ओलीलाई गालि गरेरै सकियो दाहाल-नेपाल समूहको विरोध कार्यक्रम 

ओलीलाई गालि गरेरै सकियो दाहाल-नेपाल समूहको विरोध कार्यक्रम 
तस्विर : कृष्पा श्रेष्ठ

राजधानी काठमाडौको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा बरिष्ठ नेताहरुले ओलीको कार्यशैली र संसद विघटनको निर्णयको चर्को विरोध गरे। 

उनीहरुले ओलीलाई अधिनायकबादीको संज्ञा दिँदै संसद विघटन र कार्यशैलीको डटेर सामना गर्ने उद्घोष गरे। समग्रमा नेपाल पक्षको मंगलबारको कार्यक्रम ओली विरुद्धको कुण्ठा पोख्ने साझा मंच बन्न पुग्यो। सबै नेताको सम्बोधनमा एउटा पात्रको खेदो खन्नमै सिमित थियो। फरक यति थियो कि कुन नेताले कुन स्तरमा पुगेर ओलीको विरोध गरे भन्ने मात्र। 

दाहालको कुण्ठा

कार्यक्रममा सबैभन्दा बढि कुण्ठा दाहालको देखिन्थ्यो। दाहाललेले ओलीसँग सहकार्य गर्नु आफ्नो भुल भएको भन्दै पटकपटक कार्यक्रममार्फत माफि मागे।

उनले पार्टीमा कार्यकारी अध्यक्षको रुपमा रहँदासमेत ओलीले बोल्न नदिएको गुनासो सार्वजनिक रुपमै गरे। उनले ओलीको कार्यशैलीबारे परिचित रहेर जानिजानि विश्वास गर्दा ठूलो विश्वासघात गरेको सार्वजनिक रुपमा अभिव्यक्ति दिए। दाहालको कुण्ठाले उनी नेकपाभित्र ठूलै सकस बेहोरेर बसेका रहेछन् भन्ने बुझ्न गाह्रो थिएन।    

कार्यक्रममा सबैभन्दा बढि समय लिएर बोलेका प्रचण्डको हैसियत पार्टीमा कुन रुपमा रहेछ भन्ने बुझ्न कठिन थिएन। उनले ओलीलाई गणतन्त्रको विरोधीको संज्ञा दिँदै गणतन्त्र जोगाउन जिम्मा दिनु महाभूल भएको दाहोर्याएका थिए। 

दाहालले संसद विघटन भएका नभई ओली सरकार विघटन भएकोसमेत उनको  अभिव्यक्ति थियो। ओलीलाई विश्वास गर्दा ७० वर्षको बलिदानको उपलब्धि गुमेकोमा चिन्तित भएको अभिव्यक्ति उनको थियो। उनले ओलीलाई छिट्टै विश्वास गर्दा कल्पना नै नगरेको अवस्था आएको बताए। 

‘ओली विचारमा पनि स्खलित भइसके। उहाँ निरंकुश तानाशाहा हो। उहाँले देशलाई भड्खालोमा हाल्नुभयो’ दाहालको अभिव्यक्ति थियो।

पार्टी एकता र गठबन्धनलाई झण्डै दुई तिहाई मतसहित जनताबाट अनुमोदन भएको थियो। तीन वर्ष नवित्दै यस्तो दिन आउला भन्ने सोचेको थिँईन।’ उनले भने,‘तिनै ओलीको प्रतिगामी कदमको विरोधमा सडकमा आउनुपर्छ भन्ने सोचेका थिएनौँ। तर, विडम्बना यस्तो दिन आयो।’

संविधान बनाउने सबैभन्दा लोकतान्त्रिक विधि अपनाएर बनाइएको ७० वर्ष लामो उपलब्धिलाई ओलीले असंबैधानिक रुपबाट निर्मम प्रहार गरेको उनको भनाई थियो।

सर्वाेच्च अदालतबाट पुर्नस्थापनाको भरोसा भने बाँकी रहेको उनको भनाई थियो। ‘सहि फैसला गर्न जनताले गरेको सहजिकरणको रुपमा बुझिदिन अनुरोध छ।’उनले भने,‘यो आन्दोलनको ट्रेलर मात्रै हो। जन्ति आउनै बाँकी छ बाजा बज्नै बाँकी छ।’

नयाँ युग र समाजवादको आधार तयार गर्ने भरोसा गरेका थिए। आज नेपाली जनताको अगाडि यस्तो हालत देखियो। ‘हामीले प्राप्त भएको संविधान क्षमायाचना गर्न चाहन्छु।

मलाई थाहा त थियो ओली बयलगाढाको सिद्धान्त थियो। बयलगाढाबाला सिद्धान्त संघीयताको विरोधी हो भन्ने थाहा पाँउदा मैले विश्वास गरेको थिँए। तर,यति छिटो संविधानमाथि निर्मम होला भन्ने सोचेको थिँईन।’ उसो त काम विग्रिएपछि पश्चाताप गर्ने दाहालको पुरानै बानी हो।   

नेपालको छटपटि  

कार्यक्रममा सो पक्षका अध्यक्ष माधवकुमार नेपालको छटपटि पनि उस्तै थियो। उनले ओलीको चरित्र कम्युनिष्ट हुन लायकसमेत नभएको भन्ने सम्मको थियो। उनले ओलीलाई सुर्धान अझैँ अन्तिम मौका दिइएकोसमेत भन्न भ्याए।

