‘प्रणय’ एल्बम विवाद : दोषी प्रमोद खरेल कि सुवास रेग्मी ? 

‘प्रणय’ एल्बम विवाद : दोषी प्रमोद खरेल कि सुवास रेग्मी ? 

काठमाडौं : नेपाली सांगीतिक क्षेत्रमा बेलाबेला रोयल्टी विवाद देखिने गरेको छ। पछिल्लो पटक भने प्रस्तोता र लगानीकर्ताबीच आर्थिक स्वामित्वको विवाद देखिएको छ। 

विन्दवासिनी म्युजिक प्रालिका सुवास रेग्मी र गायक प्रमोद खरेलबीच ‘प्रणय’ एल्बमको ‘पोखरामा’ बोलको गीतबारे कुरा नमिल्दा आर्थिक स्वामित्वको विवाद सतहमा देखिएको हो। 

रेग्मीले खरेलविरुद्ध गीतकार, संगीतकार तथा लगानीकर्ताको अनुमतिबिना एल्बममा समावेश गीत अनधिकृतरूपमा स्टेजहरूमा गीत तथा संगीत प्रयोग गरेको आरोप लगाउँदै एक करोड रूपैयाँ क्षतिपूर्तिको दाबीसहित प्रतिलिपि अधिकारको कार्यालयमा उजुरी दिएपछि विवाद सतहमा आएको हो। 

उक्त एल्बममा समावेश ‘पोखरामा’ बोलको गीतमा आर्थिक स्वामित्वको दाबी गर्दै रिमेक गर्न खोज्दा विवाद बढेको देखिन्छ। 

विवादपछि दुवै पक्ष (गायक खरेल र विन्दवासिनी म्युजिक)ले सम्झौता कार्यान्वयनको माग गरेका छन्। 

विवाद निम्तिनुमा कुन पक्ष दोषी हुन् भन्ने आम कलाप्रेमीको चासो छ। 

विन्दवासिनी भन्छ– प्रमोदले स्रष्टालाई पारिश्रमिक दिएनन्

रेग्मीले खरेलमाथि गीतकार तथा संगीतकारको पारिश्रमिक बुझेर स्रष्टालाई नदिएको आरोप लगाएका छन्। ‘मैले खरेलजीलाई सबै स्रष्टाको पारिश्रमिक दिएको छु,’ रेग्मी भन्छन्। 

तर, अहिले स्रष्टाहरूले पारिश्रमिक नपाएको गुनासो गरेको रेग्मीको भनाइ छ। ‘त्यति बेला एउटा गीत रेकर्ड गर्न साढे तीन हजार रूपैयाँ लाग्थ्यो। मैले खरेलजीलाई ६ वटा गीत रेकर्डिङ र सबै स्रष्टाको पारिश्रमिकका रूपमा १ लाख १० हजार रूपैयाँ दिएको छु,’ उनी भन्छन्।

बाँकी दुई गीतको लागि संगीतकार महेश खड्काले दुई लाख रूपैयाँ लिएको उनले बताए। 

‘त्यति बेला खड्का स्थापित भइसकेका थिए। उनीमाथि मैले लगानी गरेको थिएँ। पछि खड्काले खरेलजीलाई जोडे,’ उनले भने।

त्यति बेला खड्काले शितल गिरीको ‘पोखरा’ र राजेन्द्र थापाको ‘याद’ बोलको गीत प्रमोदको आवाजमा धौलागिरी म्युजिकमा रेकर्ड गराइसकेका थिए। ‘खरेलजी एल्बमको तयारीमा थिएँ, खड्काले सहकार्यको प्रस्ताव ल्याएँ,’ रेग्मीले भने।

त्यसपछि पाँच वर्षसम्म आर्थिक अधिकार तीन भागमा बाँडिने गरी सहमति भएको रेग्मी बताउँछन्। 

