अलमलमा पार्यो काँग्रेसले : विरोध सभा कि चुनावी प्रचार !
विरोध सभालाई सम्बोधन गर्न केन्द्रबाट समेत क्षेत्र–क्षेत्रमा पार्टी सभापति शेरबहादुर देउवादेखि रामचन्द्र पौडेलसम्मका नेताहरू खटिए।
प्रमुख प्रतिपक्ष दलको हैसियत पाएपछि लामै समय काँग्रेस निष्क्रिय भएको थियो। कोरोनाकालले प्रर्दशन हुन सकेन। सोमबार काँग्रेस कार्यकर्ताहरूका लागि उत्साहको दिन पनि थियो। कतै नाचगान समेत चल्यो केही क्षेत्रमा।
तर नेताहरूको सम्बोधनको भाषा संविधान विपरीत गरिएको संसद् विघटनको विरोध भन्दा पनि चुनाव प्रचारको झल्को दिने खालको थियो।
कोटेश्वरमा आयोजित विरोध सभामा बोल्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले त मञ्चबाट ‘रुख चिन्हमा मतदान गर्नुहोस्। काँग्रेसलाई विजय गराउनुहोस्’ भन्दै भोटै मागे। उनले भने‘ कम्युनिस्ट सरकारले धोका दियो अब काँग्रेसलाई भोट हाल्नुहोला।’ उनले चुनाव प्रचार शैलीलाई निरन्तरतादिँदै तीन वर्ष अघि ओलीले बाँडेको सपना दुर्गतिमा परिणत भएको भन्दै आफ्नो पार्टीलाई भोट दिए जनताको सपना पूरा गर्ने दाबी समेत गर्न भ्याए।
काँग्रेसको केन्द्रीय समितिले विरोध प्रदर्शनको निर्णय गर्दा ओलीको संविधान विपरीतको कदमको विपक्षमा विरोध सभा गर्ने भनिएको थियो।
तर अधिकांश क्षेत्रका विरोध सभामा सम्बोधन गर्ने काँग्रेस नेताहरू संसद् पुनर्स्थापना भन्दा मध्यावधि निर्वाचनको मुडमा देखिए। त्यसैको सङ्केत थियो शर्माको सम्बोधन।
विरोध सभालाई सम्बोधन गर्न नवलपुर पुगेका काँग्रेस महामन्त्री शशाङ्क कोइरालाले पनि भोट मागे। उनले काँग्रेसले मात्रै देशमा परिवर्तन ल्याउन सक्ने दाबी गर्दै आगामी निर्वाचनमा आफ्नो पार्टीलाई भोट हाल्न अनुरोध गरे।
उनले भोट मागे पनि वैशाख १७ र २७ गते प्रधानमन्त्री ओलीले चुनाव गर्नेमा भने विश्वास नलागेको बताए। महामन्त्री डा. कोइरालाले भने,‘ओली सरकारले चुनाव गर्दैन जस्तो लाग्छ । तर, उनलाई हाम्रोतर्फबाट प्रेसर भइहाल्छ ।’
काठमाडौँ क्षेत्र नम्बर पाँचको विरोध सभामा सम्बोधन गर्न पुगेका काँग्रेसका सह–महामन्त्री डा. प्रकाश शरण महतले सर्वोच्चले संसद् पुन स्थापनको निर्णय गरे पनि कम्युनिस्टले ठिक ढङ्गले सरकार चलाउन नसक्ने तर्क गर्दै भने,‘यदि सर्वोच्चले पुरस्थापना गर्यो भने पनि दुई वर्ष कम्युनिस्ट शासन हामीले बेहोर्नुपर्ने अवस्था छ । त्यो पनि हाम्रो लागि राम्रो कुरा हैन। चुनावमा गयो भने काँग्रेसको जित निश्चित छ।’
