नेकपामा दुबै गुटको रणनीति : बहुमत पुगे कारबाही, अल्पमत भए फकाउने
दाहाल–नेपाल समूहले पेरिसडाँडाबाट आफ्नो नेतृत्वको सरकारविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरिरहँदा ओली भने प्रज्ञा भवनबाट दाहाल–नेपालमाथि आरोपको खोलो बगाइरहेका थिए।
निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता र सर्वोच्च अदालतबाट संसद् विघटनबारे अन्तिम निर्णय कुरेर बसेका दुवै समूहका नेता कार्यकर्ता आ–आफ्नो पक्षमा पार्न र आफू इतर समूहमा लागेकालाई कारबाही गर्न शनिवार पनि सक्रिय रहे।
कतै कुन समूहका प्रदेश सांसदहरूले समूह बदलेको त कतै अर्को समूहमा लागेको भन्दै बहुमत हुने समूहले सांसदहरूलाई कारबाही गरेको समाचारहरू शनिवार दिनभर मिडियामा छाइरहे।
नेकपा काठमाडौँले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ओलीले दाहाल–नेपाललाई व्यङ्ग्य गर्दै पार्टीबाट खिया लागेका दुई वटा नटबोल्ड खुस्कँदैमा कुनै फरक नपर्ने दाबी गरे।
आफू समर्थित कार्यकर्ता खुसी पार्न ओलीले दाहाल–नेपाल समूहले हालै राजधानीलगायत देशभर गरेको प्रदर्शनमा रत्नपार्कमा सिसीमा औषधि बेच्नेले जति पनि मान्छे उतार्न नसकेको टिप्पणी समेत गरे।
‘रत्नपार्कमा पेट दुखेको कम्मर दुखेको भनेर सिसीमा औषधि बेच्नेको भन्दा कम मान्छे सडकमा उतारेको देखियो’ ओलीले व्यङ्ग्य गर्दै भने,‘अलि अलि त सिसीमा औषधि राखेर बेच्ने मान्छेले रत्नपार्कमा मान्छे जम्मा पार्छ। त्योभन्दा धेरै मान्छे छैनन्। पेट दुखेको‚ कम्मर दुखेको‚ गानो गोला भएको‚ पिनास परेको भन्नेजस्तै उहाँहरूको हालत हो।’
दाहाल–नेपाललाई समूहलाई ओलीले भने 'न त उनीको एजेन्डा देश र जनता हो नत संविधानको रक्षा नै हो।'
दाहाल–नेपाल समूहलाई लक्षित गर्दै पार्टीमा रहेका फोहोर आफैँ हटेर गएकाले अब शुद्धीकरण अभियान थालिने समेत दाबी गरे।
ओलीले सरकारलाई काम गर्न नदिएको र गरेको कामको पनि प्रचार गर्न नदिएपछि संसद् विघटन गर्नु परेकोसमेत भन्न भ्याए। तीन वर्षसम्म पार्टी एकीकरण गर्न नदिएको आरोप समेत लगाए ओलीले दाहाल–नेपाललाई।
कालो रङ्गमा ओलीको डर
ओली आउने कार्यक्रममा कालो मास्क र कालो टोपी लगाउनेलाई समेत प्रवेशमा निषेध गरियो। ओली समूहको काठमाडौँ कमिटीले शनिवार आयोजना गरेको भेलामा सहभागी हुन जाने कालो टोपी र कालो मास्क लगाउने नेता तथा कार्यकर्ताहरूलाई सुरक्षाकर्मीले गेटबाटै फर्काइदिए।
कालो झन्डाको रूपमा कालो टोपी र मास्क प्रयोग गरेर कार्यक्रममा सहभागीले ओलीको विरोध गर्न सक्ने आशङ्कामा सुरक्षाकर्मीलाई कालो टोपी र मास्क प्रयोग गर्नेलाई कार्यक्रममा निषेध गर्न निर्देशन दिइएको बताइएको छ।
बहुमत भए कारबाही, अल्पमत भए फकाउने
केन्द्रमा जस्तो वातावरण छ त्यो प्रदेशमा सर्ने नै भयो। अहिले प्रदेश र जिल्लामा जहाँ-जहाँ आफ्नो बहुमत पुग्छ त्यहाँ कारबाहीको लहरै चलाएका छन् दुवै गुटले। जहाँ बहुमत पुग्दैन त्यहाँ फकाउने रणनीति लिएका छन् दुवै समूहले।
दाहाल–नेपाल समूहको सुदूरपश्चिम प्रदेश कमिटीले दुई जना नेतालाई नैतिक आचरण विपरीत कार्य गरेको भन्दै शनिवार कारबाही गर्यो।
नेकपाका नेता भीम रावलले नैतिक आचरण विपरीत कार्य गरेको नेकपा कैलाली अध्यक्षसमेत रहेका प्रदेश सभा सदस्य रतनबहादुर थापा र सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य रहेका कञ्चनपुरका महेश पन्तलाई निलम्बन गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिए।
शुक्रवार बसेको नेकपा सुदूरपश्चिम प्रदेश समितिको चौथो बैठकको निर्णयलाई सार्वजनिक गर्दै नेता रावलले कैलाली अध्यक्ष थापालाई र पन्तलाई पदबाट मुक्त गराउन केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको रावलले जानकारी दिए। उनीहरू दुवै जना ओली पक्षमा लागेका छन्।
