स्वास्थ्य मन्त्रालयको तथ्यांकमा कोरोनाका ९ सय मृतक गायब

स्वास्थ्य मन्त्रालयको तथ्यांकमा कोरोनाका ९ सय मृतक गायब

काठमाडौं : स्वास्थ्य मन्त्रालयको पुस १९ सम्मको तथ्यांक हेर्ने हो भने नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेहरूको संख्या १ हजार ८ सय ७८ मात्र हो। 

तर, कोरोना संक्रमणका कारण ज्यान गुमाएकाहरूको शव व्यवस्थापनको जिम्मेवारी पाएको नेपाली सेनाको तथ्यांकमा मृतकको संख्या मन्त्रालयको भन्दा ९ सय ५६ बढी छ।

सैनिक मुख्यालयले उकेरालाई उपलब्ध गराएको तथ्यांक अनुसार सेनाले आइतबारसम्ममा कोरोना भाइरस संक्रमणका कारण २ हजार ८ सय २४ जना मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गरेको छ। तर, स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा आइतबारसम्ममा कोरोना संक्रमणका कारण १ हजार ८ सय ७८ जनाको मात्रै मृत्यु भएको उल्लेख छ।

कोरोना संक्रमणका कारण ज्यान गुमाएकाहरूको संख्यामै किन यतिको भिन्नता ?

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीको जवाफ छ, ‘स्वास्थ्य मन्त्रालयले पक्का भएको केसको विवरण मात्र राख्छ। उहाँहरू (सेना)ले के गर्नुहुन्छ थाहा भएन।’

कोरोनाबाट ज्यान गुमाएको संख्या एकरूप नदेखिएको बारे सेनाका प्रवक्तासँग उकेराले जानकारी माग्दा प्रवक्ता सन्तोष बल्लभ पौडेलले भने, ‘पालिका, जिल्ला र केन्द्रको कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)बाट निर्देशन आएपछि मात्रै कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्छाैं। निर्देशनसँगै कोभिड पोजिटिभको सर्टिफिकेट र अस्पतालले दिएको डेथ सर्टिफिकेट आएपछि मात्र शव व्यवस्थापन हुन्छ।’ 

तर, मन्त्रालयका सहप्रवक्ता सेनाको यो दाबी स्विकार्न तयार देखिएनन्। उनले प्रदेशबाट आएको अपडेटको आधारमा मन्त्रालयले मृतकको संख्या राख्ने गरेको र सेना तथा मन्त्रालयको शव गन्ने ठाउँ फरक रहेकाले संख्या फरक भएको हुनसक्ने भन्दै मन्त्रालयकै संख्या आधिकारिक भएको ढिपी कसे।

तर, स्वास्थ्य तथा अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले जे जानकारी दिए त्यसमा मन्त्रालयकै त्रुटि देखिन्छ। उनले सरकारी अस्पतालमा मृत्यु भएका मृतकको मात्रै मन्त्रालयले रेकर्ड राख्ने गरेको बताए। निजी अस्पतालमा कोरोनाका कारण मृत्यु भएकाहरूको संख्या मन्त्रालयले राख्दैन।

‘सरकारी अस्पतालमा मृत्यु भएकाको मात्रै हेर्यौ,’ उनले भने, ‘सरकारी अस्पतालबाहिर कोरोनाका कारण मृत्यु भएका व्यक्तिको तथ्यांक नराख्दा मृतकको संख्या कम भएको देखिन्छ।’

यसअघि पनि स्वास्थ्य मन्त्रालय र सेनाबीच कोरोनाका कारण ज्यान गुमाएकाहरूको संख्याबारे विवाद भएको थियो। विवाद देखिएपछि सरकारले तथ्यांक यकिन गर्न समिति नै गठन गरेको थियो। समितिले सेनाको तथ्यांक सत्य भएको बताए पनि मन्त्रालयले अझै त्यो स्वीकार गरेको देखिएन।

घाटमा लासको लाइन

आइतबार (१९ गते) दिउँसो करिव ३ बजे पशुपतिस्थित विद्युतीय शवदाह गृह पुग्दा कोरोना संक्रमणबाट मृत्यु भएका १० जनाको शव आएको बुझियो। सरकारले काठमाडौं, ललितपुर र भक्तपुरमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको सदगद पशुपतिको विद्युतीय शवदाह गृहमा गर्दै आएको छ।