‘केही महिनाअघि खरेलजी मेरो कार्यालयमा आए। ‘पोखरामा’ बोलको गीत रिमिक्सको लागि सल्लाह भयो। उनलाई गीत रिमेक गर्न दिने तर, दुवैले एक अर्कालाई कपिराइट नलगाउने सहमति भयो। पछि खरेलजीले लगानीकर्ताको नैतिकतामाथि नै प्रश्न उठाए। त्यसपछि लगानीकर्ताको प्रतिलिपि अधिकारको माग गरेको हुँ,’ रेग्मीले भने। 

लगानीकर्ताको प्रतिलिपि ऐनले तोकिदिएको अधिकार कार्यान्वयन गराउने वातावरण बनाउन आफू कानुनी लडाइँ लड्न लागेको रेग्मी बताउँछन्। 

‘खरेलजी आन्तरिकरूपमा मिल्न चाहिरहेका छन्। उनीसँग मिले मेरो समस्या समाधान त हुने भयो। तर, संगीत क्षेत्रमा लगानीको विषयलाई लिएर प्रतिलिपि अधिकारले तोकेबमोजिम कार्यान्वयन त भएन नि,’ रेग्मी भन्छन्, ‘मैले पनि संगीत क्षेत्रमा गलत कार्य गरे हुँला। त्यसो प्रमाणित भए म कानुनी सजाय भोग्न तयार छु।’ 

अरु पनि आफ्नो कर्मको फल भोग्न तयार हुनुपर्ने उनी सुनाउँछन्। 

यस्तै, एल्बममा समावेश एकनारायण भण्डारीले लेखेको ‘कालो कोठी’ बोलको गीतको रचनाकारमा खरेलले आफ्नो नाम राखेको रेग्मीको भनाइ छ। उनले प्रष्ट्याए, ‘त्यति बेला लोकप्रिय सर्जक एकनारायण भण्डारीसँग मेरो राम्रो सम्बन्ध थिएन। त्यसैकारण खरेलजीले गीतमा आफ्नो नाम राख्ने प्रस्ताव गरे। मैले नि कुनै प्रतिक्रिया जनाइनँ।’ 

स्रष्टामाथि आफूले गरेको अन्यायको सजाय भोग्न तयार रहेको बताउँदै रेग्मी भन्छन्, ‘त्यति बेला संगीतकार महेश खड्काको नाममा एल्बम निकाल्ने कुरा थियो। मैले महेश खड्काको नाममाथि लगानी गरेको थिएँ।’ आफ्नो कारण स्रष्टालाई पर्न गएको असरको आर्थिक तथा नैतिक सजाय भोग्न तयार तयार रहेको रेग्मी बताउँछन्। 

‘त्यति बेला मैले हिसाबको लागि बोलाउँदा खरेलजीले मतलब गरेनन्। अहिले उनले हिसाब खोज्दै इमेल गरेका छन्,’ उनले सुनाए। 

एल्बमको आर्थिक पाटो सबै स्पष्ट रहेको रेग्मीको दाबी छ। ‘प्रतिलिपि अधिकारले लगानीकर्ता र प्रस्तोता दुवैलाई समान हक दिएको छ। दुवै जना आफ्नो हकको लागि कानुनी लडाइँ लड्ने हो। जे गर्छ कानुनले गर्छ,’ उनी भन्छन्। 

विवादले हामी दुवैलाई फाइदा नहुने रेग्मी बताउँछन्। ‘यो विषयमा बोल्दा खरेलजी र म दुवैलाई घाटा छ। यो विवादलाई निष्कर्षमा पुर्याउन अन्यन्त जरुरी छ, भोलि कुनै सर्जक, प्रस्तोता तथा लगानीकर्ताले आर्थिक अधिकारको विषयमा सृजनशील समय खेल फाल्न नपरोस्,’ उनी भन्छन्। 

के भन्छन् प्रमोद खरेल ?

