'अब छोरी कसरी सुरक्षित हुन्छिन् हजुर ?'

'अब छोरी कसरी सुरक्षित हुन्छिन् हजुर ?'
४२ वर्षीय छिमेकीबाट बलत्कृत नौ वर्षिय बालिका। तस्विर : कृष्पा श्रेष्ठ

काठमाडौं : शरीरको कुन अंगको काम के हो ? अनि कुन अंगमा ‘इज्जत’ लुकेको छ उनलाई के पत्तो। अपरिचित वा सामान्य परिचय भएका पुरुषले गाला सुमसुम्यायो वा छाती मुसार्यो भने खराब हो है भनेर उनलाई कसैले सिकाएकै थिएन। अनि उनलाई ती सबै हर्कत माया गरेको लाग्नु सामान्य नै त हो।

नौ वर्ष त भयो उनको उमेर। घरनजिकै रहेका ४२ वर्षीय हर्कबहादुर बिकले पैसा दिएर उनको कलिलो शरीरमा जे–जे गर्थे, उनी चुपचाप सहिदिन्थिन्। उनलाई अप्ठ्यारो त लाग्थ्यो। तर, बिकले पैसा दिएपछि आउने चक्लेटले नाई भन्न रोक्थ्यो।

छोरी कुनै दानवको पञ्जामा परेकी त छैनन् भनेर घर चलाउनै व्यस्त उनको परिवारको ध्यानै गएन। दैनिक दौडधुपले थाक्ने उनीहरूले कलिलो शरीरमा यौन वासना देख्नेहरू पनि यही समाजमा छन् है भन्ने भेउ नै पाएनन्।

०००

ललितपुरको दक्षिणी भेग। घर नबनेका केही जग्गा नजिकै कुनामा बाँसको टहरामा चार कोठा निकालिएको थियो। बालिकाका बाबु मिस्त्री। आमा पनि काम गर्ने। चार कोठे टहरामा हजुरबा, हजुरआमा, काकासहित नौ जनाको ओत रहेछ।

हामी पुग्नेबित्तिकै काम छाडेर आइपुगे बालिकाका बुबा। उनको गहभरी आँसु थियो। ‘घरका सबैले काम नगरी खान पुग्दैन,’ उनले भने, ‘खेलेकै ठाउँमा छोरीको बलात्कार भयो। म त मर्नु न बाँच्नु भएको छु।’ 

७÷८ दिनअघि उनकी छोरीले कहिले पेट दुख्यो, कहिले दाँत दुख्यो भनेकी रहिछिन् घरमा। चिसोले होला भनेर उनीहरूले घरेलु उपचार गरिरहे। घरमा नौलो मान्छे आएर होला, उनी घरी हामीलाई हेर्थिन् त घरी परिवारकालाई। उनी हाम्रो नजिक आइनन्। भाइसँग केही पर बेसेर खेलिरहिन्। कहिले हाम्रो छेउ आएर जिज्ञासु भएर हेरिरहन्थिन् उनी।

छोरीको आँखा रसाएको देखेपछि बालिकाकी हजुरआमा रुँदै आइन्। ‘म दमको बिरामी छु। केटाकेटी खेल्न नजाओ भन्दा टेर्दैनन्। आज मेरो बालखा नातिनीको यो गति भो।’

उनी नातिनी समातेर रुन थालिन्।

बालिका ट्वाल्ल परेर हेरिरहेका थिए।

०००

उनको परिवार बस्ने टहरा नजिकैको घरको तेस्रो तलामा भाडामा बस्थे बिक। उनको परिवार बस्ने कोठाबाहिर खाली जग्गा थियो। मकैबारी भनिने त्यही खाली ठाउँ टोलका अन्य केटाकेटीसँगै उनको पनि खेल्ने ठाउँ थियो।

टोलका ८÷९ जना त्यही खेल्थे।

त्यो समूहमा सबैभन्दा सानी उनी नै। बिक बेलाबेला झ्यालमा आउँथे र केटाकेटी खेलेको हेरिरहन्थे। कहिलेकाहीँ हातमा पैसाको नोट राखेर केटाकेटीलाई लोभ्याउँथे।

साताअघि दिउँसोतिर बिक उसैगरी झ्यालमा निस्किए। उनी साथीहरूसँगै त्यही खाली जग्गामा खेलिरहेकी थिइन्। उनले नोट देखाउँदै इसाराले माथि बोलाए। 

उनी दुई जना साथीसँगै तेस्रो तलामा गए। बिकले अन्य दुई जनालाई कोठाबाहिरै राखेर र उनलाई काखमा च्यापेर ढोका लगाए।

बिकले जे–जे गरिरहेका थिए, पहिला कसैले गरेको थिएन उनलाई। उनले ‘के गर्नु भएको अंकल’ भनेर सोधिछिन् उनको परिवारले उकेरालाई भन्यो, ‘नकराउ है, नत्र पैसा दिन्न भनेर लोभ्याएछ।’

यौनप्यासले मष्तिष्क कालो बनाएको बिकले बलात्कार गरे। ती बालिका हातमा सय रूपैयाँ लिएर कोठाबाहिर बाहिर आइन्।

उनलाई अप्ठ्यारो भइरहेको थियो। घरमा बेलुका पेट दुख्यो भनिन् पनि। उनको हजुरआमालाई लागेछ, ‘पुस हो, नातिनीलाई चिसो लाग्यो होला।’

