दुर्घटनाले बदलिएको बाटो
चोट लागेपछि अस्पताल भर्ना गरिएका उनलाई चिकित्सकले चार महिना बेड रेस्ट गर्ने सल्लाह दिए। उनले दुई महिना त जेनतेन बिताए। तर, त्यसपछि उनलाई दिन बिताउनै सकस हुन थाल्यो।
समय बिताउन उनी इन्टरनेटबाट स्टोन आर्ट हेर्न थाले। त्यो हेर्दाहेर्दै उनी स्टोन आर्टप्रति मोहित भए। र, उनी स्टोन आर्ट गर्न थाले।
०००
‘मसँगै भाइलाई पनि चित्रकलामा रुचि थियो,’ उनी भन्छन्।
तर, परिवारको आर्थिक अवस्था राम्रो नभएकाले उनले एसएलसीपछि चित्रकला गर्न पाएनन्। र, भाइलाई पनि यसमा लाग्न जोड गरेनन्। ‘चित्रकलामा भविष्य छैन भनेर भाइलाई यसमा लाग्न जोड दिइनँ,’ उनले कारण खुलाए।
त्यसो त जीवनलाई सरकारी जागिरे हुने आफ्नो अपुरो सपना भाइले पूरा गर्छ कि भन्ने आस थियो।
‘परिवारको जिम्मेवारी थियो। त्यसैले पैसा कमाउनतिर बढी ध्यान भयो,’ उनी भन्छन्। स्नातकसम्मको औपचारिक पढाइ गरेका उनी घरको जेठो छोरा हुन्।
‘बुबाले चाडै यो संसार छाडे। आर्थिकरूपमा त्यति बलियो परिवार थिएन हाम्रो,’ उनी भन्छन्।
जीवन परिवारको जिम्मेवारी पूरा गर्न तीन पटकसम्म भारत हानिए। भारतमा डाटा इन्ट्रीको काम गरेका जीवनलार्ई आर्थिकरूपमा सबल बन्नु थियो। र, उनी साइप्रस उडे।
‘साइप्रस पनि धेरै समय बस्न सकिनँ,’ उनले भने। त्यहाँबाट उनी एक वर्ष नपुग्दै नेपाल फर्किए।
नेपाल फर्किएपछि के गर्ने भन्ने अन्योलमा केही समय रुमल्लिएका जीवनलाई पितापुर्खाले गरेको काम नै ठिक लाग्यो। र, आधुनिक तरिकाले खाद्यान्न पसल संचालन गर्न थाले।
‘भाइबहिनी पढ्दै थिए। पसलले आर्थिकरूपमा केही भरथेग गरिरहेको थियो। सबै राम्रो हुँदै थियो,’ उनले भने।
त्यसैबेला पिताको नाममा सद्मी छर्न जाँदा उनी दुर्घटनामा परे।
०००
‘गाडीले दुई सय बल्डयाङ खाँदा पनि बाँच्न सफल भएँ,’ उनले खुसी प्रकट गरे। आफूले धेरै काम गर्न बाँकी भएकाले नै बाँचेको जस्तो लाग्छ जीवनलाई।
जीवन दुर्घटनामा परेपछि उनका भाइ रिजोनले पसल र दाइलाई सम्हाले। आइटी पढ्दै गरेका रिजोनको पढाइमा व्यावहारिक पाटो उल्झन बनेर आइदियो।
‘दाइको दुर्घटनापछि मेरो पढाइ लथालिंग भयो,’ रिजोन भन्छन्, ‘अस्पताल र पसल जाँदै समय बित्न थाल्यो। दाइ असक्त हुँदा उहाँको बोझ थोरै भए पनि बुझ्ने मौका पाएँ।’
रिजोनको स्नातकोत्तर पढ्न विदेशिने सपना दाइको दुर्घटनासँगै सकियो।
