माग्ने बुढा: सरकारी लखेटाइले बनेका कलाकार

माग्ने बुढा: सरकारी लखेटाइले बनेका कलाकार

काठमाडौं यात्रा र संघर्ष

२०४९ सालमा एसएलसी पास गरेपछि उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएँ। तर, मसँग पढाइ खर्च जुटाउने स्रोत थिएन। पढाइका लागि कमाई गर्नुको विकल्प थिएन मसँग। तर, के गर्ने ? सोच्नै सकेको थिइनँ मैले। 

जागिरका लागि प्रयास गरौं भने योग्यता थिएन, ठूलो व्यापार गर्नलाई लगानी थिएन। 

पछि फुटपाथमा सामान बेच्ने आइडिया फुर्याे। 

त्यसपछि थोरै लगानीमा लगनखेलको फुटपाथमा कस्मेटिक सामान बेच्ने योजना बनाएँ। र, काम थालें। म बिहान कलेज जान्थें भने दिउँसो पसल राख्थें। मेरो दिनचर्या यसरी नै बितिरहेको थियो।  

तर, केही समयपछि तत्कालीन नगरपालिकाले फुटपाथ पसल हटाउन दबाब दियो। तर, मैले पसल हटाइनँ। त्यसपछि नगरपालिकाका कर्मचारीले दिनहुँ दुःख दिन थाले। अन्ततः मैले फुटपाथ पसल छाड्नुपर्याे। 

त्यसपछि म टेम्पो चलाउन थालें। त्यो बेला मिटरवाला कालो टेम्पो चल्थ्यो। 

त्यसपछि मैले तीन वटा टेम्पो थपें। तर, त्यसलगत्तै सरकारले कालो टेम्पो हटाउने निर्णय गर्याे। त्यसको एक वर्षपछि सरकारले कालो टेम्पो चलाउन प्रतिबन्ध लगायो। 

त्यसपछि मैले सटरमा पसल राख्ने योजना बनाएँ। र, कलंकी–थानकोट सडक छेउको सटर भाडामा लिएर इलेक्ट्रोनिक पसल राखें। यो २०५५ सालतिरको कुरा हो। 

अर्काे वर्ष मैले बिहे गरें। व्यापार पनि राम्रै थियो। 

तर, पसल खोलेको केही वर्षपछि सरकारले सडक विस्तार थाल्यो। त्यतिबेला उक्त सडक दुई लेनको थियो। 

बाटो विस्तारका क्रममा धुलो र बालुवा उडेर पसल पूरै धुलाम्मे हुन्थ्यो। पसल धुलाम्मे भएपछि ग्राहक पनि खासै आउँदैनथे। सुरुमा राम्रो हुने व्यापार सडक विस्तारपछि सुस्तायो। 

केही समयपछि सडक विभागले सडक विस्तार गर्न मेरो पसल भएको घर भत्कायो। त्यसपछि अन्त गएर व्यापार गर्ने मन लागेन। र, इलेक्ट्रिक पसलको व्यापार पनि छाडें। 

...अनि कलाकारिताको बाटो 

व्यापार छाडेपछि म पूर्णरूपमा कलाकारिता क्षेत्रमा होमिए। लगत्तै टेलिचलचित्र ‘गीताञ्जली’मा अभिनय गर्ने अवसर पाएँ। 

हुन त इलेक्ट्रिक पसल चलाउँदै गर्दा मैले ‘हिजो आजका कुरा’मा अभिनय गरिसकेको थिएँ। 

सुरुवाती चरणमा अभिनयमा जम्न मैले निकै संघर्ष गरेको थिएँ। त्यतिबेला पारिश्रमिकबिना काम गर्नुपरेको थियो। त्यति मात्रै होइन, अभिनय गर्न जाँदा खाजाको पैसा र गाडीभाडासमेत आफैले तिर्नुपथ्र्याे।

टेलिचलचित्र ‘गीताञ्जली’पछि मैले क्रमशः ‘लोकलय’, ‘तितो सत्य’ र ‘जिरे खुर्सानी’मा अभिनय गर्ने अवसर पाएँ। 

त्यसपछि हास्य टेलिशृंखला ‘मेरी बास्सै’मा अभिनय गर्ने मौका मिल्यो। यसले मलाई कलाकारिता क्षेत्रमा स्थापित बनायो। उक्त टेलिशृंखलामा ‘माग्ने बूढा’को क्यारेक्टर दर्शकले मनपराइदिनुभएको छ। सबै दर्शकप्रति आभारी छु। 

पुष १९, २०७७ आइतबार ०७:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।