‘टुरिस्ट ट्वाइलेट’अघिकी विमला
ललितपुर : प्रायः ५, १० का नोटको जुलुस हुने मेरो खल्तीमा ५ सय रूपैयाँको नोट मात्र रहेछ। शौचालय प्रयोग गरेको पाँच रूपैयाँका लागि पाँच सयको नोट कसरी दिनु।
‘टुरिस्ट ट्वाइलेट’को बोर्डमा ‘पिसाब ५, दिशा १०’ लेखिएको थियो। पढेको पनि हुँ। जाडो महिनामा पानि थोरै खाए पनि ज्यानले धेरै भो भनिरहन्छ। भक्तपुरको व्यासीबाट नै ब्लाडर भरिएको संकेत पाइसकेको थिएँ। आँखा डुलाउँदा डुलाउँदै चाँगुनाराण पुगेपछि हत्तपत्त स्कुटी अड्याउन कुनातिर लागे।
अघिल्तिर बोर्डमा हस्तलिखित ‘ट्वाइलेट’ देखेपछि खुट्टा त्यतै लम्कियो। इमर्जेन्सीको बेलामा गोजीमा कति दाम छ कसले सोच्छ र ?
सार्वजनिक यातायात चढेको बेला खुद्रा पैसा नहुँदा यत्रो नोट दिएर फुर्ती लगाएको भन्ने डायलग धेरै पटक सुनिसकेको थिएँ। त्यसैले ज्यान सन्चो भए पनि नोट अगाडि सार्न मन सन्चो भएन। तैपनि पैसा नदिई हिँड्नु पनि त भएन।
‘दिदी, पैसा’ अन्कनाउँदै नोट अगाडि सारें।
स्वर सुन्दा यसो अनुहार हेर्नु सामान्य नै हो। तर, उनको नजर मुहारमा हैन हातमा पर्यो।
भनिन्, ‘यति ठूलो पैसा, खुद्रा छैन?’
शौचालयअगाडि बसेकी उनको सामुन्ने रहेको टेबलमा ह्याटहरू पनि थिए। सायद ती उनकै थिए। शौचालय प्रयोगकर्ताले दिने खुद्राको भरमा पाँच सय नसाटिए पनि ह्याटको व्यापारले त कसो नसाटिएला।
एक हुल घुमन्ते जमात टेबल नजिकै आए। टेबुलमा सजाएर राखिएको ह्याट एकपछि अर्को परीक्षण गरे। एकदुई सेल्फी खिचे र सुहाएन भन्दै बाटो लागे।
०००
मलाई चार सय ९५ फिर्ता दिनु नै थियो। उनले थैली चहारिन्। अफिसको असाइनमेन्ट याद आयो र उनीबाटै त्यो जिम्मेवारी पूरा गर्ने सोच बनाएँ।
उनी थैली खोतल्न व्यस्त रहेकै बेला पहिलो प्रश्न तेर्साए– उनै सेल्फी जमातबारे।
‘नेपालीहरू सबै यस्तै गर्छन् दिदी ?’
‘धेरैं त यस्तै हुन्। आउँछन्, फोटो खिच्छन्, फेसबुकमा हाल्छन्। हाम्रो दुःख बुझ्दैनन्,’ उनले भनिन्, ‘मान्छेलाई एउटा ह्याट बुन्न कति दुःख हुन्छ। मैलो बनाई दिन्छन्। लाउने चिज, नला भन्न नि मिलेन।’
उनले सयका चार, ५० को एउटा, २० का २ वटा अनि पाँचको एउटा नोट जम्मा पारिन् र मतिर तेर्साइन्।
कुरा कसरी अगाडि बढाउने ? त्यहाँ बस्ने बहाना नै भएन। यसो हेरेको नजिकै चिया पसल रहेछ। उनी नजिकै मुढा थियो। पसलमा गएर चिया मगाएँ र मुढा तानेर नजिककै बसेर कुरा अगाडि बढाएँ।
०००
‘कति भयो दिदी यसरी काम गरेको ?’
‘१६ वर्ष’
‘जन्मेको पनि यही हो ?’
‘अँ यही’
‘यही भन्नाले ?’
‘मन्दिरमा क्या। छिन्नमस्ताको आडैमा सतल थियो, म त्यही जन्मेको। अनि हुर्केको पनि यही।
‘अनि यहाँ बस्नु भाको कति भयो त?’
