हिमपातसँगै हुम्लामा चिसो बढ्यो, जनजीवन कष्टकर 

हिमपातसँगै हुम्लामा चिसो बढ्यो, जनजीवन कष्टकर 
फाइल तस्बिर।

काठमाडौं : गत आइतबारदेखिको भारी हिमपातसँगै हुम्लामा चिसो बढेको छ। 
 

जिल्ला सदरमुकाम सिमकोटलगायत उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि चिसो बढेको हो। त्यहाँको तापक्रम माइनस ८ डिग्री सेन्ट्रिग्रेडमा झरेको छ। 

चिसो बढेसँगै त्यहाँको जनजीवन कष्टकर बनेको छ। अत्यधिक चिसो भएपछि आगो तापेरै दिन बिताउनुपरेको स्थानीय दुखेसो पोख्छन्। 

यस्तै, हिमपातका कारण सदरमुकाम सिमकोट आसपास चल्ने सडक अवरुद्ध भएका छन्। ती सडकमा बाक्लो हिउँ जमेको छ। 

सदरमुकाम सिमकोट आसपासका क्षेत्र हिउँले ढाकिएको छ। रुख र जमिन हिउँले सेताम्मे बनेका छन्। हिउँले ढाकिएपछि स्थानीयवासीलाई आउजाउ गर्नसमेत समस्या भएको छ। 

चिसोले गाईबस्तुको मेलापातमा पनि समस्या भएको स्थानीय बताउँछन्। 
 

पुष २२, २०७७ बुधबार ११:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।