कसरी छिर्यो बिमानस्थल भित्र ५० राउण्ड गोली ? 

कसरी छिर्यो बिमानस्थल भित्र ५० राउण्ड गोली ? 

काठमाडौं : सोमबार मध्यान्न १२ बजे आसपासको समय। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल डोमेष्टिक टर्मिनलमा देशका विभिन्न स्थानबाट यात्रु आउजाउको क्रम चलिरहेको थियो। 
 

पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल पत्नी सिताको उपचारका क्रममा भारत जान लागेका थिए। सुरक्षा व्यवस्था त्यतैतिर बढी केन्द्रित थियो। 

१२ : ३५ मा श्री एयरलाइन्सको भद्रपुर, झापा उडानको तयारी भयो। एयरलाइन्सले आफ्ना यात्रुलाई उडानबारे जानकारी दिँदै सुरक्षा यात्रुहरुलाई बोर्डिङ पास डोमेष्टिक टर्मिनलको डिर्पाचर गेटमा यात्रुहरुको सुरक्षा जाँच भइरहेको थियो। यात्रुका शरीर खानतलासी र सामान एक्सरे मेसिनमा जाँच भइरहेको थिए। झापा मेचिनगरका २० वर्षीय युवकको सामान एक्सरेमा चेकजाँचको क्रममा थियो।   

एक्सरे मेसिनले ज्याकेट भित्र लुकाईछिपाई बन्दुकको गोली राखेको स्क्यान गर्यो। 

यसले सुरक्षामा खटिएका प्रहरीहरु सशंकित बने। मेसिनले गोली रहेको देखाएपछि प्रहरीले झोलामा थप खानतलासी गरे। खानतलासी गर्दा नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई) ले जाडोमा लगाउने ज्याकेटभित्र एक्सरेमा ९ एमएमको गोली (एसएसजीमा लाग्ने) लुकाइछिपाई लान थालेको तथ्य पत्ता लाग्यो। 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रहरी सुरक्षा कार्यालयका अनुसार ज्याकेटमा सईको दर्जाएनी चिन्हसहित आरसी राई लेखिएको नेमप्लेट पनि भेटियो। 

प्रहरी उपरीक्षक (एसपी) दान बहादुर मल्लका अनुसार यसलगत्तै प्रहरीले बद्रिहाङ राई नामका ती यूवक र उनकी आमा मुनादेवी राईलाई नियन्त्रणमा लियो। ती यूवक सेवा निवृत्त सई रामचन्द्र राईको छोरा भएको तथ्य खुलेको प्रहरीले जनाएको छ।

उनीहरुलाई आवश्यक कानूनी कारबाहीका लागि महानगरीय प्रहरी बृत्त गौँशालामा पठाइएको विमानस्थल प्रहरीले जनाएको छ। 

राईले प्रारम्भिक बयानमा यसबारे आफुलाई जानकारी नभएको बताएको प्रहरीले जनाएको छ। 

उनीहरुलाई हातहतियार ओसारपसार मुद्दामा कारबाहीको तयारी थालिएको प्रहरीले जनाएको छ। 
 

पुष २०, २०७७ सोमबार १८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।