ओली पक्षको भेला सकियो, दाहाल–नेपालको सुरु हुँदै 

ओली पक्षको भेला सकियो, दाहाल–नेपालको सुरु हुँदै 

काठमाडौं : संसद् विघटनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले बोलाएको आफूनिकट सांसद्हरूको भेला सकिएको छ।

बालुवाटारमा बोलाइएको भेलामा प्रधानमन्त्री ओलीले पार्टीमा असामान्य अवस्था सृजना भएकाले नयाँ जनादेशमा जाने निर्णय गरिएको जानकारी गराएको भेलामा सहभागी सांसद् खगराज अधिकारीले जानकारी दिए। उनका अनुसार भेलामा प्रधानमन्त्री ओलीले पार्टी फुटाउने योजना नरहेको बताएका थिए।  

अधिकारीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई लक्षित गर्दै भने, ‘पार्टी विभाजन त अविश्वासको प्रस्ताव ल्याउने र पार्टीमा ‘तमासा’ मच्चाउनेहरूले गर्न लागेका छन्।  

उनले भेलामा उल्लेख्य सांसदहरू सहभागी भएको दाबी गरे। 

ओली निकट अर्का नेताका अनुसार ओलीको पक्षमा ८० भन्दा बढी सांसद् छन्। संसद्मा नेकपाका १७४ सांसद् छन्। 

यसैबीच, दाहाल–नेपाल पक्षले पनि बानेश्वरस्थित संसद् भवनमा आफू निकट सांसद्हरूको भेला बोलाएका छन्।

भेला केही बेरमा सुरु हुने नेपाल निकट मानिने सांसद् रामकुमारी झाँक्रीले जानकारी दिइन्। 
 

पुष ६, २०७७ सोमबार १४:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।