गायक खरेल आफूमाथि लगाइएको आरोपको जवाफ कानुनबाटै खोज्ने भएकाले चुप लागेको बताउँछन्। यस विषयमा आफ्ना शुभचिन्तकलाई केही दिन धैर्य गर्न उनले अनुरोध गरेका छन्। ‘ममाथि जे–जे आरोप लगाइएको छ। त्यसको जवाफ कानुनले चाडै दिनेछ। र, सम्बन्धित स्रष्टाले पनि देलान्,’ उनी थप्छन्। 

विन्दवासिनीबाट आफूले आजसम्म एक रूपैयाँको हिसाब पनि नबुझेको उनको दाबी छ। ‘मैले कानुन अनुसार कुरा गरेको हुँ। अहिले म यो विषयमा थप बोल्न चाहान्न,’ उनले भने। 

केही दिनअघि मात्र विन्दवासिनीसँग गायक खरेलले आफ्नो हिसाब माग्दै चिठी लेखेका थिए। त्यसको प्रत्युतरमा रेग्मीले प्रमोदले हिसाब माग्दा आफू खुसी भएको र आर्थिक पारदर्शितामा प्रश्नचिन्ह खडा गर्न नपर्ने बताए। साथै उनले आफूले खरेललाई विगत नभुल्न सुझाव दिएका छन्। 

स्रष्टाले किन पाएनन् पैसा ?

उक्त एल्बममा समावेश भएका ८ गीतमध्ये  ‘यो मनले’, ‘मेरो देश’, ‘कालो कोठी’ बोलका गीत खरेलले लेखेका हुन्। तीमध्ये ‘मेरो देश’ र ‘कालो कोठी’ तथा विपिन किरणको ‘किन तिम्रो’ बोलको गीतमा उनकै संगीत छ। 

यस्तै, एल्बममा वरिष्ठ गीतकार राजेन्द्र थापाको ‘याद गर्न पनि’, शितल गिरीको ‘पोखरामा’ र डा. कृष्णहरि बरालको ‘कति माया’ र कृष्ण केसीको ‘गल्ती मेरै’ बोलको गीत समावेश छन्। 

तीमध्ये ‘पोखरामा’ र ‘याद गर्न पनि’मा महेश खड्काले संगीत भरेका छन् भने ‘गल्ती मेरै’मा हरि लम्सालको संगीत छ। एल्बममा समावेश बाँकी दुई गीतमध्ये खरेलको ‘यो मनले’मा जगदीश समाल र ‘कति माया’मा सुरेश गैरेको संगीत छ। 

एल्बमका गीतकार राजेन्द्र थापा आपसी समझदारीमा गीत दिएकाले आर्थिक कुरामा  गुनासो नभएको बताउँछन्।

यस्तै, संगीतकार महेश खड्का सर्जकलाई पन्छाएर गायक र लगानीकर्ताले आफ्नो दुनो मात्र सोझ्याउन नहुने बताउँछन्। ‘त्यति बेला सबैलाई चर्चामा आउन र व्यापार उकास्न ध्यान भयो,’ खड्का थप्छन्, ‘सम्झौता अनुसार सुवासले पनि आर्थिक हिसाब देखाएको छैन।’
त्यति बेला खरेलले पैसा दिन सक्ने अवस्था नभएका कारण सबैले सहयोगको रूपमा लिएको बुझाई खड्काको छ।

त्यसैगरी संगीतकार हरि लम्साल आफूले पारिश्रमिक लिएर काम गरेको बताउँछन्। 

अधिकांश स्रष्टासँग सहयोगको आधारमा एल्बम तयार भएकाले ‘पैसा पाइएन’ भन्नुमा तुक नभएको संगीतकार खड्का बताउँछन्। उनी भन्छन्, ‘पैसा सबैलाई चाहिन्छ। हिजो प्रमोदलाई हामी (स्रष्टा)ले गरेको सहयोग सायद उसले पनि भुलेको छैन होला।’ 

