चलचित्र फ्लोरमा लैजान हतारिएका छैनन् निर्देशक
कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीका कारण निर्देशकहरू चलचित्र फ्लोरमा लैजान नहतारिएका हुन्।
कमेडी जनराको चलचित्र ‘तीन जुङ्गे’ माघ तेस्रो साताबाट छायांकन हुने भएको छ। चलचित्रका निर्माता तथा निर्देशक पुरन थापाले छायांकनको सबै तयारी भइसकेको जानकारी दिए। काठमाडौं तथा पोखरा आसपासमा चलचित्रको छायांकन गरिने उनले सुनाए।
यस्तै, चलचित्र ‘गोर्खा वारियर’, ‘चिलगाडी’ र ‘चिसो मान्छे’ फागुनदेखि छायांकन गरिने भएको छ।
‘गोर्खा वारियर’का निर्देशक मिलन चाम्स तत्काल कोरोना भाइरस संक्रमणको जोखिम कम नभएकाले फागुनबाट चलचित्रको छायांकन गर्ने तयारीमा रहेको बताउँछन्। उनले देशका पूर्वी क्षेत्रबाट छायांकन थाल्ने योजना बनाए पनि तय नभइसकेको बताए।
यस्तै, ‘चिलगाडी’ निर्माता रघुनाथ सापकोटा पनि फागुनबाटै छायांकन थाल्यो योजना रहेको बताउँछन्। ‘केही महिनाअघि नै ‘चिलगाडी’को छायांकन गर्ने योजना थियो। तर, समय अनुकूल नहुँदा काम गर्न सकिएन,’ उनले सुनाए।
यसैगरी, ‘चिसो मान्छे’का निर्देशक दीपेन्द्र के खनाल फागुन पहिलो साता बाजुराबाट छायांकन थाल्ने तयारी भइरहेको बताउँछन्।
केही भने अर्काे वर्ष मात्रै छायांकन थाल्ने तयारीमा छन्। निर्देशक नेपाल अर्काे वर्ष छायांकन थाल्ने योजनामा रहेको सुनाउँछन्। उनले भने, ‘लकडाउनमा एउटा चलचित्र लेखेको छु। उक्त चलचित्रको सबै काम सकिए पनि छायांकन भने अर्को वर्ष गर्ने योजना छ।’
कोरोना संक्रमणको महामारीका कारण झण्डै साढे ८ महिनादेखि चलचित्र छायांकनमा लगाइएको प्रतिबन्ध अघिल्लो साता फुकुवा गरिएको हो।
‘स्वास्थ्य मापदण्ड पालना हुन्छ’
चलचित्र छायांकन गर्दा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने निर्देशकहरू बताउँछन्।
चलचित्रको छायांकन थाल्नुअघि कलाकार, प्राविधिक तथा अन्य कर्मचारीको पिसिआर परीक्षण अनिवार्य गरिने ‘गोर्खा वारियर’का निर्देशक चाम्स बताउँछन्। छायांकन स्थलमा कलाकार र प्राविधिकलाई मास्क अनिवार्य गराइने उनले जानकारी दिए। उनले भने,‘डब्लुएचओको सुरक्षा मापदण्ड अनुसार नै चलचित्रको छायांकन गर्नेछौं।’
चलचित्र ‘चिसो मान्छे’का निर्देशक खनाल पनि कोरोना संक्रमणबाट जोगिँदै छायांकन थालिने बताउँछन्।
पुष १४, २०७७ मंगलबार ०८:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।