ट्रोलको सिकार बनेका कलाकार : कसैको बोलीले, कसैको गलाले

ट्रोलको सिकार बनेका कलाकार : कसैको बोलीले, कसैको गलाले

कसैको नाम नलिई कला क्षेत्रमा हुने शोषणबारे आफ्नो भोगाइ सार्वजनिक गरेकी थिइन् उनले। केसीले प्रतिवाद गरेपछि दुवैजनाबीच सामाजिक सञ्जालमा दोहोरी चलेको थियो। अन्तमा केसी मानहानीको मुद्दा बोकेर अदालतै पुगे। यसको छिनोफानो भइसकेको छैन।

अभिनेत्री पूजा शर्मादेखि मोडल तथा दुर्गेश थापासमेत ट्रोलका सिकार बने सन् २०२० मा। अभिनेत्री तथा फिल्म निर्माता दीपाश्री निरौला लगायतका कलाकार पनि ट्रोल भए।

इन्स्टाको भिडियोले गरेको हंगामा 

अभिनेत्री साम्राज्ञीले असार १२ मा आफ्नो इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै ठूला ब्यानरका व्यक्तिले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। 

उनको भनाइलाई लक्षित गर्दै अभिनेता तथा निर्माता भुवन केसीले सामाजिक सञ्जालबाट नै प्रतिवाद गरे। भुवनले साम्राज्ञीको प्रतिवाद गरेपछि साम्राज्ञीले भुवनको नामै तोकेर जापानमा एक अवार्ड कार्यक्रमका क्रममा आफूलाई ‘ह्यारेस’ गरेको भन्दै अर्को भिडियो इन्स्टाबाट सार्वजनिक गरिन्।

भुवन र साम्राज्ञीको आरोप प्रत्यारोपले झन् चर्को रूप लियो। भिडियोमा साम्राज्ञीले आफूलाई सुटिङ स्थलमै अश्लील गालीसमेत गरेको भनेर लामै पीडा पोखिन्। भुवनले झन् उग्ररूपमा साम्राज्ञीको नाम नलिइकन फेसबुकमा लेखेका छन्, ‘खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोइकराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने ! सामाजिक सञ्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नि !’

साम्राज्ञी झन् उग्ररूपमा हुँदै इन्स्टामा लेखिन्, ‘त्यो स्ट्याटस लेख्ने व्यक्तिले जापानमा अवार्ड कार्यक्रम हुँदा नै बाबा हेर, तँ त मेरो प्रडक्ट हो। त्यो पुरानो कुरा कोट्याएर के फाइदा। यस्तो कुराहरू नगर भनेर मलाई सम्झाउनुभयो। भित्र मलाई घिन लागिरहेको थियो। त्यो कुरा गर्दा पनि टाँसिएर, फेरि त्यही व्यवहार। त्यही व्यवहार, गालामै मुख ल्याएर बोलिरहेको थियो। उहाँलाई अंकल भनेको पन पर्दैन। हस् दाइ भन्दै धकेलिदिएँ। म जे बोल्दै छु यो सबै सत्य हो।’ 

बोली चिप्लँदा आपत्

निर्देशक तथा कलाकार दीपाश्री निरौलाले एक टेलिभिजन कार्यक्रममा नेपालको महानायकबारे गरेको टिप्पणीले उनी ट्रोलको सिकार बनिन्। उनले एक टेलिभिजन कार्यक्रममा ‘अभिनेता राजेश हमाल महानायक हुन् र ?’ भनेकी थिइन्। उनको अभिव्यक्ति सार्वजनिक भएसँगै हमालका फ्यानहरूले कायल–कायल बनाए। सहकर्मी दीपाको समर्थन गर्दा कलाकार दीपकराज गिरी पनि ट्रोलको सिकार बने।

हमालका फ्यानहरूले एकोहोरो आक्रमण गरेपछि दीपाश्रीले माफी मागिन्। उनले ‘मैले चलचित्र क्षेत्रको महानायक भएपछि चलचित्र क्षेत्रमा परेको विषय परिस्थितिमा एउटा अभिभावकको भूमिका निर्वाह गरेर आफूलाई वर्षाैंदेखि सहयोग गरेका प्राविधिकहरूलाई परेको पीरमर्कामा सहयोगी किन हुन सक्नु भएन भन्ने आसले बोलेकी हुँ’ भन्दै माफी माग्नुपरेको थियो।

