अलमलमै कांगेस !

काठमाडौं : प्रतिनिधि सभा विघटन गरिएपछि त्यसको विरोधमा प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली इतरका नेता तथा भातृ संगठनले विरोध जनाए। तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका एकाध बाहेकका नेताले विरोधमा उत्रिएनन्।
लाग्थ्यो– आकस्मिक राजनीतिक परिवर्तनले कांग्रेसलाई छुन सकेन।
नेकपा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतबार प्रतिनिधिसभा विघटन गरेकी थिइन्।
संसद् विघटनपछि नेकपाको विभिन्न गुटका कैयौं भेला र बैठक बसे। तर, कांगेसले पार्टीको आधिकारिक धारणासमेत बनाउन सकेको छैन।
आकस्मिक राजनीतिक परिवर्तन हुँदा तत्काल धारणा बनाएर ‘एक्सन’मा जानुपर्ने हो। तर, कांग्रेसले संसद् विघटन भएको तेस्रो दिन भोलि (मंगलबार) बैठक बोलाएको छ।
कांग्रेसले अपराह्न १ बजेपछि केन्द्रीय समितिको बैठक डाकेको छ। सोही बैठकले संसद् विघटनबारे आधिकारिक धारणा तय गर्ने पार्टी नेताहरू बताउँछन्।
नेता नारायण खड्का संसद् विघटनबारे पार्टीको आधिकारिक धारणा नआएकाले यसबारे भन्न नसकिने अवस्था रहेको बताउँछन्। ‘केन्द्रीय समितिको बैठकपछि मात्र यसबारे आधिकारिकरूपमा भन्न सकिन्छ,’ उनी भन्छन्।
अर्का नेता डा. मिनेन्द्र रिजाल संसद् विघटनको कदम असंवैधानिक भएको जिकिर गर्छन्। ‘संसद् विघटन असंवैधानिक कदम भएकाले चुनावसम्म पुग्नु पर्छ जस्तो लाग्दैन। धेरै पछिको कुरा अहिले नै गर्नुपर्छ जस्तो मलाई लाग्दैन,’ उनी भन्छन्।
नेताहरू व्यक्तिगतरूपमा जनताको म्याण्डेड लिनु पर्ने अवस्थामा भने पछि नहट्ने पक्षमा देखिन्छन्।
नेपाली राजनीतिमा कांग्रेस ‘कागलाई बेल पाग्यो हर्ष न विस्मात’को अवस्थामा देखिन्छ।
नेता अमरेशकुमार सिंह कांग्रेस प्रजातन्त्रमा विश्वास राख्ने पार्टी भएकाले निर्वाचनमा जानुपरेको अवस्थामा पछि नहट्ने बताउँछन्। ‘प्रजातन्त्रमा विश्वास राख्ने पार्टीले चुनाव बहिस्कार गर्ने भन्ने कुरै रहँदैन,’ सिंह भन्छन्।
राजनीतिक घटनाक्रमपछिको परिस्थितिमा जति नेताले अभिव्यक्ति दिएका छन्। पार्टीले आधिकारिक निर्णय नगर्दा उनीहरू आफैै ‘कन्फ्युज’ देखिन्छन्।
नेकपाकै भर
कांगेससँग संसद् विघटनबारे न विरोधका कार्यक्रम छन् न त यसपछिको योजना नै। कांग्रेस नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग छलफलपछि मात्र रणनीति बनाउने पक्षमा देखिन्छ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीति र नेकपाभित्रकै विवादका कारण संसद् विघटन गरि ताजा जनादेशको लागि आह्वान गर्नुपरेको अभिव्यक्ति दिइसकेका छन्।
सशक्त प्रतिपक्षको भूमिका निभाउन नसकेको आरोप खेपिरहेको कांग्रेस राजनीतिक उथलपुथलमा समेत ‘कुहिरोको काग’जस्तै बन्न पुगेको छ। कांगेस नेताहरू सर्वदलीय बैठक र नेकपासँगको बैठकबाहेक पार्टीको बैठक नबसेको बताउँछन्।
पुष ६, २०७७ सोमबार २०:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।