तर, अहिले पैसासँग जोडेर बदनाम गराउन खोज्नु ठिक नभएको उनको भनाइ छ। 

रेग्मी भने प्रमोदले स्रष्टाको पारिश्रमिक लिएर उनीहरूलाई नदिएकाले ‘ठग’ भएको बताउँछन्। ‘म पनि एक हिसाबले ठग हुँला, प्रमोदजी पनि ठग हुन्,’ उनी भन्छन्। 

साक्षी भन्छन्– सहयोग गरेको हुँ, अरु थाहा छैन 

गायक खरेल र विन्दवासिनीलाई जोड्ने व्यक्ति हुन्, संगीतकार खड्का। उनैले गायक खरेलको नाममा एल्बम निकाल्न सहयोग गरे। ‘मैले १६ वर्षअघि नै ‘पोखरामा’ भन्ने गीत तयार गरेर राखेको थिएँ। प्रमोदले म गाउँछु भनेर निकै अनुरोध गरेपछि उनलाई दिएको हुँ,’ खड्का थप्छन्, ‘विन्दवासिनीसँग त्यति बेला आधुनिक गीतहरू कम थियो। सुवासले पनि गीत मागिरहेको थियो। त्यसपछि मैले उनीहरूलाई भेटाएको हुँ। र, एल्बम निस्कियो।’

त्यति बेला प्रमोेदलाई सहयोग गरेको र उक्त गीतको पारिश्रमिक आजसम्म नपाएको खड्का बताउँछन्। ‘गीतकार शितल गिरीले  मलाई गजल बनाएदिन अनुरोध गरे, मलाई त्यो पोखरामा भन्ने गजल मन पर्याे,’ खड्का भन्छन्। 

त्यति बेला उक्त एल्बमको लागि आफूले बिनापारिश्रमिक काम गरेको खड्का बताउँछन्। ‘त्यति बेला मलाई विन्दवासिनीले दिएको सानिमा बैंकको चेक प्रमोदसँगै बैंक गएर साटेपछि उसैलाई दिएको हुँ,’ उनी भन्छन्।

अरु आर्थिक हिसाब आफूलाई थाहा नभएको खड्का बताउँछन्। 

एल्बममा संलग्न धेरै सर्जकले त्यति बेला प्रमोदलाई सहयोग गरेको खड्काको बुझाइ छ। ‘म सम्झौताको साक्षी पनि भएकाले लेनदेनमा पारदर्शी हुन र कानुनीरूपमा जो बलियो भए पनि दुवैले मिलेर सल्टाउनुपर्छ भन्ने चाहान्छु,’ उनी थप्छन्, ‘सम्झौता अनुसार मेरो पारिश्रमिक पनि लगानीमा नै गाभिएको छ। तर, मैले पैसा पाएको छैन।’ 

सधैं विन्दवासिनी म्युजिकले घाटामा मात्र रहेको सुनाउने गरेको उनी बताउँछन्। 

सम्झौतामा अन्य गीतकार र संगीतकारको अधिकारबारे नखुले पनि उनीहरूको हक बिर्सन नहुने खड्काको भनाइ छ। ‘त्यति बेला प्रतिलिपि अधिकार समग्रमा एकै जनामा राखिदिएको थियो,’ उनी भन्छन्। 

तर, सबैको हक प्रमोदले सुरक्षित गराउलान् भन्नेमा आफू आशावादी रहेको खड्का बताउँछन्।

सम्झौतामा के छ ?