उनले माफी माग्दासमेत विषय नसुल्झिएपछि उनको उद्धारमा अभिनेता हमाल आफै सक्रिय भएर आफ्ना फ्यानहरूलाई सम्झाउनुपरेको थियो। 

बेसुरले ट्रोलमा दुर्गेश 

अर्काको गीत बेसुरमा गाउँदा मोडल तथा गायक दुर्गेश थापा ट्रोलको सिकार बने। उनले एक टेलिभिजन कार्यक्रममा स्वरसम्राट नारायण गोपालको गीत गाउनुस् भन्दा भक्तराज आचार्यको गीत गाए। त्यो पनि पूरै बेसुरमा। 

अन्तर्वार्ताको क्रममा पत्रकारले नारायण गोपालको गीत गाउनुस् भन्दा दुर्गेशले ‘उहाँको गीत म धेरै सुन्छु’, भन्दै भक्तराज आचार्यको गीत ‘मुटु जलिरहेछ’ गाएका थिए। एकपछि अर्को गीत दुर्गेशलाई गाउन लगाएपछि उनले गायक शिव परियारको गीत ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ को शब्द बिगारेर लयविहीन गाए।

गायक यम बरालको तस्बिर देखाएर गीत गाउन लगाउँदा दुर्गेशले रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल भो’ गीत गाउँछन्। 

उनको पारा देखेर सबैले ट्रोल त बनाए नै नेपालमा अटोट्युनको भरमा संगीत क्षेत्रमा राज गरेकाहरूबारे बहस समेत सुरु गरायो।

ट्रोलको सिकार पूजा शर्मा 

यो वर्ष अभिनेत्री पूजा शर्माको पनि दिन गतिलो भएन। उनले एक टेलिभिजनलाई दिएको अन्तरवार्ताका क्रममा नेपालमा कति जिल्ला छन् भन्ने कुराले उनलाई विवादमा तानिइन्।

देशको जिल्ला नै कति छन् भन्ने प्रश्नको गलत उत्तर दिएपछि पूजा ट्रोलको सिकार बनेकी थिइन्। नेपालमा कति वटा जिल्ला छन् भन्ने प्रश्नमा उनले १४ जिल्ला भएको बताएकी थिइन्। नेपालमा यतिखेर कति वटा प्रदेश छन् भन्दा पुजाले ‘७२’ भनेकी थिइन्।

संघीयता कार्यान्वयनअगाडि नेपालमा १४ अञ्चल थिए, ७५ जिल्ला। अहिले नेपालमा ७ प्रदेश छन् भने ७७ जिल्ला।

कालो चियाको ट्रोल

कोरोना भाइरसको संक्रमण फैलन नदिन विश्वका अधिकांश देश लकडाउनको मोडलमा गए। घरबाट बाहिर निस्कन नपाएपछि कलाकारहरु घरमै बसेर भिडियो बनाउँदै सामाजिक सञ्जालमा सक्रिय भए। कसैले खाना बनाएको भिडियो राखे, कसैले जिम गर्न सिकाए।

कोही भने यसैको कारण ट्रोल पनि भए। कालो चिया बनाउन सिक्दा अभिनेत्री तथा कार्यक्रम प्रस्तोता रिमा विश्वकर्मा ट्रोल भइन्। उनले लकडाउनको समयमा आफूले कालो चिया बनाउन जानेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेकी थिइन्। पकवानमा कालो चिया बनाउनु त्यति जटिल हैन। उनले इमान्दारीपूर्ण आफूले जे सिकिन्, त्यही राखिन्। तर, उडाउनेहरूले मौका पाए र मस्त उडाए।

उनले ‘मैले कालो चिया बनाउन सिकेको हो, कालो बम होइन। कृपया यसलाई बम नबनाउनु होला’ भन्दै ट्रोलरहरूलाई जवाफ फर्काइन्।

 

पुष १९, २०७७ आइतबार १३:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।