अल्पमत देखिएपछि कांग्रेस फकाउने रणनीतिमा कर्णाली सरकार
४० सदस्य रहेको प्रदेशसभामा बहुमतका लागि आवश्यक २१ सांसद् आफ्नो पक्षमा नभएपछि दाहाल–नेपाल पक्षका मुख्यमन्त्री शाही नेतृत्वको सरकारले कांग्रेससँग सहकार्यको रणनीति बनाउन लागेको हो।
मुख्यमन्त्री निकट एक सांसद् प्रदेश सरकार अल्पमतमा परेको स्वीकार्छन्। ‘केही साथीहरूले साथ छोड्दैमा सरकार नै ढल्छ भन्नचाहिँ मिल्दैन,’ ती सांसद्ले भने, ‘कांग्रेससँग सहकार्य गरेर यही सरकारलाई निरन्तरता दिने बलियो आधार छ।’
विभाजनपछि पनि दाहाल–नेपाल समूहलाई नै बहुमत सदस्यको समर्थन मिल्ने ती सांसद्को दाबी छ।
यता ओली समूहले भने सरकार बनाउनका लागि कांग्रेसले आफूहरूलाई साथ दिने दाबी गरेको छ। प्रदेश सरकारले जनभावना अनुसार काम नगरेकाले कांग्रेसले आफूहरूलाई साथ दिने ओली पक्षको बुझाइ छ।
उक्त समूहले कांग्रेसलाई मुख्यमन्त्री पद दिएर पनि सरकार ‘गिराउने’ तयारीमा लागेको चर्चा सुनिन्छ।
सरकार अल्पमतमा परे कुन समूहलाई समर्थन गर्ने विषयमा कांग्रेसले अझै केही बोलेको छैन। कांग्रेस प्रमुख सचेतक हिमबहादुर शाहीले पार्टी केन्द्रीय कमिटीले निर्णय नगर्दासम्म यसबारे आधिकारिकरूपमा बोल्न नमिल्ने बताए।
‘काउन्टर’ दिने तयारीमा ओली समूह
ओली समूहले दाहाल–नेपाल समूहलाई प्रदेशदेखि जिल्ला तहमा ‘काउन्टर’ दिने तयारी थालेको छ। उसले यसै रणनीति अनुसार पूर्वमाओवादीका दुई सांसद्लाई आफ्नो पक्षमा ल्याइसकेको छ।
‘प्रदेश सरकार मात्रै होइन, हामीसँगै हरेक जिल्लामा उनीहरू (दाहाल–नेपाल समूह)लाई काउन्टर दिने मास्टर प्लान छ,’ ओली समूहका एक नेताले भने, ‘अब दाहाल–नेपाल समूहले जहाँ टेक्यो, त्यही खस्नुपर्छ।’
पुष १३, २०७७ सोमबार १३:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।