कोरोनालाई पर्वाह नगर्दै खुले विद्यालय, जोखिममा बालबालिका
तर, जिल्लाका अन्य विद्यालय कोरोना जोखिमलाई बेपर्वाह गर्दै खुलेका छन्। त्यसो त ललितपुर मात्रै होइन, देशभरका विद्यालय सञ्चालन गरिएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा देशभरका ७७ वटै जिल्लामा विद्यालय खुलेको बताउँछन्। ‘जिल्लागतरूपमा विद्यालय खुलेका छन्। पालिकागतरूपमा नखुलेका हुन सक्छन्। कतिपयको मोडालिटी पनि फरक हुन सक्छ,’ उनी भन्छन्।
नेपाल अभिभावक संघका अध्यक्ष शुप्रभात भण्डारी शिक्षा मन्त्रालयले कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)लगायत अन्य सरोकारवालासँग छलफलै नगरी ‘विद्यालय सञ्चालन कार्यढाँचा’ ल्याउँदा यो अवस्था आएको बताउँछन्।
‘यस्तो संवेदनशील विषयमा मन्त्रालयले सल्लाह नै नगरी स्थानीय तहलाई विद्यालय सञ्चालनको अनुमति दिने गरी कार्यढाँचा जारी गर्ने निर्णय लियो,’ उनले भने।
त्यसपछि स्थानीय तहले स्वास्थ्यको प्रोटोकल कायम गरेर पढाउन सकिन्छ भन्ने बुझाइका आधारमा धमाधम विद्यालय सञ्चालनको अनुमति दिएको उनको भनाइ छ।
मन्त्रालयले गत कात्तिकमा ‘विद्यालय सञ्चालन कार्यढाँचा’ जारी गरेको हो। कार्यढाँचामा स्थानीय तहलाई विद्यालय सञ्चालन, बन्द र पुनः सञ्चालन गर्ने निर्णयको अधिकार दिइएको छ।
कोरोना संक्रमणको जोखिमको ख्यालै नगरी विद्यालय सञ्चालनको अनुमति दिँदा खतरा झन् बढेको छ।
त्यसो त यो बेला विद्यालय खोल्नु जोखिमलाई निम्तो दिनुजस्तै भएको जनस्वास्थ्यविद् बताउँछन्। जाडो मौसममा संक्रमण फैलने र बालबालिकामा समस्या देखिने सम्भावना बढी रहेको उनीहरूको भनाइ छ।
जनस्वास्थ्यविज्ञ डा. रविन्द्र पाण्डे फागुनदेखि विद्यालय सञ्चालन गर्न उपयुक्त हुने बताउँछन्। ‘पहाडी र हिमाली जिल्लामा विद्यार्थी कम छन्। त्यहाँ चौरमा राखेर पनि मापदण्ड पालना गरेर पढाउन सकिने अवस्था छ,’ उनी भन्छन्, ‘तर, उपत्यकाजस्तो जनघनत्व बढी भएका क्षेत्र र भारतसँग सीमाना जोडिएका जिल्लामा संक्रमणको जोखिम कायमै छ।’
बसमा विद्यार्थी ल्याउँदा–लैजाँदा, प्रार्थना गर्दा, क्यान्टिन, शौचालय प्रयोग गर्दा पनि संक्रमणको जोखिम रहेको उनको भनाइ छ।
संघ अध्यक्ष भण्डारी शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द भएको अवस्था पनि रहेको बताउँछन्।
त्यसो त विद्यालयले स्वास्थ्य मापदण्ड पालनामा बेवास्ता गर्ने गरेको पाइएको छ। काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन स्वास्थ्य सुरक्षाका मापदण्ड व्यवहारमा नै लागू नगरी विद्यालय खोल्दा बालबालिकामा कोरोना संक्रमणको जोखिम हुने बताउँछन्। शिक्षक तथा कर्मचारी संक्रमित भए बालबालिकामा पनि संक्रमणको जोखिम हुने उनको भनाइ छ।
‘अध्ययन अनुसार विद्यालयका कर्मचारी तथा साथीभाइबाट बालबालिकामा कोरोना सरी परिवारमा समेत संक्रमण भएको पाइन्छ,’ उनी भन्छन्। यसतर्फ सबै सचेत हुनु पर्ने उनको सुझाव छ।
डा. पुन स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन र बालबालिकालाई राम्रोसँग हेरचाह गर्न सकिने अवस्थामा मात्रै विद्यालय सञ्चालन गर्न उचित हुने सुझाव दिन्छन्।
