पोल चढेको प्रधानमन्त्रीको तस्बिर कार्यकर्ताको गलामा : गलबन्दीमा 'आइएमविथ केपी ओली'

पोल चढेको प्रधानमन्त्रीको तस्बिर कार्यकर्ताको गलामा : गलबन्दीमा 'आइएमविथ केपी ओली'

सरकारले यसलाई नयाँ युगको सुरुवात भन्दै भव्य प्रचार गरायो। पोलभरि प्रधानमन्त्री छाए। नयाँ कार्यक्रमको सुरुवातको प्रचारमा अपनाइएको कर्पोरेट शैलीको आलोचना भएको थियो।

संसद् विघटनसँगै बढेको किचलोमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा ओली र पुष्पकमल दाहाल-माधव नेपाल समूहबिचको आधिकारिक भन्ने बहस चर्किरहेको बेला ‌ओलीको समर्थनमा उस्तै प्रचार देखिन थालेको छ। यस अगाडि सरकारी खर्चमा पोलमा झुन्डिएको उनको तस्बिर अहिले समर्थकको काँध चढ्न थालेको छ।

ओलीको कदम गैर कानुनी भएको भन्दै दाहाल-नेपाल समूहले उनलाई कारबाही गर्दै अध्यक्ष पदबाट हटाएका छन्। उनले दाहाल-नेपाल कसैलाई कारबाही गरेका त छैनन्। तर असली नेकपा को हो भन्ने प्रतिस्पर्धा केन्द्रसँगै जिल्ला तहमा पुगिसकेको छ।

केन्द्रमा गुटगत भेला भइरहेका छन्। त्यसैको असर तल्लोतमसम्म पुगेको छ। नगर समितिसम्म गुट भेला भइरहेको छ। ओली निकट नेकपा तिलोत्तमा नगर समितिले शनिवार यस्तै गुटगत भेलाको आयोजना गरेको थियो। भेलामा दाहाल-नेपालको आलोचना हुनु सामान्य नै हो।

अन्य क्षेत्रमा भएका भेलाभन्दा यस भेलामा सहभागीले ओलीलाई समर्थन गर्न नयाँ प्रचारको उपाय अपनाए र कार्यकर्ता भेलामा सहभागी नेता तथा कार्यकर्तालाई ओलीको तस्बिर सहित आईएम विथ केपी ओली लेखिएको गलबन्दी बाँडियो।

कार्यक्रममा सहभागी नेकपाका एक नेताका अनुसार कार्यक्रममा आएका अतिथिलाई त्यही गलबन्दीले लगाएर स्वागत गरिएको थियो। कार्यक्रमका अन्य सहभागीलाई गलबन्दी मन परे ३ सय ५० का दरले बिक्री गरिएको थियो।

गलबन्दीको आइडिया ल्याएको थियो अखिल केन्द्रीय कमिटीले। अखिलमा पनि अध्यक्ष ऐन महर ओलीतिर छन्। कार्यक्रममा सहभागी करिब चार सय जनाले गलबन्दी पैसा तिरेरै किनेका थिए।

ओली समर्थकबिच गलबन्दी प्रेम देखेपछि आइतबार बुटवलको सुखानगरमा आयोजना हुने कार्यक्रममा बेच्न स्थानीय एक गार्मेन्टलाई गलबन्दी बनाउने जिम्मा दिइएको नेकपाका एक नेताले उकेरालाई बताए। कार्यक्रमलाई नेकपा महासचिव विष्णु पौडेल, मुख्यमन्त्री शङ्कर पोखरेल, सुवास नेम्वागं लगायतकाले सम्बोधन गर्दैछन्।

पुष १८, २०७७ शनिबार २२:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।