जिल्ला अध्यक्ष थापालाई नैतिक आचरण सम्बन्धी उजुरीका आधारमा कारबाही गरिएको भनेका रावल पक्षले पूर्व एमालेका अध्यक्ष तथा प्रदेश सभा सदस्य दीर्घ सोडारीको भने कारबाही फुकुवा गरेको छ। उनलाई पनि आचरण विपरीत कार्य गरेको भन्दै नेकपाले कारबाही गरेको थियो। कारबाही स्वरूप उनले मन्त्री पदसमेत गुमाउनु परेको थियो।
यस्तै लामो समयपछि मुख्यमन्त्री त्रिलोचन भट्टले शनिवार सुदूरपश्चिम प्रदेश सभाको नेकपा संसदीय दलको बैठक आह्वान गरे।
नेकपा संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री भट्टले आह्वान गरेको बैठकमा नेकपा नेता भीम रावल प्रमुख अतिथि थिए।
दाहाल–नेपाल समूहको बहुमत रहेको नेकपा संसदीय दलको सो बैठकमा ओली पक्षीय सांसदहरू निकै निरीह बने।
करिब डेढ घण्टासम्म चलेको बैठकमा ओली पक्षीय सांसदलाई बोल्न समेत दिइएन।
दाहाल–नेपाल पक्षले संसद् विघटनको विरोध गर्दछ, फुट र विग्रहमा नलाग्न पार्टी कार्यकर्तालाई आह्वान गर्दछ र नेकपाको प्रदेश सभाका सदस्य विधानसम्मत बहुमतको पक्षमा रहेको स्पष्ट पार्दछ भन्ने ३ बुँदे निर्णय गरिएको थियो।
उक्त निर्णयमा प्रदेश सभा सदस्यहरूमा पठान सिंह बोहरा, लिलाधर भट्ट, गेल्बु बोहरा, महेशदत्त जोशी, नेपालु चौधरी र रतन थापा ले उक्त निर्णयमा हस्ताक्षर गर्न मानेनन्।
बैठकमा सहभागी ३६ मध्ये बाँकी ३० जना सांसदले भने उक्त निर्णयमा हस्ताक्षर गरेको दाबी गरिएको छ। प्रमुख सचेतक तारा लामा तामाङले ‘निर्णयमा हस्ताक्षर नगर्नेले बोल्न र बस्न पाइँदैन भन्दै बैठक बाहिर जान भने। तामाङले बैठकमा बोल्न र बस्न नपाइने भने पनि नेता रावलले बोल्न दिने भनेपछि ओली समूहका पूर्व मन्त्री भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले भने मन्तव्य राखे।
विना एजेन्डाको रेडिमेड निर्णयमा हस्ताक्षर गर्न लगाएको भन्दै हस्ताक्षर गर्न इन्कार गरेको उनीहरूले बताए। मन्त्री बोहरा ओली पक्षमा लागेपछि मुख्यमन्त्री भट्टले मन्त्री पदबाटै बर्खास्त गरेका थिए।
न्यौपानेले छोडे दाहाल–नेपालको साथ
उता लुम्बिनी प्रदेश सांसदका दधिराम न्यौपाने ओली समूहमा लागेको शनिवार खुलेको छ। प्रदेश सभामा रुपन्देही क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित न्यौपाने धार परिवर्तन गरेर ओली गुटमा लागेका हुन्।
संसद् विघटनको कडा आलोचना गर्दै आएका न्यौपाने अन्ततः ओली समूह नै रोजेका छन्। पूर्वमाओवादी पृष्ठभूमिका न्यौपाने यसअघि दाहाल–नेपाल समूहले आयोजनामा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आएका थिए। न्यौपाने समूह परिवर्तन गरेपछि लुम्बिनीमा दाहाल–नेपाल समूहमा राजनीतिक तरङ उत्पन्न भएको छ।
न्यौपाने ओली समूहमा लाग्नु र दाहाल–नेपाल समूहका सांसदहरू कतै पनि खुल्न नसकेपछि तत्कालका लागि लुम्बिनी प्रदेश सरकार अल्पमतमा पर्ने सम्भावना टरेर छ। प्रदेशसभामा नेकपाका ६१ सांसद रहेकोमा पूर्वमाओवादीका २० सांसद छन्। न्यौपाने ओली समूहमा लागेपछि वर्तमान ईश्वर पोखरेल नेतृत्वको प्रदेश सरकार थप मजबुत बनेको छ।
पोखरेलले उनलाई मन्त्री बनाउने सहमतिमा आफ्नो समूहमा तानेको स्रोतको दाबी छ। उनी प्रदेशको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति रहेका छन्। न्यौपानेले आफू सरकार पक्षतिर लागेको स्वीकार गरे। मुख्यमन्त्री पोखरेल पद जोगाउन सांसद आफ्नो समूहमा तान्ने अभियानमा छन्।
पुष १८, २०७७ शनिबार २०:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।