‘यहाँ’ भन्नाले ट्वाइलेट छेउ भन्ने प्रश्न थियो मेरो।
ती महिलाले सरसर्ती मेरो टाउकोदेखि खुट्टासम्म आँखा दौडाइन्।
‘तीस वर्षअघि भवन विभाग यहाँ आयो। त्यसपछि यो ठाउँ फेरियो। विदेशीलाई भनेर ट्वाइलेट बन्यो,’ उनी आफू त्यही अडिनुको कारण बताउँदै गइन््, ‘भवन विभाग आएपछि विकास भयो यहाँ। नत्र त मान्छेले जहाँ पायो त्यही फोहोर गर्थे।’
‘त्योभन्दा अघि कस्तो थियो र दिदी यो ठाउँ ?’ मैले सोधें।
‘भेडा चर्थे। अहिले तपाईंले जुन ठाउँमा बाइक राख्नुभो। त्यो ठाउँमा त मलखाल्टो थियो,’ उनी थप्दै गइन्, ‘पाखो थियो। चापको वन थियो। गाईवस्तुहरू हुन्थे त्यहाँ। तलतिर फाँट थियो। मासु खान कि काठमाडौं कि साँगा पुग्न पथ्र्यो। (हास्दै) सोच्नुस् न कस्तो थियो होला।’
पसले चिया लिएर आइपुगे।
‘चिया लिउन है दिदी’ मैले प्रस्ताव गरें। उनले नकारिन्।
‘कुराकानी त गर्न थाले, मैले दिदीको नामै पो सोधिनँ।’
‘विमला परियार अहिले, पहिला भुषाल थियो,’ उनले थपिन्, ‘भवन विभागले विकास गर्यो। विदेशीहरू घुम्न पहिलेदेखि आउथे यहाँ। अनि ट्वाइलेट कुर्ने काम पाएँ। बिहे नि भइसकेको थियो।’
‘कति वर्ष हुनुभयो दिदी ?’
‘४० भएँ, बिहे भाको २३ वर्ष भयो। छोराले पनि बिहे गरिसक्यो। मन पराएर ल्यायो। आफूले पढ्न पाइनँ। पढ् भन्या, १२ पास गर्न सकेन, छाड्यो।’
परियार सामान्य साक्षर मात्र हुन्। तर, उनी अंग्रेजी, नेवारी, तामाङ र नेपाली भाषा बोल्न सक्छिन्।
‘आफ्नो पालामा पढ्ने भन्ने थिएन। मेरो दाइ रामकृष्ण गुरु (पण्डित र ज्योतिषी गर्ने भएकाले) पनि मुस्किलले ५ पढेका। सतलमा हामी बाजा बजाउने, पुरेत, सफा गर्ने सबै सगै बस्थेउँ,’ उनले थपिन्, ‘डुम भएर पढ्ने भनेर हेप्थे। पहिले त दमाई भनेर यति हेप्थे। तर, अहिले त त्यस्तो छैन।’
मन्दिर परिसरमा हुर्किएकी परियारलाई धर्मको नाममा भएको विभेदको एक घटनाले भने अहिले पनि पोलिरहने रहेछ।
सतलमा बस्ने सबैको लागि पानीको धारो एउटै थियो। उनको दाइले पानी थाप्न जाँदा पुरेतको छोराले गाग्रीले हानेर निधार फुटाइदिएछ। त्यो घटना उनको मनमा अहिले पनि गढेको रहेछ खिल बनेर।
‘यो त म मर्दा नि बिर्सन्नँ,’ उनले भनिन्, ‘बच्चामा पुरेतका बच्चा सँगै खेल्दा, कति गाली गर्थे, कुट्थे भनेर साध्य छैन। तर, अहिले त्यस्तो छैन। खुसी लाग्छ।’
उनको खुसीको कारण रहेछ– उनको दाइले पाएको पण्डितको पद। उनको दाइलाई खोज्न टाढादेखिका आउने रहेछन् त्यहाँ। रामकृष्ण गुरु भनेर दाइलाई अरुले बोलाउँदा उनलाई निकै खुुुसी लाग्ने रहेछ।
‘हाम्रो बाजेहरूको पुस्तादेखि यो मन्दिरको नित्यपुजामा बाजा बजाउने हो क्या हामी, मेरो दाइको टाउको फुटाइदिने मान्छे अब यो मन्दिरको पुजारी बन्छ। ती पनि पण्डित हुन्। मेरो दाइ पनि त्यही इखले अहिले पण्डित भाछन्। काँ–काँबाट मान्छे ‘रामकृष्ण गुरु’को घर कता हो भन्दै सोध्दै आउछन्। मन्त्र जपेर पानी खुवाउनु नि पर्छ। मान्छेलाई निको नि हुन्छ, सबैले मान्छन्। कसैले जात मतलब गर्दैनन्। अनि खुसी लाग्दैन त,’ उनले एकै सासमा भनिन्।
मैले फेरि प्रसंग मोड्दै सोधें, ‘अनि दिदी तपाईंलाई यहाँ बस्दा दिक्क लाग्दैन?’