यी दाजुभाइले पोखरामा तीन वर्षदेखि स्टोन आर्ट ग्यालरी संचालन गरिरहेका छन्। अब रिजोन व्यवसायसँगै आफ्नो पढाइ पूरा गर्ने सोचमा छन्।
०००
‘दुर्घटनाले म थलिएँ,’ जीवन भन्छन्, ‘एउटा हात जिनतिन चल्थ्यो, काम गरिरहने मान्छे, त्यतिकै बस्नै सकिनँ।’
उक्त दुर्घटनाले जीवनको जीवन परिवर्तन भयो। उनी भन्छन्, ‘नसोचेको जे हुन्छ नि, त्यही हो सायद जीवन।’ जीवनले आफू कलाकारितालाई व्यावसायिक बनाउँला भनेर कहिल्यै कल्पना गरेका थिएनन्।
‘समय कटाउन भाइलाई बगरबाट ढुंगा ल्याउन लगाएर स्टोन आर्ट गर्न थालें,’ उनले सुरुवाती दिन सम्झिए। सुरुमा आफूले ढुंगामा मान्छेको टाउको, आँखालगायत बनाएको उनी बताउँछन्।
‘हामीभित्रको कलाकार जिउँदै थियो। मौकाको पर्खाइमा रहेछौं भनौं न,’ उनले भने।
जीवनले स्टोन आर्ट बनाउँदै गर्दा रोजिनलाई पनि आर्कषित गर्यो। ‘दाइले स्टोन आर्ट गरेको देखेर मलाई पनि सिक्न मन लाग्यो,’ रिजोन भन्छन्, ‘त्यसपछि मैले दाइबाट सिक्न थालें।’
अहिले स्टोन आर्टमा आफूभन्दा भाइको धेरै चर्चा हुने गरेको जीवन बताउँछन्। ‘स्टोन आर्ट मभन्दा भाइले राम्रो गर्छ,’ उनी भन्छन्।
भाइको कलाले आफूले बधाइ खान पाउँदा जीवनलाई औधी खुसी लाग्छ। ‘अब यो पेशा भाइले सम्हाल्छ। म मार्ट र अन्य क्रियटिभ काममा खटिन्छु,’ जीवन थप्छन्, ‘मैले सुरुवात गरेको हुँ, यसलाई व्यावसायिक बनाएको भाइले हो।’
शून्य लगानीबाट गर्न सकिने व्यवसायमा आफूलाई केन्द्रित बनाउने सोचमा छन् जीवन।
‘समय कटाउन स्टोन आर्ट गरेपछि त्यसलाई साथीभाइले राम्रो छ भनेर तारिफ गर्न थाले,’ जीवन भन्छन् ‘भाइले पनि यससम्बन्धी रिसर्च गर्यो। त्यसपछि हामीले स्टोन आर्टलाई व्यावसायिक बनाउने आँट गर्यौं।’
‘शून्य लगानीबाट आम्दानी हुन्छ भने किन नगर्ने भन्ने पनि भयो,’ रिजोन थप्छन्, ‘कम खर्चमा युनिक आर्ट गर्न सकिन्छ भन्ने हामीलाई लाग्यो।’
त्यसपछि शून्य लगानीबाटै ‘नाम र दाम’ कमाउन सकिन्छ भन्ने निष्कर्षमा जिसी दाजुभाइ पुगे।
इन्टरनेटमा स्टोन आर्ट हेर्दै गर्दा रोजिनले ढुंगामा मौलिकता झल्कने विदेशी आर्ट देखे। त्यसपछि उनलाई आफ्नै देशको मौलिकता झल्कने आर्ट बनाउने इच्छा जाग्यो।
‘भाइले नेपालीपन झल्कने आर्ट बनाऊ भन्यो,’ जीवन थप्छन्, ‘पहिल्यैबाट व्यवसाय गरेकाले हामीलाई यो व्यवसाय संचालन गर्न कुनै समस्या भएन।’
त्यसपछि उनीहरूले पोखराको न्यूरोडस्थित दमकल मार्गमा ग्यालरी खोले। अहिले दाइभाइ पालैपालो मार्ट र ग्यालरीमा बस्छन्।