पशुपति क्षेत्र विकास कोष विद्युतीय शवदाह गृहका इन्चार्ज कुमार थापा मगरका अनुसार आइतबार दिउँसोसम्ममा ७ वटा शव ल्याइसकिएको थियो। 

सेनाका अनुसार आइतबार देशभर कोरोना संक्रमणका कारण मृत्यु भएका १४ जनाको शव व्यवस्थापन गरेको थियो। तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा भने कोरोनाका कारण आइतबार ८ जनाको मात्रै मृत्यु भएको उल्लेख छ। एकदिनकै तथ्यांकमा कोरोनाका कारण ज्यान गुमाउने ६ जनाको विवरण तलमाथि भएको देखियो। 

शवको तथ्यांक

पशुपतिको विद्युतीय शवदाह गृहमा कात्तिकसम्ममा कोरोना संक्रमणबाट ज्यान गुमाएका नौ सय जनाको शव जलाएको तथ्यांक छ। यो काठमाडौं, ललितपुर र भक्तपुरको मात्र तथ्यांक हो। काठमाडौंको तीन जिल्लाबाहिर कोरोनाका कारण ज्यान गुमाउनेहरूको शव व्यवस्थापन स्थानीय रूपमै हुने गरेको छ।

सरकारले परीक्षण दर घटाएसँगै मृतकको मृत्युको कारण कोरोना हो वा हैन भन्नेसमेत परीक्षण गर्न छाडिसकेको छ। यसले कोरोनाकै कारण ज्यान गुमाउनेहरूको संख्या थप अन्योल बनाएको छ। यसले कोरोनाका कारण ज्यान गुमाएकाहरूको संख्या सरकारी तथ्यांकमा छुटिरहेको देखिन्छ।

पशुपति क्षेत्र विकास कोष अन्तर्गतको घाट सेवा व्यवस्थापन केन्द्रका अनुसार गत वर्षको तुलनामा यो वर्ष जाडो मौसममा शवको संख्या बढेको छ। 

गत वर्षको तुलनामा काठमाडौंमा चिसो पनि कमै छ। 

घाट सेवा केन्द्रका अनुसार असोजयता सदगदका लागि पशुपति आर्यघाटमा आउने शबको संख्या १८ प्रतिशतले बढेको छ।

आर्यघाटमा अहिले दैनिक ४०/४५ शव आउने गरेको घाट सेवा केन्द्रमा खटिएका कर्मचारीले बताए।

घाट सेवा केन्द्रका अनुसार गत वर्षको जाडो मौसममा दैनिक २०/२२ हाराहारीमा शव आउथ्यो।

यसले अस्पताल नपुगी कोरोना संक्रमणबाट ज्यान गुमाएकाहरूको संख्या बढिरहेको हुनसक्ने देखिन्छ। तर, कतै तथ्यांक नभएकाले यसै हो भन्न सकिँदैन। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार अस्पतालमा आउने बिरामीको संख्या घटिरहेको छ। पछिल्लो समय कोरोना संक्रमित भएर अस्पताल पुग्नेको संख्या तथ्यांकमा पनि कमै देखिन्छ। 

तर, कोरोना भाइरसको संक्रमणको दर घटेर संक्रमितको संख्या घटेको हो वा हेलचेक्रयाइँले संक्रमितहरू घरमै बसेको भन्न सकिने अवस्था रहेन। 

उनीसँग यसबारे जिज्ञासा राख्दा संक्रमण घटेर बिरामीको संख्या घटेको हो वा हेलचेक्रयाइँ गरेर संक्रमितहरू घरमै बसेको भन्न सकेनन्। उनले भनुन् पनि कसरी ? यसबारे अनुगमन र अध्ययन कुनै सरकारी निकायले गरेकै छैनन्। 

तथ्यांकमा संक्रमितको संख्या घटेको देखिए पनि कोरोना भाइरसका कारण ज्यान गुमाएकोहरूको प्रतिशत भने घटेको छैन। अहिले पनि संक्रमितमध्ये ०.७२ प्रतिशतको ज्यान गइरहेको छ नै। 

पुष २०, २०७७ सोमबार २२:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।