जनस्वास्थ्यविद् पाण्डे उपत्यकामा बस सेवा सञ्चालन गर्ने विद्यालयले बसको स्यानिटाइज, चालक र सहचालकको कोरोना परीक्षण, बालवालिकालाई दूरी कायम गराउन कठिनाइ हुने अवस्था रहेकाले सम्भव भएसम्म वैकल्पिक विधि अपनाउन सुझाउँछन्।
मन्त्रालयका प्रवक्ता शर्मा भने स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय सञ्चालन गरिएको दाबी गर्छन्। ‘स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्ने हो,’ उनी भन्छन्, ‘कसरी सञ्चालन गर्ने भन्नेमा स्थानीय तह स्वतन्त्र छन्।’
उपत्यकाका तीन स्थानीय तहले दिएनन् अनुमति
उपत्यकाका तीन स्थानीय तहले विद्यालय सञ्चालनको अनुमति दिएका छैनन्। कोरोना संक्रमणको जोखिम कायम रहेको भन्दै काठमाडौंको काठमाडौं महानगरपालिका तथा नार्गाजुन नगरपालिका र भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाले विद्यालय खोल्ने अनुमति दिएका छैनन्।
शिक्षा विकास समन्वय इकाई, काठमाडौंका अनुसार जिल्लाका ९ स्थानीय तहमा विद्यालय सञ्चालन भएका छन्। जिल्लामा एक हजार चार सय १४ विद्यालय छन्।
ललितपुरका भने सबै स्थानीय तहले विद्यालय खोल्ने अनुमति दिएका छन्। ललितपुरमा एक सय ८० सामुदायिक र झण्डै चार सय संस्थागत (निजी) विद्यालय छन्।
शिक्षा विकास समन्वय इकाई, ललितपुरका निमित्त कार्यालय प्रमुख सुरेन्द्र भट्ट जिल्लाका सबै स्थानीय तहले विद्यालय सञ्चालनको अनुमति दिएको बताउँछन्।
त्यस्तै, भक्तपुरका भक्तपुर, चाँगुनारायण र सूर्यविनायकले विद्यालय सञ्चालन गरिरहेका छन्। कतिपय विद्यालय वैकल्पिक विधि अपनाएर सञ्चालन भइरहेको भट्ट बताउँछन्।
जिल्लामा सामुदायिक र निजी गरेर दुई सय ७५ विद्यालय छन्। मध्यपुर ठिमी नगरपालिकाले भने वैकल्पिक विधिबाट पठनपाठन गर्ने निर्णय गरेको छ।
काठमाडौं महानगरले माघपछि निर्णय गर्ने
काठमाडौं महानगरपालिकाले माघपछि अवस्था हेरेर विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। महानगरको शिक्षा विभाग प्रमुख नमराज ढकाल विज्ञ र सरोकारवालाहरूसँगको छलफलपछि यस्तो निर्णय लिएको बताउँछन्।
यस्तै, ललितपुर महानगरपालिकाले भने विद्यालयको अवस्था मूल्यांकन गरेर अनुमति दिएको जनाएको छ। ललितपुर महानगरका शिक्षा शाखा प्रमुख महेन्द्र क्षेत्री सामुदायिक र केही निजी विद्यालय सञ्चालनमा आएको बताउँछन्। ‘व्यवस्थापन समिति र अभिभावकले विद्यालय सञ्चालन गर्न सक्ने आधार देखे वडाले अनुमति दिन्छ। हामीले जबरजस्ती निर्देशन दिएको होइन। अनुकूलता हेरेर सञ्चालनको बाटो खोलेका हौं।’
संक्रमणको अवस्था
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आइतबारसम्म नेपालमा संक्रमितको संख्या २५ लाख ८१ ह्जार आठ सय ११ पुगेको छ। जसमध्ये जन्मेदेखि १० बर्ष उमेर समूहसम्मका ६ हजार एक सय ९८ छन्। साथैै ११ देखि २० वर्ष उमेर समूहमा १६ हजार आठ सय ४० संक्रमित भएको देखिन्छ। मन्त्रालयको तथ्यांक अनुसार अनुसार आइतबारसम्ममा २३ हजार ३८ जना संक्रमित भएको देखिन्छ।
पुष १४, २०७७ मंगलबार ०६:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।