नेपालका ‘प्याड म्यान’
‘महिलामा हुने मासिक रक्तश्रावलाई नेपाली समाजले विभेदपूर्ण आँखाले हेर्छ,’ कार्की भन्छन्, ‘धार्मिकतासँग जोडेर महिनावारीको बेलामा महिलाको १० वटा संवैधानिक अधिकार हनन् भइरहेको छ।’
कार्कीलाई नेपाली समाजमा महिनावारिको महत्त्व र मर्यादा बुझाउन मन छ। त्यसैले देशका विभिन्न ठाउँमा विभिन्न उमेर समूहका महिलाहरूलाई कार्की महिनावारी व्यवस्थापनबारे तालिम दिँदै, प्याड बाँड्दै हिँडिरहेका छन्।
०००
‘मेरो कान्छी दिदी अलि सुस्त मनस्थितिकी हुनुहुन्छ। उहाँलाई पहिलो पटक महिनावारी हुँदा फुपुको घरमा लगेर अँध्यारो कोठामा राखियो। घाम हेर्नसमेत दिइएन,’ कार्की बाल्यकाललाई सम्झँदै भन्छन्, ‘म दिदीलाई भेट्न अरुको अँखा छलिछली झ्यालमा पुग्थेँ।’ दिदीले तेरो अनुहार हेर्न हुँदैन भनेर हप्काएको कार्कीलाई आज पनि याद छ।
‘त्यतिबेला दिदीसँग खेल्न नपाउँदा मन खिन्न भयो। त्यसपछि मैले त्यो कुरा बिर्सदै गएँ,’ कार्की भन्छन्, ‘मेरो आमालाई पनि महिनावारीका बेला रक्तश्राव बढी हुने गथ्र्यो। आमा र दिदीको त्यो पीडा र शारीरिक कमजोरी मेरो मनमा गहिरो गरी बसेको थियो।’
आमा र दिदीको महिनावारीलाई नजिकबाट देखिरहेका कार्कीलाई महिनावारीसँग सम्बन्धित काम गर्छु भन्ने थिएन। तर, सामाजिक कार्य गर्छु भन्ने हुटहुटी थियो।
२०७२ सालमा भूकम्प गयो। त्यसबेला भूकम्पपीडितलाई खाना खुवाउन पाए हुन्थ्यो जस्तो कार्कीलाई लाग्यो। कक्षा ९ मा पढ्दै गरेका कार्कीलाई सानो उमेरका कारण घरका सदस्यले बाहिर निस्कन दिएनन्। ‘सानो भएको कारण मलाई त्यति बेला परिवारले रोके। तर, राम्रो काम गर्न उमेरले नछेक्ने रहेछ भनेर प्रमाणित गर्न पाउँदा खुसी छु,’ कार्की भन्छन्।
०००
एसएलसीको अन्तिम ब्याचका (अहिले एसइई) कार्कीले त्यो सकिएलगत्तै २५ जना साथी भेला पारेर सम्पदा सरसफाइमा होमिए। ‘त्यस बेला केही सामाजिक काम गर्छु भन्ने जोश थियो। सरसफाइमा सफल पनि भइयो,’ भन्छन्।
त्यसपछि कार्कीलाई कुनै पनि काममा संलग्न हुनु महत्त्वपूर्ण कुरा रहेछ भन्ने बोध हुन थाल्यो।
उनी विभिन्न संस्थासँग जोडिए सामाजिक काम गर्दै गर्दा। त्यही क्रममा अमेरिकाको ‘ह्याप्पी वोल्र्ड फाउन्डेसन’द्धारा आयोजित ‘गोल्बल एम्व्यसडर फर लिडरसिप’ कार्यक्रममा सहभागिता जनाउन आवेदन खुलेको कार्कीले थाहा पाए। ‘विश्वको ७० भन्दा बढी देश सहभागी हुनेमा उक्त कार्यक्रममा नेपाल पनि सम्मिलित थियो,’ भन्छन्।
१२ जना प्रतिष्पर्धीलाई पछि पार्दै कार्की त्यस कार्यक्रमको लागि नेपालबाट छानिएका थिए। ‘सुरुमा वातावरणसम्बन्धी काम गर्छु सोचेको थिएँ। तर, यसो विचार गर्दै जाँदा हाम्रो समाजले खासै महत्त्व नदिएको तर महत्त्वपुर्ण विषयमा काम गर्नुपर्छ भन्ने लाग्यो,’ उनले भने।
