चोरीको सोख : मानसिक रोग 

चोरीको सोख : मानसिक रोग 

रेस्टुरेन्टमा जाँदा मान्छेको आँखा छल्दै चम्चा˗काँटा गोजीमा हालिहाल्थे उनी। यस्तै, सुपर मार्केटमा छिर्दा उनी चक्लेट नै भए पनि टप्काउँथे। सम्पन्न परिवारका श्यामको चोर्ने बानी १२/१३ वर्षकै उमेरदेखि लागेको थियो।

अस्ट्रेलिया पुगेर पनि श्यामको त्यो बानी छुटेन। चोर्न नपाउँदा उनी छटपटाउँथे। चोरेपछि उनको मन शान्त हुन्थ्यो। श्यामको चोर्ने बानीले गर्दा साथीभाइहरूमाझ उनले चोरको ‘पगरी’ भिरिसकेका थिए। 

०००

आर्थिकरूपमा सम्पन्न हुँदाहुँदै पनि स–साना सामान चोर्दा बेलाबखत नेता, कलाकारहरू समेत विवादमा पर्ने गरेका छन्। होटलमा जाँदा काँटा चम्चा, टावेल चोर्ने, साथीभाइको घरमा जाँदा केही न केही सामान लुकाउने, स्टोरमा किनमेलका लागि पुग्दा केही न केही सामान चोरी भएका घटनाहरू सार्वजनिक भइरहेका हुन्छन्।

जस्तो अभिनेत्री विनोना राइडरकै एक घटना हेरौं न। स्टोरमा सामान किन्न गएकी उनी स्टोरबाट पाँच हजार डलर बराबरको सामान चोरेको आरोप लाग्यो। उनले चोरेको पुष्टि भएपछि ६ हजार डलर जरिवाना भएको थियो।

भारतीय अभिनेत्री कंगना रनौतले बाल्यकालमा आफूमा चोर्ने रोग रहेको एक अन्तर्वार्तामा खुलाएकी थिइन्। उनलाई त्यो बानीले निकै पछिसम्म दुःख दिइरह्यो।

०००

चोरौं चोरौं लाग्ने स्वभाव होझैं लाग्न सक्छ। कसैले जानजान नियतवशै चोरी गर्ने एक पाटो हो। लोभले पनि कसैले अर्काको सामान चोर्न सक्छ। तर, आर्थिक स्थिति राम्रो भएकाहरू र लोभ नभएकाहरू पनि बेलाबखत चोरीको अभियोगमा पक्राउ परिरहन्छन्। यसको कारण हो- मानसिक रोग।

श्याममा अहिले चोरी गर्ने बानी हटिसकेको छ। कसरी हटाए उनले पढौं :

उनको एक साथी यसरी चोरी गर्ने बानी लाग्नुको कारण मानसिक समस्या पनि हुनसक्नेबारे जानकार रहेछन्। उनले श्यामलाई मनोचिकित्सककहाँ मनोपरामर्शका लागि सुझाए। हैरान भएका उनी पाँच वर्षअघि नेपाल फर्किएर मनोविद् करुणा कुँवरकहाँ पुगे।

मनोविद् कुँवरले जब उनको काउन्सिलिङ गरिन्, श्यामको साथीले गरेको शंका सत्य निस्कियो। उनी क्लेप्टोमेनिया मानसिक रोगबाट पीडित रहेछन्।

उनले श्यामलाई मनोपरामर्श दिइन्। उपचारका थेरापी विधि अपनाइन्। त्यसपछि श्यामको चोर्ने समस्या कम हुँदै गयो।

मनोविद् गोपाल ढकालकहाँ पनि फाट्टफुट्ट श्यामको जस्तै समस्या लिएर मनोपरामर्शका लागि आउँछन्। तर, यस्तो समस्या लिएर आउनेहरूको संख्या कम छ। 

ढकालले भने, ‘धेरैले चोर्ने बानी नै होे भनेर उपचारमा चासो देखाउँदैनन्।’

