मुख्यमन्त्री शाहीकै अगुवाईमा सरकारविरुद्ध प्रदर्शन

मुख्यमन्त्री शाहीकै अगुवाईमा सरकारविरुद्ध प्रदर्शन

ओलीको असंवैधानिक कदमकाविरुद्ध पुष्पकमल दाहाल र माधव नेपाल समूहले मंगलवार कर्णाली प्रदेशका सबै जिल्लामा विरोध प्रदर्शन गरिएको हो। 

मुख्यमन्त्री शाही विरोध प्रदर्शनमा सहभागी हुन प्रदेश राजधानी सुर्खेतबाट गृह जिल्ला कालीकोट पुगेका छन्।

मान्ममा आयोजित विरोध सभामा नेकपा विभाजनको संघारमा पुगिसकेको बताए। उनले प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकार ढाल्ने षड्यन्त्र गरेको आरोप लगाए। प्रधानमन्त्रीकै कारण मुलुक संकटमा फसेको भन्दै उनले अब पार्टीको कित्ता छुट्याउनुपर्ने बताए। 

यता संसद विघटनको विरोधमा सुर्खेतमापनि दाहाल–नेपाल समूहले प्रदर्शन गरेका छन्। सुर्खेतको विरोधसभामा नेकपाका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री ओेलीले राष्ट्रघात गरेको आरोप लगाइन्। ओलीले देशलाई अस्थितरतातर्फ धकेलेको भन्दै उनले कसैलाई कसैलाई फाइदा नहुने बताइन्।

सरकारले प्रतिनिधिसभा विघटन गरेर संवैधानिक ‘कु’ गरेको आरोप उनले लगाइन्। प्रधानमन्त्रीले बहुमत भएको संसद विघटन गर्नु संविधानलाई मिचेर राष्ट्रघात गरेको उनको भनाइ छ। 

ओलीले व्यक्तिगत शासन लगाउन खोजेको भन्दै झाँक्रीले त्यसकाविरुद्ध आफुहरु लडिरहने बताइन्। उनले प्रधानमन्त्री ओलीले जनतामाथि खेलवाड गरेको भन्दै कुनैपनि हालतमा असंवैधानिक कदम चाल्नेलाई नछोड्ने चेतावनी दिइन्। 

कार्यक्रममा प्रदेशसभा सदस्यहरु सीता नेपालीलगायतले सरकार संसद विघटन गर्दा मुलुक अस्थिरतातर्फ गएको बताए। वीरेन्द्रनगरको मंगलगढी चौकबाट शुरु भएको विरोध ¥याली बजार परिक्रमापछि पीपल चौतारामा सभामा परिणत भएको थियो।
 

पुष १४, २०७७ मंगलबार १७:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।