सम्झौतामा संगीतकार, गायक र लगानीकर्ताबीच पाँच वर्षसम्म विन्दवासिनीको लगानी उठेपछिको नाफामा बराबर आर्थिक स्वामित्व रहने सर्त देखिन्छ। 

सम्झौतामा प्रमोद खरेलले गायकको हैसियतमा हस्ताक्षर गरेका छन्। संगीतकार खड्का र गायक खरेलले अन्य गीतकार र संगीतकारको आर्थिक अधिकारसमेत आफैले लिएका छन्।

त्यति बेला एल्बमको नामाकरण नभइसकेकाले एल्बमको नाम सम्झौतामा नरहेको रेग्मी बताउँछन्। गायक खरेलले गरेको दाबी सम्झौतामा नभएको रेग्मीको दाबी छ। गायक खरेल भने सम्झौता अनुसार आफ्नो अधिकार लिन अदालत जान पनि पछि नहट्ने बताउँछन्। 

आवश्यक थियो आर्थिक स्वामित्वको बहस 

अधिकांश संगीतकार तथा गीतकारको लगानीले नेपालको सांगीतिक क्षेत्र चलिरहेको प्रोड्युसर एसोसिएसनका अध्यक्ष बि पाण्डे बताउँछन्। ‘संगीत क्षेत्र व्यावसायिक हुँदै जाँदा रोयल्टी सहितको आर्थिक अधिकारको पक्ष सम्झौतामा स्पष्ट हुनुपर्छ,’ उनी थप्छन्, ‘सर्जक, प्रस्तोता तथा लगानीकर्ता सबैले सम्झौताका हरेक बुँदालाई स्पष्टसँग बुझ्नुपर्छ। प्रतिलिपि ऐन, करार ऐन पनि लागु हुनुपर्छ।’ 

आर्थिक स्वामित्व सम्झौतामा प्रष्ट हुँदा तीनै पक्ष (सर्जक, प्रस्तोता तथा लगानीकर्ता)लाई  फाइदा हुने उनी बताउँछन्। ‘हामीले हुर्काएका गायकहरू हाम्रै लगानीका गीतबाट लाखौं कमाउँछन्। हामी उनीहरूको गाडीको धुवाँले फोक्सो बिर्गाछौं मात्र !’ उनी भन्छन्। 

संगीतकार खड्का संगीत क्षेत्रमा लगानीकर्तालाई बचाउन लाग्नु पर्ने तर्क गर्दै भन्छन्, ‘संगीतमा लगानी गर्ने मान्छेलाई सबै संगीतकर्मीले कानुनतः बचाउनुपर्छ।’ 

सबै पक्ष सबल रहे मात्र संगीत क्षेत्रले प्रगति गर्ने उनी बताउँछन्। ‘कुनै एक पक्षको मनोमानी हुनुहुँदैन। पुराना सम्झौता नवीकरण हुनुपर्छ। कति गायकले लगानीकर्ता र  स्रष्टालाई आर्थिकरूपमा मारेका छन्, कति म्युजिक कम्पनीले स्रष्टा–सर्जकलाई सीमित स्वार्थमा लोभ्याएर लामो समयदेखि आर्थिक नाफा लिइरहेका छन्। अब तिनको पनि हिसाब हुनुपर्छ। सबै संगीतकर्मीमा पारदर्शिता हुनुपर्छ,’ खड्का भन्छन्। 

त्यस्तै, संगीतकार हरि लम्साल आर्थिक अधिकारको विषयमा कुरा गर्न कोही पनि हिच्किचाउन नहुने बताउँछन्। ‘संगीत साधनाका साथै पेशा पनि हो। हामीले आफ्नो  आर्थिक अधिकारको कुरामा सुरुवातमा नै स्पष्ट हुनुपर्छ,’ उनी थप्छन्, ‘कानुन कार्यान्वयन हुनुपर्छ। आर्थिक स्वामित्वको बहस चल्नु जरुरी थियो। कसैलाई हानी नहोस् र एउटा टुंगोमा पुगोस्। ताकि भोलिका दिनमा  आर्थिक स्वामित्वको विवाद नआओस्।’

मंसिर १६, २०७७ मंगलबार ११:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।