खोलामा पाइने सानाठूला ढुंगामा जिसी दाजुभाईले पैसा देखे। तर, त्यो ढुंगालाई पैसामा रूपान्तरण गर्न भने सजिलो नभएको उनीहरू सुनाउँछन्। ‘खोलामा ढुंगा खोज्न सजिलो छैन,’ रिजोन थप्छन्, ‘त्यसलाई घर ल्यााएर रिफाइन गर्नुपर्छ।’
रिफाइन गर्न ढुंगालाई सरफ पानीमा मजाले पखालेर घाममा सुकाउनुपर्ने रिजोन बताउँछन्।
‘ढुंगालाई रिफाइन गरेपछि त्यसकोे ओजिनल कलर आउँछ,’ जीवन थप्छन्, ‘सुरुसुरुमा ढुंगा चिन्नै गाह्रो हुन्थ्यो।’
तर, अहिले ढुंगा देख्नेबित्तिकै त्यसलाई कस्तो रूप दिन सकिन्छ भनेर भन्न गाह्रो नहुने जिसी दाजुभाइको अनुभव छ।
‘हामीले ढुंगामा सबै समुदायको मौलिकता झल्कने चित्र बनाउने कोसिस गरिरहेका छौं,’ रिजोन थप्छन्, ‘पञ्चेबाजा बजाएको, जन्ती गएको, मोईपारको, भारी बोक्दै गरेको लगायतका हाम्रो जनजीवनमा देखिने दृश्यलाई बढी फोकस गरिरहेका छौं।’
स्वदेशी ग्राहकको उत्साहजनक आकर्षणले आफूहरूलाई काम गर्न ऊर्जा थपेको जीवन बताउँछन्। उनी भन्छन्, ‘अफिसमा, घरमा सजाउन बढी हाम्रो उत्पादन बिक्री हुन्छ।’ उनी थप्छन्, ‘अर्डर अनुसार पनि काम गर्न थालेका छौं।’
जिसी दाजुभाइले मौलिकता झल्कने आर्ट बनाउने गरेका छन्। ‘ढुंगालाई कुदेर पनि हामीले आर्ट गर्न थालेका छौं।’
जिसी दाजुभाइ आफ्नो उत्पादनले विश्व बजारमा नेपालको प्रतिनिधित्व गरोस् भन्ने चाहन्छन्। ‘तर, यसमा टिकिराख्न गाह्रो छ,’ जीवन भन्छन्।
कलाकारितामा लाग्न र त्यसमा निरन्तरता दिन भने सजिलो नभएको उनको भनाइ छ। ‘मेरो वैकल्पिक व्यवसाय हुँदा त कोही बेला गाह्रो पर्छ,’ उनी भन्छन्।
त्यसैले कलाकारितामा लाग्ने मान्छेले साइड जब खोज्नुपर्ने जीवन बताउँछन्। ‘कलाकारिताबाट मात्र बाँच्न हाम्रो पुस्तालाई गाह्रो छ,’ जीवन थप्छन्, ‘तर, भोलिको पुस्तालाई भने कलाकारितामा भविष्य राम्रो छ।’
त्यसैले जीवन आफूले जानेको कला स–साना नानीबाबुहरूलाई स्कुल गएर सिकाउने योजनामा छन्।
जीवनलाई आफ्नो सीपले समाजमा आर्थिक रूपान्तरण ल्याउन सघाउँछ भन्ने विश्वास छ।
उनी समुदायस्तरमा पनि शून्य लगानीबाट गर्न सकिने उद्यमको सीप विकासमा लाग्ने योजनामा छन्। जीवन भन्छन्, ‘झण्डै मरेर पाको जीवन पो त, मेरो सीप हस्तान्तरण भएर एक जनाको घरमा मात्र चुल्हो बल्यो भने पनि मेरो लागि त्यो ठूलो उपलब्धि हो।’
पुष १५, २०७७ बुधबार ०७:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।