उनले नातिनीलाई तातो टिमुर पानी खुवाइन्, आगोमा सेकाइन् र सुताइन्।

उकेराकर्मीसँग भक्कानिँदै उनकी हजुरआमाले भनिन्, ‘मलाई के थाहा मेरो बाबा (नातिनी)माथि यस्तो बज्रपात परेको छ भनेर। चिसो लायो भनेर तातो पानी खुवाएर सुताएँ। असत्तीले त नातिनीलाई त्यही दिन अपराध गरेको रहेछ।’

हजुरआमा नातिनीतिर हेरेर रोइरहिन्।

अपराध भनेको के हो ? बालिकालाई के थाहा। उनी केही उस्तै अबोधपन साथ बसिरहेकी थिइन्।

दोस्रो दिन पनि बिकले बालिकालाई उसैगरी कोठामा बोलाए। र, कलिलो शरीरमा यौनकुण्ठा पोखे। पोल नखुल्दा उसको आत्मबल बढिरहेको थियो।

बालिकाको हातमा पाँच सय देखेपछि बल्ल उनको जघन्य अपराध खुल्यो।

०००

पुुस १५ गते। बालिकाकी आमा सदाझैं बिहान भान्छामा व्यस्त भइन्। खाना खुवाएर बच्चाबच्चीलाई स्कुल पुर्याउनु थियो। कक्षा १ मा पढ्ने छोरीलाई खाना खुवाएर पौने १० बजे विद्यालय पुर्याउन हिँडिन्। छोरीलाई स्कुल छाडेर काममा जान हतार थियो उनलाई।

तर, त्यो दिन स्कु्ल बन्द रहेछ। विद्यालयका कर्मचारीले स्कुल छुट्टी छ भनेपछि फरक्क डेरातिर फर्किइन्। र, छोरीलाई कोठामा छाडेर कामतिर लागिन्।

बेलुका उनी घर फर्किँदा छोरीसँगै सासूआमा पनि रोइरहेकी थिइन्। वरपरका छिमेकी भेला भएका थिए। केही छिमेकी भन्दै थिए, ‘छोराछोरी छाडा छाडेपछि यस्तै हो।’

त्यो दिन बालिकाको हातमा पाँच सय रूपैयाँ थियो। बालिकाका केही साथीहरू घरमा आएर बालिकाकी हजुरआमालाई बहिनीले पाँच सय रूपैयाँ लिएको र अर्को घरमा बस्ने ‘अंकल’ले उसकै कोठामा बोलाएर ढोका लाएर पैसा दिएको बताइदिए।

बालिकाकी हजुरआमा खंग्रंङै भइन्।

‘मेरो त आधा होस् उड्यो के–के भयो भनेर डर पनि लाग्यो,’ उनले भनिन्, ‘त्यसपछि पसलको बाहिर खेलिरहेकी नाीतनीलाई बोलाएर सोधेँ। जे सुनेँ सुन्नै नसिकिने थियो।’

रामेछापका यी परिवार केही वर्षदेखि ललितपुरको दक्षिणी भेगमा बस्दै आएको थियो।

उनको बुबाले पनि घटना चाल पाए। छोरीलाई हेररे भुनभुनिँदै रोए। भित्तामा टाउको ठोक्दै रोए। धन्न यस्ता घटना सार्वजनिक भए इज्जत जान्छ भन्थे भ्रम रहेनछ उनमा। अपराधीलाई अपराध अनुसारको सजाय दिलाउन उनी छोरी लिएर महानगरीय प्रहरी वृत्त, सातदोबाटो आएर उजुरी दिए।

०००

बालिका बलात्कारको उजुरी परेलगत्तै प्रहरीले बिकलाई पक्राउ गरेर हिरासतमा राखेको छ। सातदोबाटो प्रहरी वृत्तका डिएसपी मित्रबन्धु शर्माका अनुसार बलात्कारका आरोपी बिकले आरोप स्वीकार गरेका छैनन्।

प्रहरी अहिले प्रारम्भिक अनुसन्धानमै देखियो। कारण– थापाथली अस्पतालमा गराएको बालिकाको स्वास्थ्य परीक्षणको प्रतिवेदन आएकै रहेनछ। मंगलबारसम्म पनि पीडित परिवारलाई स्वास्थ्य परीक्षणको प्रतिवेदनबारे कुनै जानकारी आएको थिएन।

‘पीडकलाई हिरासतमा राखिएको छ। पीडकले आरोप स्वीकारेका छैनन्,’ डिएसपी शर्माले भने, ‘मेडिकल रिपोर्ट आएपछि थप अनुसन्धान बढाउँछौं।’

०००

ती बालिका भाइसँग खेलिरहेकी थिइन्। बाहिर अपरिचित पुरुष हिँडेको देखेलगत्तै उनी हुत्तिँदै घरभित्र आइन्।

‘हासिरहने नातिनी त्यो दिनदेखि नयाँ मान्छे देख्यो कि कोठाभित्र आइहाल्छिन्। यति सानो उमेरमा कस्तो अपराधीको आँखा लाग्यो,’ उनकी हजुरआमा आँशु पुछ्दै भन्दै थिइन्।

कोठाबाट निस्कदै गर्दा ती बालिकाको बुबाले सोधे, ‘अब छोरी कसरी सुरक्षित हुन्छिन् हजुर ?’

उत्तर कहाँ सहज छ र !

पुष २१, २०७७ मंगलबार २१:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।