कर्णालीमा कैदी–बन्दी पाल्न वार्षिक साढे ६ करोड खर्च
प्रदेशभरका कारागारका अनुसार कैदी–बन्दीको लालनपालन र स्थानान्तरणका लागि गत आर्थिक वर्षमा ६ करोड ४६ लाख ९० हजार नौ सय रूपैयाँ खर्च भएको हो। तीमध्ये सबैभन्दा बढी डोल्पा कारागारमा एक करोड २५ लाख ६६ हजार रूपैयाँ खर्च भएको छ।
यस्तै, सुर्खेत कारागारमा एक करोड १२ लाख, जुम्ला कारागारमा एक करोड चार लाख, कालिकोट कारागारमा ८१ लाख, रुकुमपश्चिम कारागारमा ६४ लाख र दैलेख कारागारमा ६३ लाख ३३ हजार पाँच सय ४० रूपैयाँ खर्च भएको त्यहाँस्थित कारागार कार्यालयले जनाएका छन्।
यसैगरी, सल्यान कारागारमा ५८ लाख र जाजरकोट कारागारमा ३० लाख ५६ हजार तीन सय ६४ रूपैयाँ कैदी–बन्दीको लालनपालनमा खर्च भएको छ।
सुर्खेत कारागारका जेलर लक्ष्मी खरेलका अनुसार कैदी–बन्दीलाई खानासँगै लत्ताकपडा र चाडपर्व खर्च दिइने भएकाले खर्च बढि देखिएको बताए।
कारागारले कैदी–बन्दीलाई वार्षिक दुई पटक लत्ताकपडा दिने गरेको छ। यस्तै, कैदी–बन्दीलाई वर्षमा एक पटक पाखी, कम्बल, सिरक–डसना र तन्नासमेत उपलब्ध गराइन्छ।
प्रदेशभरका कारागारमध्ये सुर्खेतमा कैदी–बन्दीको चाप बढी छ। जेलर खरेलका अनुसार कारागारमा दुई सय ९२ जना कैदी–बन्दी छन्।
जेलर खरेलका अनुसार प्रदेशका १० जिल्लामध्ये मुगु र हुम्लामा कारागार छैनन्। कारागार नहुँदा दुवैै जिल्लाका कैदी–बन्दीहरूलाई जुम्ला कारागारमा राखिने गरेको छ।
पुष २०, २०७७ सोमबार १५:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।