‘ओलीमा कम्युष्टिको गुण नै छैन। उनलाई न पार्टीको मतलव छ, न अनुशासन न बैठक, कुनै कुराको मतलव छैन। मात्रै व्यक्तिगत लाभ छ।’ उनले ओलीलाई सुधार्न चाहेर पनि नसकिने ‘केपी ओलीलाई सुर्धान सकिन्छ कि भनेर अझै हामीले मौका दिएका छौँ।

बालुवाटारको वालुवा पेल्दा पेल्दा तेल निस्कन्छ कि ?’ हामीले ओलीले पश्चाताप गर्छन्। प्रतिनिधि सभा पुर्नस्थापनाको लागि अगाडि बढ्छन् भने अझैँ मौका दिएका छौँ।’ उनले भनेका थिए। 

संविधानमा प्रतिनिधिसभा विघटनको व्यवस्था नभएको नेपालको भनाई थियो। हिजोसम्म प्रतिगमनका कदमविरुद्ध आन्दोलन गर्दै आएकोमा केपी प्रवृत्ति र वंशको व्यक्तिबाद, अहंकार, संविधान र कानून मिच्ने प्रवृत्तिकाविरुद्ध आन्दोलनमा होमिनु विडम्बनापूर्ण रहेको उनको भनाई थियो। 

ओलीले जनतालाई ‘मान कम अपमान बढि,सुख कम दुख बढि दिएको नेपालको भनाई थियो।

‘हिजो राजतन्त्रलाई फाल्नका लागि सडकबाट सुनामिका निस्कन्थ्ये अहिले त्यही विडम्बनापूर्ण अवस्था आएको छ। उनले प्रतिनिधि सभा पुर्नस्थापना भएरै छाड्ने जिकिर गरेका थिए। 

झलनाथको गुनासो  

पूर्व एमाले अध्यक्ष तथा बरिष्ठ नेता झलनाथ खनालको गुनासो पनि उस्तै थियो। उनले पनि ओलीले विरोधमा धेरै शव्द खर्चिए। उनले ओलीले संविधानको हरण गरेको भन्दै ७० वर्षको बलिदान र त्याग र तपस्याबाट आएको संविधान ओलीले प्वाल पार्ने काम गरको उनको आरोप लगाए। 

जनताको बलिदानबाट तयार भएको संविधानलाई ओलीले आफु अनुकुल स्वार्थका लागि उपयोग गरेको खनालको अभिव्यक्ति थियो। 

आन्दोलनमार्फत संसद विघटनको असंसैधानिक कदम सच्याउन आन्दोलनलाई शसक्त बनाउने खनालको उद्घोष गरेका थिए।

‘जवसम्म संसद पुर्नस्थापना हुँदैन। संविधान ठिक ठाँउमा आँउदैन्। हामी आन्दोलनको आँधिवेहोरी ल्याएरै छाड्नेछौँ।’ खनालको आक्रोश ओलीलाई तह लगाएरै छाड्ने पक्षमा देखिन्थ्यो।  

सूर्य प्यारो, ओली अप्ठ्यारो !

विभाजनको औपचारीक घोषणा मात्र बाँकी रहेको पार्टीको आधिकारिकता नेकपाका दुवै पक्षलाई अहिले सूर्य चिन्ह प्रतिष्ठाको बिषय बनेको छ। नेपाल समूहले पनि मंगलबारको कार्यक्रममा सूर्य चिन्हसहित विरोध गरेको थियो। 

कार्यक्रममा सूर्य चिन्ह आफ्नो पक्षको भएको दाबी गरिएको थियो। ‘सूर्य चिन्ह कस्को भन्ने लाई हाम्रो जवाफ छ’ भन्दै कार्यकर्तालाई सूर्य चिन्हसहितको झण्डा प्रदर्शन गर्न लगाइएको थियो।  

प्रधानमन्त्री ओलीलाई अफ्ठ्यारो पात्रको रुपमा देखाइएकोमा सूर्य चिन्हलाई भने गुमाउनै नचाहेको प्यारो बस्तुको रुपमा प्रस्तुत गरिएको थियो। तर, यसबारेको आधिकारिक निर्णयको पर्खाई निर्वाचन आयोगको फैसलासँगै अन्त्य हुनेछ।

संयुक्त आन्दोलनको आह्वान 

नेपाल समुहले अबको अवस्थामा संयुक्त आन्दोलनको आह्वानसमेत गरेको छ। सो समूहका प्रवक्ता तथा संघर्ष समितिका केन्द्रिय संयोजक नारायणकाजी श्रेष्ठले संसद विघटन कदमविरुद्ध संयुक्त संघर्षको लागि आह्वान गरे। अब एक्लाएक्लै नभई संयुक्त रुपमा लड्नुपर्ने नेपाल पक्षले निष्कर्ष निकालेको छ। 

उनले कार्यक्रममार्फत प्रतिगामी कदमकोविरुद्ध कांग्रेस जसपालगायतका पार्टीसँग मिलेर संयुक्त आन्दोलन थाल्ने बताएका हुन्। सांसद पुर्नस्थापना नभएसम्म आन्दोलन जारी रहन्छ। जनता समाजवादी,नपाली कांग्रेससहित संयुक्त संघर्ष थाल्छौँ।

आन्दोलन शान्तिपूर्ण र मर्यादित हुनेछ।’ उनीहरुको मुख्य एजेण्डा र भरोसा सांसद पुर्नस्थापना नै देखिन्छ। नेपाल पक्षका नेताहरुले चुनावमा जाने सन्दर्भमा भने स्पष्ट देखिएनन्।

पुष १४, २०७७ मंगलबार २१:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।