्। तर, पुरानै चलचित्र देखेपछि फर्किने गरेका छन्,’ उनले नयाँ फिल्म रिलिज भए दर्शक आउनसक्ने अनुमान गर्दै भने,‘पोहोर नै हेरेको चलचित्र पो रैछ भन्ने गरेका छन्। नयाँ चलचित्र नआउन्जेलसम्म हलमा दर्शक आउने सम्भावना कम छ।’

जबरजस्ती हल खोल्न लगाउने चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान हलमा दर्शकको खडेरी रहेको स्वीकार्छन्। कोरोना महामारीपछि हल खुलेकाले जोखिम मोल्न निर्माताहरू तयार नदेखिएको उनले बताए।

कोरोनाको बढ्दो जोखिम

कोरोना संक्रमणको जोखिम उत्तिकै छ। पछिल्लो समय बेलायतमा देखिएको छिटो फैलने र बढि संक्रमित बनाउने कोरोना भाइरस विश्वभर फैलिँदै गएका छन्। 
जसरी चीनको बुहानमा सुरु भएको कोरोना नेपालमा आउँदैन भनेर ढुक्क हुँदा महामारीको रूप लियो, बेलायतमा सुरु भएको नयाँ प्रजातिको भाइरसले पनि महामारीको रूप नलेला भन्न सकिने अवस्था छैन। 

नेपाल आएका केहीमा बेलायतबाट सुरु भएको कोरोना भाइरसको नयाँ प्रजातिको लक्षण देखिन थालेको छ।

नयाँ फिल्म रिलिजको लाइनमा

कोरोनाको जोखिम उस्तै रहे पनि केही निर्माताहरू दर्शक आइहाल्छन् भन्ने निष्कर्षमा पुगेर नयाँ फिल्म रिलिजको तयारीमा लागेका छन्। 

माघ १ बाट शिव श्रेष्ठको नयाँ चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन हुने तयारीमा छ। फागुनमा चलचित्र ‘लप्पन छप्पन’ प्रदर्शन गर्ने तयारी छ। यस्तै, ‘प्रेम गीत ३’, ‘म यस्तो गीत गाउँछु २’ लगायतका फिल्म प्रदर्शनको तयारीमा छन्। 

पुष २२, २०७७ बुधबार १४:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।