‘किन नलाग्नु लाग्न त, तर बुनाई गर्छु। टाइम कट्छ,’ उनी थप्छिन्, ‘अलि तल श्रीमानको टेलर छ। अल्छी लागे त्यहाँ जान्छु अलि चाडै। छोरा–बुहारी गलैचा कारखानामा काम गर्छन्। बुढेसकाल लाग्यो। अब दुनियाको ‘गु’ सोरेर बस्न पर्दैन भन्छन् बुढाले। तर, मन मान्दैन।’
परियारले शौचालयको आम्दानी कसैलाई बुझाउन पर्दैन। तर, स्याहारको जिम्मा उनैको हो। पानीको व्यवस्थापनदेखि टुटेफुटेको बनाउने जिम्मा पनि उनैको।
यसो बनाउन सघाए केही पैसा जोगिन्थ्यो कि भनेर वडामा पनि गइन्। तर, वास्ता गरेनन् रे।
‘आजको दिन नै लोदर भो। बिहान एउटी आइमाइ आएर पानीसानी छैन, सफा पनि छैन। केको पैसा ? भन्दै पैसा नै नदिएर गई। त्यसको बुढाले त झन् बाहिरै दिसा गरेर गयो। के भन्ने?’
०००
बेलाबेलामा ह्या अब के शौचालय अगाडि बस्नु भन्ने झोक पनि नचल्ने हैन उनलाई। तर, छाडेर कहाँ जाने भन्ने प्रश्नको उत्तर नपाउँदा उनी यतै अड्केकी छन्। शौचालय कुर्न छाडे अगाडि टेबल राखेर खुद्रा सामान बेच्ने ठाउँ पनि गुम्छ उनको।
यसै वर्ष मन्दिरबाट ३० मिनेटको दुरीमा ८ आना जग्गा किनेर एक तले घर बनाएकी रहिछिन् उनले। ऋण छ रे घरको। श्रीमान्को आम्दानीले ऋण धान्न सक्दैन। त्यसले पनि मन लगाग्दा नि उनी यतै बसेकी छन् उनी।
‘बाउबाजेका पालादेखि नै गरिब थियौं। मेरो माइतीको पनि त्यस्तै थियो। अहिले राम्रो छ। पण्डित भए पनि दाइले नित्यपूजामा बाजा बजाउनु छाड्नुभएको छैन। रित हो धान्नै पर्यो,’ उनले भनिन्, ‘यही ट्वाइलेट कुरेर बस्दा एनटिभी (संस्थाको नाम थाछैन)ले टुरिस्ट गाइड, बुनाई, मैनबत्ती आर्टको तालिम दियाथ्यो। हातमा सीप छ। बाँच्न त जसरी पनि बाँचिन्छ। तर, ऋण छ। त्यो तिर्न पनि यो (शौचालय) कुर्नै पर्यो।’
उनले कथाको कितावको गाता बन्द गरिन्।
घुम्दै-फिर्दै भेटिएकी पात्रको सुख–दुःख सुनेर म पनि फर्किएँ स्कुटी पार्क गरेको छेउतिर।
०००
विना योजना भेटिएकी पात्रको जीवनका केही पाना पल्टाउन त पल्टाएँ। तर, खै कस्तो पो हुने होला यिनका कथा ?
हाम्रो पत्रकारितामा शक्तिपूजक बढी नै हावी छ। व्यक्तिचित्र योग्य हुन सफल हुनुपर्छ। परिचित हुनुपर्छ। नत्र रिजेक्ट।
यसो सोचें– उनी पनि आफ्नो जीवनमा त सफल छिन्। स्थानीय समाजमै होस् परिचयहीन उनी पनि हैनन्।
जे पर्ला भनेर स्कुटीको कान बटारेर काठमाडौं आउने बाटोतिर ह्यान्डल मोडें।
पुष २१, २०७७ मंगलबार ०८:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।