आयल निगम लुम्बिनी प्रादेशिक डिपोको स्तरोन्नति

आयल निगम लुम्बिनी प्रादेशिक डिपोको स्तरोन्नति

निगमको प्रदेशस्तरीय भलवारी डिपोलाई आधुनिकीकरण गर्दै अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षाका उपाय एवं प्रविधि जडान गरी रि–इन्जिनियरिङ गरिएको छ। पहिलो चरणको रि–इन्जिनियरिङको काम सम्पन्न गरेको कार्यालयले अत्याधुनिक प्रविधि जडान गरेर तेल लोड–अनलोड गर्न थालिएको छ। 

दुई करोड ५० लाख रूपैयाँको लागतमा नयाँ प्रविधि जडान गरेर लोड–अनलोड गर्न थालिएको प्रादेशिक कार्यालय प्रमुख प्रलङकर आचार्यले जानकारी दिए। उनका अनुसार यसमा तीनवटा पम्पहरू जडान भएका छन्। आचार्यले यो प्रविधिले ८ घण्टामा करिब १० लाख लिटरसम्म पेट्रोलियम पदार्थ लोड गर्न सक्ने बताए। यसअघि यो कार्यालयबाट ८ घण्टामा ३/४ लाख लिटर मात्र लोड गर्न सक्ने अवस्था रहेकोमा नयाँ प्रविधि जडानसँगै कार्यालयको क्षमता तीन गुणासम्म बढेको छ।

पुरानो प्रविधिमार्फत काम गर्दा दैनिक काम सम्पन्न गर्न रातिको ९/१० बजेसम्म कर्मचारी काममा खटिनुपर्नेमा अहिले त्यो समस्या समाधान भएको आचार्यको भनाइ छ।

यस्तै, सो स्थानमा निगमले ट्यांक ट्रक पार्किङ यार्डको विस्तार गरेको छ। पार्किङ निर्माण हुँदा कार्यालयभित्र नै एकपटकमा करिब सय ट्यांक ट्रकहरू पार्किङ गर्न सकिने निगमले जनाएको छ।

यसैगरी, निगमले दुर्घटनाबाट बच्न इलेक्ट्रिकल प्रणालीलाई थप प्रभावकारी बनाएको छ भने इलेक्ट्रिकल सप्लाई निरन्तर बनाउने उद्देश्य अनुरूप इलेक्ट्रिक प्यानल बोर्डहरू, एटियस प्यानलहरूको जडान सहितको इलेक्ट्रिकल प्यानल हाउस निर्माण गरी सञ्चालनमा ल्याएको छ।

यस इलेक्ट्रिकल प्यानल हाउसलाई डिपो अटोमेसनपछि कन्ट्रोलिङ कक्ष पनि बनाइने निगमले जानकारी दिएको छ। 

प्रादेशिक कार्यालय, लुम्बनीले मट्टितेल भण्डारण गर्ने ट्यांकको निर्माण गरेको छ। उक्त ट्यांक करोड रूपैयाँको लगानीमा निर्माण गरिएको हो। 

हाल यस डिपोमा पेट्रोलको खपत करिब दुई सयदेखि तीन सय किलोलिटर रहेको थियो। पेट्रोलको भण्डारण क्षमता जम्मा १४० किलोलिटर रहेको कारण माग आपूर्ति धान्न सक्ने निगमले मट्टितेलको ट्यांकलाई पेट्रोलमा रूपान्तरण गरेको निगमले जानकारी दिएको छ। यसले पेट्रोलको भण्डारण क्षमतामा करिब तीन गुनाले वृद्धि भई करिब तीन दिनको आपूर्ति धान्न सक्नेछ। 

निगमका अनुसार मट्टितेलका लागि छुट्टै १४० किलोलिटर क्षमताका दुईवटा ट्यांक निर्माण गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले पेट्रोलियम पदार्थको कारोबारलाई व्यवस्थित र सहज बनाउन सो प्रविधिको जडान गरेको बताए। उनले यो प्रविधि जडान गर्दा कार्यालय क्षेत्र वरिपरि भएका बस्तीहरू समेत सुरक्षित हुने उल्लेख गरे।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले आधुनिक प्रविधिमार्फत पेट्रोलियम पदार्थको कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउँदै लैजाने जानकारी दिए। 

निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अत्याधुनिक प्रविधिको प्रयोग गरी पेट्रोलियम पदार्थ लोड/अनलोड गर्ने काम सुरु गरेको छ। एपिआई मापदण्ड अनुसार पाइपलाइन जडान, भल्वभहरू, पम्पहरू जडान साथै ट्यांक ट्रक लोड गर्न अत्याधुनिक लोडिङ आम्स जडान गरिएको छ।

पुष १९, २०७७ आइतबार १९:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।