जोरपाटी–सुन्दरीजल सडक विस्तार : सम्झौता सकिएको दुई वर्ष बित्यो, बनेन 

जोरपाटी–सुन्दरीजल सडक विस्तार : सम्झौता सकिएको दुई वर्ष बित्यो, बनेन 

सडक विस्तारमा ढिलाइ भएपछि स्थानीयले आन्दोलन नै गरे। तैपनि काम चाडो सक्न ठेकेदार र जनप्रतिनिधिले चासो नदेखाएको स्थानीयको आरोप छ। 

कालोपत्रे नहुँदा सडक घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेको छ।

यसले गर्दा सडकमा यात्रा गर्न सास्ती हुने गरेको स्थानीय बताउँछन्। नाम्गेलमा ग्रिल पसल सञ्चालन गरिरहेका दीपेश श्रेष्ठ सडकमा अहिले धुलोले हैरान बनाएको दुखेसो पोख्छन्। 

त्यति मात्रै होइन, सडक कालोपत्रे पूरा नहुँदा घण्टौं जाम हुने गरेको स्थानीयको दुखेसो छ। 

‘सडकमा माटो थुप्रिएको छ। पाइपलाइन बिछ्याउने काम जारी छ। यसले जाम बढाएको छ,’ श्रेष्ठले भने। 

गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगानाले मुआब्जासम्बन्धी विवादका कारण तोकिएको समयमा काम नसकिएको बताए। सडक विस्तारका क्रममा घरधनीलाई मुआब्जा नदिँदा स्थानीयले अवरोध गरेपछि काममा ढिलाइ भएको उनको भनाइ छ। 

पछिल्लो पटक भने कोरोना भाइरस संक्रमणको महामारी फैलिँदा र ढल निकास तथा मेलम्ची खानेपानीको पाइप बिछ्याउँदा ढिलाइ भएको उनले बताए। 
‘मेलम्चीको खानेपानीको पाइप बिछ्याउन र ढल व्यवस्थापन समयमै नहुँदा सडक कालोपत्रेमा ढिलाइ भयो,’ उनले प्रष्ट्याए। 

उनका अनुसार अहिले सडकमा ढल र मेलम्चीको खानेपानीको पाइप विछ्याउने काम करिब ९० प्रतिशत सकिएको उनको भनाइ छ। यो काम पूरा भएपछि कालोपत्रे थाल्ने उनले बताए। 

उनले आगामी चैत मसान्तसम्म पहिलो चरणको कालोपत्रे सक्ने गरी काम भइरहेको जानकारी दिए। उनका अनुसार उक्त सडकमा दुई चरणको कालोपत्रे गरिनेछ। 

पुष १८, २०७७ शनिबार १०:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।