त्यसै बेला आमा–दिदीले महिनावारीमा भोग्नु परेका शारीरिक, मानसिक, सामाजिक, धार्मिक समस्या कार्कीको दिमागमा खेल्न थाल्यो। ‘त्यसपछि, मैले नेपालमा महिनावारीको अवस्था र त्यसप्रतिको धारणाबारे अनुसन्धान गर्न थालें।’
कार्की त्यति बेला प्लस टु पढ्दै थिए।
०००
महिनावारीसम्बन्धी अनुसन्धान गर्दै जाँदा कार्कीलाई ठूली दिदीले महिनावारीको धेरै गुह्य कुरा बताइन्। आमाले पनि कार्कीलाई महिनावारी बुझ्न सघाइन्। ‘मैले घरबाट सपोर्ट पाएँ,’ कार्की भन्छन्, ‘इन्टरनेटको सहाराले विश्वमा महिनावारीको स्थिति के छ र योसम्बन्धी कस्ता–कस्ता काम भइरहेका छन् भनेर अध्ययन गरिरहेकै थिएँ।’
केन्याको ‘डेज फर गल्र्स’नामक संस्थाको कामले कार्कीलाई बढी प्रभाव पार्यो। त्यसपछि व्यवस्थित महिनावारीको लागि चेतनास्तर बढाउनुको विकल्प छैन भन्ने कार्कीलाई लाग्न थाल्यो।
समाजामा व्यवस्थित महिनावारीबारे चेतना त लिएर जाने तर कसरी ? कार्कीलाई यो प्रश्नले घोचिरह्यो। ‘३–४ जना साथीलाई चिया खान बोलाएँ। दिदीबहिनी महिनावारी हुँदाको अवस्थाबारे कुरा गार्यौँ।’
त्यो छलफल कार्कीको लागि अत्यन्त लाभदायक हुन पुग्यो। ‘समाजमा कसरी बुझाउने भन्ने पीर हट्यो,’ भन्छन्। कार्कीले महिनावारीको समस्या र त्यसको व्यवस्थापन गर्ने उपायलाई रमाइलो कथाको रूप दिए।
‘सामाजिक काम गर्ने भएकाले कसरी डिलिङ गर्ने भन्ने केही तरिका थाहा थियो। प्रस्तुतिले मान्छेलाई प्रभाव राम्रो पारोस् भन्नका लागि कमेडी शैलीमा कन्टेन्ट तयार गर्न थालें,’ उनले सुनाए।
तर, उमेर समूहमा समस्या आयो। ‘फरक उमेर समूहलाई फरक रूपको कथा बनाउनु पर्ने भयो,’ उनले भने।
विभिन्न उमेर समूहको महिनावारीबारे धेरै जानकारी पाउन कार्कीले दिदीको डाक्टर साथीको सहयोग लिए।
०००
‘समाजमा जानुअघिको लगभग सबै तयारी सकियो। तर, एउटा कथा भने बाँकी छ,’ कार्की भन्छन् ‘त्योचाहिँ प्याडको कथा।’
‘महिनावारी व्यवस्थापनमा नछुटी आउने एउटा कुरा प्याड पनि हो।’ उनी थप्छन्। नेपाली समाजमा महिनावारी हुँदा प्याडको प्रयोग बढ्न थालेको छ। तर, त्यसको प्रयोग र असरबारे जानकारी एकदमै कम भएको कार्की बताउँछन्।
‘शहरका युवतीमाझ प्याड प्रचलित भए पनि गाउँघरमा भने प्याडको प्रयोग छैन,’ कार्की थप्छन्, ‘हिजोको दिनमा माटो, पात हुँदै लुगाको प्रयोगसम्म आइपुगेको नेपाली समाजमा महिनावारीको व्यवस्थापनबारे जानकार हुन खोज्दैन।’
‘हाम्रो धर्मशास्त्रले झन् महिनवारीमा आराम गर्न, ध्यान गर्न, सफा भएर बस्न भन्छ,’ कार्की थप्छन्, ‘मन्दिरहरू पहाडका उच्च ठाउँमा हुने भएकाले महिलालाई जान गाह्रो हुन्छ भनेर रोक लगाएको हो। त्यसबेला, यताउता गर्दा वा भान्सामा जाँदाँँ रक्तश्रावको उचित व्यवस्थापन नहुने भएकाले रोक लगाइएको हो।
शारीरिकरूपमा कमजोर हुने भएकाले एकान्तमा आराम गर्न दिइएको हो।’ धार्मिक कारणलाई हतियार बनाउनु बहाना मात्र हो जस्तो कार्कीलाई लाग्छ।