उनले संसद् विघटन भएको अवस्थामा ओली सरकारले चुनाव गर्छ की गर्दैन भन्ने काँग्रेसको चासो र चिन्ताको विषय भएको बताउँदै चुनाव हुनेमा पनि शङ्का गरे। उनले भने‘ संसद् विघटन भयो भने वैशाखमा चुनाव गर्नपर्छ। चुनाव नगराई सत्तामा बस्न खोजे भने काँग्रेसले निर्वाचन गराउन बाध्य बनाउँछ।’ महत विरोध सभामा सम्बोधन गर्न गएको क्षेत्रमा गत निर्वाचनमा पराजित भएका थिए।
तनहुमा सम्बोधन गर्न पुगेका काँग्रेस नेता रामचन्द्र पौडेल विघटित प्रतिनिधि पूर्नस्थापनाको माग गर्ने कि चुनावको प्रचार गर्ने अन्यौलता झैँ देखिए। पौडेल पनि २०७४ को निर्वाचनमा तनहुँमा पराजित भएका थिए।
०००
‘आज प्रतिनिधि सभा विघटन भयो । फेरी चुनाव हुन्छ भन्ने भए त हुन्थ्यो । चुनाव नै नहुने भयो भने के हुन्छ ? उनले भने’
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको पक्षमा फैसला गरिदिएको खण्डमा ओली सरकारले कतै चुनावै नगराउने पो हुन् की भन्ने उनले शङ्का थियो।
उनले संविधानको भावना बुझिदिन सर्वोच्चका न्यायमूर्तिसँग अनुरोध गरे। आफूले संसद् विघटन नगर्न राष्ट्रपतिलाई अनुरोध गरेको भए पनि राष्ट्रपतिले नमानेको पौडेलले खुलाए पनि । उनले भने ‘मैले थाहा पाउने बित्तिकै राष्ट्रपतिलाई अनुरोध गरेको थिए। तर प्रतिनिधि सभा भङ्ग भयो।’
नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले प्रधानमन्त्री ओलीको सरकार तानासाही भएको भएको भन्दै टुलुटुलु हेरेर नबस्ने दाबी गरे। सिंहले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ नयाँबानेश्वरमा सम्बोधन गर्दै ओली सरकारलाई संसद् विघटन गर्ने अधिकार नभएको जिकिर गरेका थिए।
‘लोकतन्त्र बचाउन र विकासका लागि कांग्रेसलाई विश्वास गर्नुपर्ने सिंहको तर्क थियो ।’
उता भक्तपुर क्षेत्र नम्बर २ मा आयोजित विरोध सभामा सम्बोधन गर्न पुगेका पार्टी सभापति शेरबहादुर देउवाले भने न चुनावी शैली निकाले न त प्रतिनिधि सभा पूर्नस्थापनाकै माग गरे।
उनको सिधा सिधा कुरा थियो‘अदालतले जे गर्छ काँग्रेसले त्यही स्वीकार गर्छ। यो गर, त्यो गर भनेर दबाब दिँदैन।’
बिरानगर पुगेका काँग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले निर्वाचनमा जानु परेको अवस्थामा पनि काँग्रेस तयार रहेको बताएर संसद् पूर्नस्थापनाको मागलाई समेत नछाडेको सङ्केत गरे।
संसद् पूर्नस्थापनाको पक्षमा खरो धारणा राख्दै आएका काँग्रेस नेता गगन थापाले नेपालगन्ज पुगेर ओली सरकारले जनमतको अपमान गरेको बताए। अन्य क्षेत्रमा सम्बोधन गरेका काँग्रेस नेताहरूको सम्बोधनको शैली पनि माथि उल्लेख गरेको भन्दा फरक थिएन। कसैले खुलेरै भोट मागे, कसैले चुनाव भयो भने अब चैँ रुखमै मतदान गर्नु है भन्ने आशयको भाषण गरे।
पुष १३, २०७७ सोमबार २१:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।