शंखरापुरवासीको गुनासो– जनप्रतिनिधिलाई हाम्रो वास्तै छैन 

शंखरापुरवासीको गुनासो– जनप्रतिनिधिलाई हाम्रो वास्तै छैन 

‘सडक नबन्दा सास्ती पाइयो’ 

गोविन्दप्रसाद श्रेष्ठ

यहाँको सबैभन्दा ठूलो समस्या भनेको ढल व्यवस्थित नहुनु हो। यस्तै, सडकको समस्या पनि छ। जोरपाटी–साँखु सडक निर्माण थालेको तीन वर्ष बित्दा पनि पूरा हुन सकेको छैन। यसबारे नियमन निकायले पनि चासो देखाएका छैनन्। 

अहिलेसम्म ५० प्रतिशत पनि सडक बन्न सकेको छैन। सडक नबन्दा यात्रुले सास्ती पाएका छन्। सडकमा खाल्डाखुल्डी भएकै कारण ट्याक्सी भाडा बढी तिर्नुपरेको छ। 
स्मार्ट सिटी बनाउने योजना कार्यान्वयन भएको छैन। यसलाई तत्काल कार्यान्वयन गर्नुपर्छ। 

‘नक्सा पास नहुँदा घर बनाउन पाएनौं’ 

कृष्ण श्रेष्ठ 

नगरपालिका क्षेत्रमा ‘स्मार्ट सिटी’ योजना लागू भएपछि घरको नक्सा पास हुन सकेको छैन। जसका कारण कतिपयले घर बनाउन पाइएको छैन। यस्तै, समयमा फोहोर नउठ्दा स्थानीयले उत्तिकै हैरानी भोग्नुपरेको छ। यसबारे नगरपालिकाले चासो देखाएको छैन। 

हप्ताको दुई दिन मात्रै फोहोर उठाउने गाडी आउँछ। त्यो पनि निजी कम्पनीको। फोहोर उठाउने निजी कम्पनीलाई पनि मासिक एक सय ५० रूपैयाँ तिर्नुपरेको छ। 

नगरपालिकाले जनताका लागि केही कामै गरेको देखिँदैन। 

‘नगरवासीका समस्या सुनेनन् मेयरले’ 

धर्मनारायण श्रेष्ठ

नगरवासीका समस्याबारे मेयरले अहिलेसम्म कुनै योजना ल्याएका छैनन्। 

जनप्रतिनिधिले विकास निर्माणका कामबारे जनताबाट सल्लाह–सुझाव लिनुपर्ने थियो। तर, त्यसो हुन सकेको छैन। 

‘जनप्रतिनिधिले चुनावअघि गरेका प्रतिवद्धता पूरा गरेनन्’

मुना श्रेष्ठ

जनप्रतिनिधिले चुनावअघि जनतासँग गरेका प्रतिवद्धता पूरा गरेका छैनन्। यसले जनता निरास छन्। 

नगरपालिकामा युवा बेरोजगार छन्। ती  युवालाई रोजगार दिनेखालका कार्यक्रम नगरपालिकाले ल्याएको खोइ ? 

यस्तै, सडकको अवस्था पनि उस्तै छ। सडकमा जताततै खाल्डाखुल्डी छन्। समयमा मर्मत हुँदैन। त्यति मात्रै होइन, स्थानीय तहले समस्या परेका बेला पनि जनतालाई हेर्दैनन्। कोरोना महामारीका बेला पनि राहत पाइएन। जनप्रतिनिधिलाई भोट दिएको खेरै गयो ! 

मेयर सुवर्ण श्रेष्ठको दाबी– स्थानीयका समस्या हेरेरै योजना ल्याएका छौं 

हामीले स्थानीयका समस्यालाई मध्यनजर गर्दै योजना ल्याएका छौं। नगरमा खानेपानीको व्यवस्था गरिएको छ। ढल निर्माण करिव ८० प्रतिशत सकिएको छ। 

महिलाहरूलाई बाख्रापालन, तरकारी खेती, जुत्ता बनाउने काममा रोजगार दिलाएका छौं। 

शाली नदी किनारमा माधवनारायण पार्क निर्माण गरिँदैछ। भूकम्पपछिको पुनर्निर्माणलाई विशेष जोड दिएका छौं। साँखुको पुरानो नेवारी सम्पदालाई संरक्षण गरिएको छ। बज्रयोगी मन्दिरमा विशेष पर्यटकीय योजना बनाएका छौं। 

पुष १९, २०७७ आइतबार १८:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।