धर्मको गलत व्याख्याले नेपाली समाजका हरेकको दिमागमा छाउपडी प्रवृत्ति हो जस्तो कार्कीलाई लाग्छ। ‘अमेरिका पुगेर पनि महिनावारी हुँदा हाम्रा दिदी बहिनी भान्सामा जान हिच्किचाउँछन्। भनेसी यसलाई के भन्ने?’ चेतनाको विकास गर्न सजिलो नभएको कार्कीको अनुभव छ।
०००
‘म प्याडको कथा भन्दै थिएँ कता पुगें। खैर, इन्टरनेटको सहाराले मैले प्याड बनाउन सुरु गरेको हुँ,’ भन्छन्। आफन्तहरूको सहयोगले सुरुवाती दिनमा कार्कीले प्याड उत्पादन सुरु गरे। ‘तर, मेरो प्याड प्रयोग गरेर कस्तो छ भन्देउभन्दा मेरा साथीहरूले नै पत्याएनन्,’ कार्की थप्छन्, ‘मेरो आमाले सिलाइ जान्नुहुन्थ्यो र सजिलो भयो। म इन्टरनेटबाट नाप निकाल्न थालें। आमाले सिलाउन थाल्नुभयो।’
सुरुसुरुमा आमा र दिदीले कार्कीले बनाइएको प्याड प्रयोग गरे। त्यसपछि आफन्तहरूले प्रयोग गरे। ‘बिस्तारै समाजमा मेरो प्याड र चेतनाले असर गर्दै गयो,’ कार्की थप्छन्, ‘सुरुमा मेरो काम देखेर ट्वाइलेटमा गएर मेरो कुरा काट्ने कलेजका केटी साथीहरूले पनि साथ दिन थाले।’
कार्कीले सामाजिक सञ्जालमा महिनावारीसम्बन्धी पोस्ट गर्दा धेरैले उडाउने गरेको अनुभव पनि छ। ‘सुरुसुरुमा समाजले पनि उडायो। तर, परिवारको सपोर्टले विस्तारै आफन्त र समाजले पत्याउन थाल्यो।’ निरन्तरता सबैभन्दा ठूलो कुरा रहेछ जस्तो लाग्छ कार्कीलाई।
प्याड उत्पादनलाई व्यावसायिक बनाउने तयारीमा रहेका कार्कीले चितवनको चेपाङ बस्ती र महोत्तरीको मुसहर बस्तीका महिलालाई उद्यमशील बनाउन प्रयास गरे। ‘तर, सोचे जस्तो भएन। प्याड प्रयोग त जाने तर उत्पादनमा समस्या भयो,’ उनी भन्छन्। सुतिका कपडाको प्रयोग गरेर तीन चार महिना कुहिन सक्ने गरी कार्की प्याड उत्पादन गरिरहेका छन्।
०००
भर्खरै किशोर अवस्था पार गरेका कार्की किशोरी–आमाहरूलाई प्याडको प्रयोग र महिनावारी व्यवस्थापनबारे बताउन पाउँदा मख्ख छन्। ‘किशोरीलाई महिनावारीबारे जानकारी दिन पाउँदा खुसी लाग्छ,’ कार्की थप्छन्, ‘किशोरको जुँघाको रेखी बस्दा डाइनिङमा राखेर डिसिजन मेकिङमा सहभागी गराउने परिवारले किशोरीलाई रक्तश्राव हुँदा किन विभेद गर्छ?’ उनी प्रश्न गर्छन्।
महिला र पुरुषबीच भिन्नता महिनावारीबाट सुरु हुन्छझैं लाग्छ कार्कीलाई। त्यसैले त कार्की मर्यादित महिनावारीबारे वकालत गरिरहेका छन्।
विभिन्न संस्थाहरूको आर्थिक सहयोगमा कार्की प्याड उत्पादन गर्दै समाजमा त्यसको प्रयोग र महिनावारीप्रतिको गलत धारणा फेर्न लागिपरेका छन्। पोखरा विश्वविद्यालयमा ‘सोसल इन्जिनियरिङ’ तेस्रो सेमेस्टरमा अध्ययनरत कार्की भविष्यमा उद्यम र महिलाका समस्यामा काम गर्ने सोचमा छन्।
पुष १८, २०७७ शनिबार ०७:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।