स्वास्थ्य मापदण्ड पूरा नगर्ने ठमेलको एलओडीसहित ६ वटा लाउन्ज कारबाहीमा
जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालको संयोजकत्वको अनुगमन समितिको अनुगमनमा ती लाउन्जहरूले स्वास्थ्य मापदण्ड पालना नगरेको देखिएपछि कारबाहीमा परेका हुन्।
अनुगमनका क्रममा दरबारमार्गको किङ्स लाउन्ज, ठमेल क्षेत्रका फरेनहाइट, प्ले ब्वाई, एलओडी, सिनेट गरी ६ वटा लाउन्जले मापदण्ड पालना नगरेको देखिएपछि अनुगमन टोलीले पहिलो पटक मापदण्डको पालना गर्न निर्देशन दिएको छ।
उनीहरूलाई मापदण्डको पालना गर्न निर्देशन दिनेबाहेक कारबाही भएको छैन। जिल्ला कोभिड संकट व्यवस्थापन सञ्चालन (डिसिसिएमसी) केन्द्रले जिल्लामा कोरोनाको अवस्था मूल्यांकन गरी कुन क्षेत्र कसरी सञ्चालन हुन दिने भन्ने निर्णय लिन सक्छ।
अनुगमन गर्ने जिम्मा पनि स्थानीय प्रशासनकै हो। मापदण्डको पालना नगर्ने व्यावसायीलाई मापदण्डको पालना गराउने, व्यवसाय बन्द गर्ने आदेश दिने, कारबाही तथा क्षतिपूर्ति भराउन आदेश दिने अधिकार अनुगमन अधिकारीलाई छ।
यस्तो छ मापदण्ड
रात्रिकालीन पर्यटन व्यवसाय संचालनसम्बन्धी स्वास्थ्य सुरक्षा मापदण्ड–२०७७ बनेको छ। पर्यटन व्यवसायलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै सञ्चालन गर्नका लागि सो मापदण्ड बनेको हो।
मापदण्ड अनुसार सेवाप्रदायकले भौतिक दूरी कायम गर्नुपर्ने हुन्छ। हात धुने, स्यानिटाइजरको प्रयोग गर्नुपर्ने हुन्छ। लाउन्ज तथा होटलजस्ता ठाउँमा प्रवेश गर्दा तापक्रम नाप्ने तथा रेकर्ड राख्नुपर्ने हुन्छ।
बाहिर तथा भित्रको परिसर, लाउन्ज, लबीजस्ता ठाउँमा स्यानिटाइज गर्नुपर्ने तथा डिसइन्फेक्ट गर्नुपर्ने हुन्छ। यस्ता व्यवसाय परिसर बिहान–बेलुका डिसइन्फेक्ट गर्नुपर्ने मापदण्ड छ। ग्राहक बस्ने ठाउँ तथा कोठामा चार–चार घण्टाको फरकमा डिसइन्फेक्ट गर्नुपर्ने हुन्छ।
एक मिटरको भौतिक दूरी कायम गर्नुपर्ने हुन्छ। सामान्य अवस्थाको क्षमताभन्दा ५० प्रतिशत मात्रै मानिसहरू जम्मा हुन पाइन्छ। भौतिक दूरी कायम गर्ने सम्बन्धमा पालना गर्नुपर्ने नियम सबैले सहजै हेर्न सक्ने गरी सूचना पाटीमा टाँस्नुपर्ने हुन्छ। डान्सर ग्राहकबीच न्यूनतम १ मिटर भौतिक दूरी कायम हुनुपर्छ।
हाछ्यू गर्दा तथा खोक्दा पनि स्वास्थ्य अनुसासन पालना गर्नुपर्ने हुन्छ। होटल, रेस्टुराँ तथा लाउन्जमा प्रयोग हुने भाँडाकुँडाजस्ता सामग्रीको सरसफाइमा ध्यान दिनुपर्ने हुन्छ। कपडा, तौलिया जस्ता लुगाकपडा सरसफाइ गर्नुपर्छ। स्टेज तथा डान्स फ्लोरको सरसफाइ डिसइन्फेक्सउन तथा स्यानिटाइजर गर्नुपर्ने हुन्छ।
कोरानाबाट बच्न यस्ता विभिन्न स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुपर्ने भए पनि काम गर्ने कर्मचारी त्यसप्रति जानकार नै नभएको अनुगमनमा खटिएका प्रशासनका एक कर्मचारीले बताए। यसबाट प्रस्ट हुन्छ की स्वास्थ्य सुरक्षाका मापदण्ड नै अपनाइएको छैन। तापक्रम नजाँच्ने तथा रेकर्ड नै नराख्दा कोराना संक्रमितको कन्ट्रयाक ट्रेसिङ निकै कठिन हुन्छ।
पुष १६, २०७७ बिहीबार २२:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।