के साँच्चै वीरेन्द्र प्रजातन्त्र प्रेमी थिए ?

के साँच्चै वीरेन्द्र प्रजातन्त्र प्रेमी थिए ?

उनलाई प्रजातन्त्र प्रेमी भनिरहनुको कारण ०४६ मा जनआन्दोलन चर्कँदा पनि संवैधानिक राजतन्त्र स्वीकार नगर्न तत्कालीन रानी ऐश्वर्या लगायतकाले दिएको दबाब अस्वीकार गर्नुलाई लिने गरिन्छ।

आज पुस  १४। उनको ७५ औँ जन्मदिन। राजतन्त्रप्रति आस्था नराख्नेले पनि वीरेन्द्रलाई सम्झिए। वीरेन्द्रको सालिक रहेका स्थानहरूमा साना कोणसभाहरू भए। त्यस्तै एक समूह लगनखेलमा रहेको वीरेन्द्रको सालिकनिर भेला भएर उनको सम्झना गर्दै प्रजातन्त्रप्रेमी राजा भन्दै उनको सम्झना गरिरहेका थिए।

के साँच्चै वीरेन्द्र प्रजातन्त्र प्रेमी नै थिए ?

नेपाली सेनाका पूर्वउपरथी तथा वीरेन्द्रका तत्कालीन एडिसि टिका धमलाले वीरेन्द्रलाई समयानुकूल प्रजातान्त्रिकता चाहने राजाको रूपमा स्मरण गरे। उनले अहिलेको राजनीतिक खिचलोप्रति सङ्केत गर्दै भने‘ राजा वीरेन्द्र भएको भए मुलुक यो अवस्थामा गुज्रिनु नै पर्दैनथ्यो।’

इतिहासकार दिनेशराज पन्त पनि उनलाई प्रजातन्त्रप्रेमी भन्न नमिल्ने ठाउँ देख्दैनन्। उनले भने‘ उनलाई समग्रमा शान्तिप्रेमी र प्रजातन्त्रप्रेमी भन्न नमिल्ने ठाउँ म देख्दिन।’  

विश्लेषक सुजित मैनालीको दृष्टिकोण भने भिन्न आयो वीरेन्द्रलाई हेर्ने सवालमा। वीरेन्द्रले प्रजातन्त्र पुनर्स्थापनामा गरेको ढिलाइका कारण नै अहिलेको अवस्था आएको र देश विकासमा पछि परेको उनको तर्क छ।

प्रजातन्त्रवादी आस्था राख्थे

दिनेशराज पन्त, इतिहासकार

मैले पहिले राजा वीरेन्द्रलाई २०४८ मा भेटेको थिएँ। कुनै बिन्ति पत्र चढाएर भेट गरेको थिँईन। उनैले बोलाएका थिए। दसैँताका भएको त्यो भेटमा मैले ठुलाबडाको जस्तो दम्भ अनुभव गरिन्न। त्यो भेटमा नेपालको इतिहासबारे चासो राखेका थिए।  

२०३६ सालको जनमत सङ्ग्रह र २०४६ को आन्दोलनमा पनि सरलताका साथ छोडिदिएका हुन्। उनका क्रियाकलाप र छोड्नुमा आन्दोलनको प्रभाव पनि होला। तर,टेर्ने स्वभावले पनि परिवर्तनलाई स्वीकार गरेको बुझ्न सकिन्छ। 

दरबार हत्याकाण्ड इतिहासमा अनुसन्धानको पाटो होला। तर,उनको शान्तिप्रिय स्वभाव र प्रजातन्त्रवादी आस्थाकै कारण एउटा इतिहासको अन्त्य भएको बुझ्न सकिन्छ। उनलाई समग्रमा शान्तिप्रेमी र प्रजातन्त्रप्रेमी भन्न नमिल्ने ठाउँ म देख्दिन।  

 

प्रजातन्त्र वीरेन्द्रले दिएका हैनन्, जनताले लडेर ल्याएका हुन्

सुजित मैनाली,विश्लेषक 

२०२८ मा राजा महेन्द्रको निधन भयो। त्यसपछि २०४६ सम्म निर्दलीय व्यवस्था नै रह्यो। वीरेन्द्र प्रजातन्त्रवादी हुन्थे भने त आन्दोलनविना नै प्रजातन्त्रको पुनर्स्थापना हुन्थ्यो। 

उनी प्रजातान्त्रिक हुन नचाहेर नै २०३६ को जनमत सङ्ग्रहदेखि  २०४६ सम्मको आन्दोलन भएको हो। उनले चाहेर प्रजातन्त्र आएको होइन। उनी प्रजातन्त्रवादी हुन्थे भने आन्दोलन नगरी प्रजातन्त्र स्वात्त दिन्थे। प्रजातन्त्र त जनताले लडेर ल्याएका हुन्। 

 

 

 

मौलिक प्रजातान्त्रीकरण चाहन्थे

टिका धमला,नेपाली सेनाका पूर्वउपरथी तथा वीरेन्द्रका एडिसि

राजा वीरेन्द्र विशेष गरी नेपालको समग्र विकास चाहने राजा थिए। जातजाति भाषा, धर्म,संस्कृति सबैमा विकास चाहने राजा। उनले कसैलाई काखा र कसैलाई पाखा गरेनन्। सबै क्षेत्रमा समावेशिता चाहेका थिए। 

उनले समयानुकूल प्रजातान्त्रीकरण चाहेका थिए। क्षेत्रीय राजनीतिको दृष्टिकोणलाई अन्तर्राष्ट्रिय दृष्टिकोणसँग मेल खाने किसिमको आफ्नै प्रजातान्त्रीकरण उनको चाहना थियो। 

माओवादी विद्रोह सुरु भएसँगै त्यति वेला माओवादीलाई मारेर समस्या समाधान हुँदैन भन्ने मान्यता राखेका थिए राजा वीरेन्द्रले। माओवादी पनि नेपाली हुन् र नेपालीलाई मारेर समस्या समाधान हुँदैन भन्ने मान्यता उनको थियो। यस्तो मान्यता राख्दा उनलाई तत्कालीन उच्च नेतृत्वले ‘दरबारले माओवादी पालेको’ भन्ने आरोप समेत लगाएका थिए। उनी माओवादी जन्मनुको कारण पत्ता लगाएर समस्या समाधान गर्नुपर्छ भन्ने मान्यता राख्थे। 

२०३८ जेठदेखि २०५८ जेठ १९ को दरबार हत्याकाण्ड भएको दिनसम्म अभिछिन्न रूपमा  राजा वीरेन्द्रसँग रहे। त्यति वेला पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका गाउँ बस्तीसम्म क्षेत्रीय भ्रमण हुन्थे। यस्ता भ्रमणका क्रममा उनी असहायलाई प्रत्यक्ष भेटेर उनीहरूका समस्याबारे चासो राख्थे।

यस्तै एउटा घटना म स्मरण गर्छु। क्षेत्रीय भ्रमणका क्रममा हेटौँडा सवारी क्याम्पमा चेपाङसँग समस्या बुझेर नेपाली सेनामा उपस्थिति नरहेको पाएपछि १८–२० जना योग्य चेपाङलाई सेनामा भर्ती गराएका थिए। यससँगै सेनामा समावेश नभएका अन्य जातजातिलाई सेनामा प्रवेश गराएर समावेशी बनाएका थिए।  

 

पुष १४, २०७७ मंगलबार १८:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।