मनोचिकित्सहरूका अनुसार कुनै आवश्यकता नै नभए पनि नचोरी चित्तै नबुझ्ने समस्या हुनु ‘क्लेप्टोमेनिया’ हो। यो समस्यालाई ‘इम्पल्स कन्ट्रोल डिसअर्डर’ पनि भनिन्छ। नचोरी चित्तै नबुझ्ने भएकाले यो मानसिक समस्यालाई आवेश नियन्त्रण गर्न नसक्ने रोग (असामान्य अवस्था) पनि भनिने गरेको मनोचिकित्सक बताउँछन्।

मुड चेन्ज, खल्तीमा सामान

कुनै वस्तु नचोरीकन चित्तै नबुझ्ने क्लेप्टोमेनियाको मुख्य लक्षण हो। तर, यस्तो मानसिक समस्या भएका व्यक्तिले योजना नै बनाएर चोरी नगर्ने मनोविद् ढकाल बताउँछन्। उनले भने, ‘चोर्ने प्लान हुँदैन। मुड चेन्ज हुनेबित्तिकै व्यक्तिले चोर्छ।’ 

मनोविद्हरू यो समस्याले सताएको समयमा बिरामीले जे देख्यो झ्वाट्ट त्यही टिप्ने बताउँछन्। मनोविद् कुँवर पनि क्लेप्टोमेनिया मानसिक समस्या भएका व्यक्तिले नियतवश नचोर्ने बताउँछिन्। यस्तो समस्या भएका व्यक्तिमा चोर्न नपाउँदा छटपटी हुन्छ। तनाव हुन्छ। तर, चोरी सकेपछि व्यक्तिको मन आनन्दित हुने मनोविद् ढकाल बताउँछन्। 

सामान्य अवस्थामा फर्किएपछि क्लेप्टोमेनियाको समस्या भएको व्यक्तिले चोरी गरेको सामान फर्काउने तथा कसैलाई गिफ्टसमेत दिन्छन्। किनकी त्यस्ता व्यक्तिलाई चोर्नुपर्ने कुनै आवश्यकता नै हुँदैन।

मानसिक रोगको कारण मात्रै चोरेको हुन्छ। मनोविद् ढकालले भने, ‘चोरेपछि आत्मग्लानीसमेत हुन्छ।’ त्यसो त मनोविद् कुँवर क्लेप्टोमेनियाको समस्या धेरैजसो आर्थिक अवस्था बलियो भएका व्यक्तिमा देखिने गरेको अनुभव सुनाउँछिन्। 

उनले भनिन्, ‘यो समस्यालाई धनीमा लाग्ने रोगका रूपमा पनि चिनिन्छ।’ जसलाई चक्लेट, चम्चा, काँटा चोर्नुपर्ने कुनै जरुरत हुँदैन। तर, के कारणले प्रायः आर्थिक अवस्था बलियो भएका व्यक्तिमा यो समस्या देखिन्छ भन्ने सवालमा भने मनोविद्हरु अनुत्तरित छन्। 

यस्तो समस्या भएका व्यक्तिलाई सामान नचोरी चित्त नबुुझ्ने मनोविद् बताउँछन्।

उद्देश्य बिनाको चोर

के कारणले यस्तो चोर्न मन लाग्ने मानसिक समस्याको विकास हुन्छ भन्ने यकिन आधार  छैन। तर, सानोमा हुकाईको वातावरण, वंशाणुरूपमै चोर्ने समस्याजस्ता कारणले क्लेप्टोमेनियाको समस्या देखिन सक्ने कुँवर बताउँछिन्।

हुर्कने क्रममा अभिभावकबाट टाढा भएको, होस्टलमा हुर्केका व्यक्तिमा यस्तो समस्या बढी देखिने गरेको कुँवरको अनुभव छ। १२/१३ वर्षको उमेरबाट यस्तो समस्या बढी देखिने भएकाले बालबालिका हुर्कने क्रममा अभिभावकबाट राख्न नहुनेतर्फ मनोविद् सजग गराउँछन्।

अन्य किसिमको मानसिक रोगका कारण भने यो समस्या निम्तने जोखिम कमै हुने मनोविद्को तर्क छ। तर, एउटै सोच तथा व्यवहार दोहोरिने मानसिक समस्या ‘अब्सेसिब कम्पल्सिब डिसअर्डर’ भएका व्यक्तिमा यो समस्या हुन सक्ने मनोविद् बताउँछन्।

