फिल्म हल सञ्चालन अनुमति : प्रशासन र चलचित्र संघको आ–आफ्नै दाबी
चलचित्र संघले फिल्म हल खोल्न प्रशासनले ‘मौखिक अनुमति’ दिएको दाबी गरेको छ। फिल्म हल सञ्चालकको छाता संगठन नेपाल चलचित्र संघका महासचिव अशोक शर्मा जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँग फिल्म हल खोल्नेबारे मौखिकरूपमा सहमति भइसकेको बताउँछन्।
तर, जिल्ला प्रशासन कार्यालय, काठमाडौंले यसबारे सहमति नभएको जिकिर गरेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली फिल्म हल खोल्ने सहमति नभई खुलाउने प्रक्रिया मात्रै थालिएको दाबी गर्छन्। उनले भने, ‘फिल्म हल सञ्चालनको अनुमति नभएकाले त्यसविपरीत कार्य गरिएको पाइएमा कारबाही हुन्छ,’ उनले भने।
उनले फिल्म हल सञ्चालन नभई सरसफाइका लागि मात्रै फिल्म हल खोल्ने सहमति भएको बताए।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणपछि ९ महिना बन्द भएका फिल्म हल गत शुक्रबारदेखि सञ्चालन भएका छन्।
काठमाडौंका धेरैजसो फिल्म हल खुले पनि गोपीकृष्ण हल र गुण सिनेमा घर सञ्चालन भएका छैनन्। ती फिल्म हल अहिले मर्मत भइरहेका छन्।
पुष १३, २०७७ सोमबार १५:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।