कारको डिकीमा डेढ करोड, केका लागि भित्रियो नेपाल ?
काठमाडौँ : चोर बाटोबाट नेपाल भित्रिएको एक करोड ४७ लाख रुपैंयासहित आइतबार प्रहरीले २ जनालाई पक्राउ गर्यो। एक थिए भारतीय नागरिक अमित कुमार गुप्ता र अर्का सङ्गम थारु।
महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहका अनुसार विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग नाँगढुंगाबाट खटिएको प्रहरी टोलीले बिहान साढे चार बजे नाँगढुङ्गा चेकप्वाईन्टमा प्रदेश ३, ०१ ०२३ च २२५९ नम्बरको हुन्डा ई कारको जाँचको क्रममा कारको विभिन्न भागमा राखेको तीन वटा झोलाबाट १ करोड ४७ लाख ८६ हजार फेला पारेको हो।
अनुसन्धानमा सो रकम भारतबाट लुकाएर कपिलवस्तु ल्याएर सिमाना साटेर काठमाडौँ आएको प्रहरीको दाबी छ। उनीहरूले कारको डिकी, टायर मुनी र कारको विभिन्न भागमा तीन वटा झोलामा लुकाएर राखेको सिंहले बताए। दुवै जनालाई नियन्त्रणमा लिएर रकमको स्रोतबारे सोधपुछ गर्दा स्रोत खुलाउन नसकेपछि दुवै जनालाई सम्पत्ति शुद्धीकरण विभाग पठाएको सिंहले बताए।
सिंहका अनुसार सो रकम भारतीय नागरिक लिहले नेपाल ल्याएका हुन्। अर्का नेपाली नागरिक भने कारका चालक हुन्। गुप्ताले कपिलवस्तुमा कार भाडामा लिएका थिए। सो रकमबारे कारका चालक जानकारहुँदाहु्ँदै पनि पैसा लिएर आएकाले उनी पनि घटनामा संलग्न रहेको आशङ्कामा पक्राउ गरिएको सिंहले बताए।
केका लागि भित्रियो नेपाल
एसएसपी सिंहका अनुसार सो रकम कुन प्रयोजनका लागि नेपाल भित्रिएको हो र काठमाडौँ ल्याउनुको प्रयोजन भने खुलेको छैन। पक्राउ परेका दुवै जनाको पृष्ठभूमिले उनीहरू भरिया मात्र रहेको देखिन्छ।
नेपाल र भारतबिच हुने भन्सार छली, सुन तस्करी र हुन्डीको रकम यसरी नै भित्रिने र बाहिरिने गरेकाले सो रकम समेत यस्तै अपराधको हुनसक्ने प्रहरीको आशङ्का छ। तर पक्राउ परेकाहरूले सो रकम नेपालमा कसलाई दिन ल्याएको हो भन्ने नखुलाएकाले यसै भन्न नसकिने र अनुसन्धान भने जारी राख्ने सिंहले बताए।
पुष २०, २०७७ सोमबार १७:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।