एन्जाइटी (डर–चिन्ता)को समस्या, असामान्य किसिमको खानपान भएका व्यक्तिमा क्लिप्टोमेनियाको जोखिम मनोविद् ढकाल बताउँछन्।

मनोविद् अनुसार मस्तिस्कमा डोपामिन, सेरोटोनिन जस्ता तत्त्वको गडबडीले यो समस्या उत्पन्न हुन सक्छ। महिलाको हकमा रजस्वलाको समयमा हुने हर्माेनको गडबडीका कारण पनि यो समस्या हुन सक्ने मनोविद् बताउँछन्।

त्यसैले व्यक्तिले कुनै सामग्री चोर्दा मानसिक समस्याका कारण चोरेको हो वा पेशेवर हो भन्ने छुट्याउन मनोविश्लेषण गर्नु उचित हुने मनोविद्को सुझाव छ। जसका लागि मनोविद् तथा मनोचिकित्सकको परामर्श आवश्यक हुन्छ। 

तर, नेपालमा चोरीमा संलग्नलाई अनुसन्धान गर्दा मनोविश्लेषक (मनोविद् तथा मनोचिकित्सक) राख्ने चलन खासै छैन। तर, चोरीमा संलग्न व्यक्तिमा कुनै मानसिक समस्या महसुस भए अनुसन्धान अधिकृतले आवश्यकता अनुसार मनोविद् तथा मनोचिकित्सकसँग परामर्श लिने चलन भएको नेपाल प्रहरीका पूर्वएआइजी देवेन्द्र सुवेदी बताउँछन्।

उनले भने, ‘अनुसन्धानको क्रममा मानसिक स्वास्थ्यको जाँच गर्नु आवश्यक त हुन्छ।’ तर, नेपालमा मानसिक स्वास्थ्य परीक्षणको राम्रो अभ्यास नभएको उनी बताउँछन्। 

क्रिमिलोजीमा पनि मनोविज्ञानको भाग हुने भएकाले केही हदसम्म मानसिक विषयको अध्ययन गर्न सकिन्छ। अनुसन्धानका क्रममा मानसिक स्वास्थ्यबारे केही व्यवस्था पनि छन्। तर, विशिष्ठीकृत रूपमा चोर्न मन लाग्ने मानसिक रोग ‘क्लिप्टोमेनिया’कै बारेमा प्रहरी अधिकृतहरूमा शैक्षिक अध्ययन नभएको सुवेदी बताउँछन्।

उपचार नगरे बुढेसकालमा पनि चोर

क्लेप्टोमेनियाकोे समस्या भएका व्यक्तिको बेलैमा उपचार गर्यो भने ठिक हुने मनोविद् बताउँछन्। तर, नेपालमा चोर्न मन लाग्ने यस्तो समस्याको उपचार गर्ने चलन खासै नभएको मनोविद्को अनुभव छ। यस्तो समस्या भएका व्यक्तिको बेलैमा उपचार नगरेको खण्डमा पाको हुँदासमेत चोर्ने बानी रहिरहन्छ। जसले व्यक्तिको चरित्रमा नै दाग लाग्छ। नैतिकरूपमा पतन हुन्छ।

क्लेप्टोमेनियाको समस्याकै कारण कडा किसिमका मानसिक रोगको जोखिम भने कमै हुने मनोविद् बताउँछन्। तर, समस्या बढ्दै गए डर–चिन्तादेखि डिप्रेसनसम्मको जोखिम हुने विषयलाई भने नकार्न नसकिने मनोविद् ढकाल बताउँछन्।

मनोविद्का अनुसार बेलैमा उपचार गरे यो समस्या मनोपरामर्श तथा साइकोथेरापी विधिबाट पनि ठिक हुन्छ। ढकालले भने, ‘तनाव व्यवस्थापनका विभिन्न टेक्निक अपनाउँदा यो समस्या कम हुन सक्छ। तनाव व्यवस्थापनका लागि ‘कग्निटिभ विहेवियरल थेरापी’ उपयुक्त हुने मनोविद् ढकालको सुझाव छ। हर्मनको समस्या भए हर्मनको औषधि गर्नुपर्ने हुन्छ। त्यसैले यस्तो समस्या भए बेलैमा मनोपरामर्श लिन मनोविद् कुँवरको सुझाव छ।

पुष १९, २०७७ आइतबार १७:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।