सिडियो भन्छन्– चलचित्र हल खुलेका छैनन्, संचालक भन्छन्–खोलिसक्यौँ
सरकारले अनुमति नदिए पनि हलवालाले एकलौटी रुपमा हल खोलेका हुन्।
काठमाडौका प्रमुख जिल्ला अधिकार (सिडियो) कालीप्रसाद पराजुली भने हल संचालन नभएको बताउछन्।
‘हल खोल्ने निर्णय मन्त्रिपरिषद्बाट नआउँन्जेल उहाँहरुले हल सरसफाई गर्ने र हल सञ्चालनका लागि तयारी गर्ने भन्नुभएको छ’ पराजुलीले भने,‘सायद त्यसै गर्दै हुनुहुन्छ होला।’
उनले काठमाडौमा हल संचालनमा नआएको बताए। शुक्रबार चलचित्र विकास बोर्डका अध्यक्षसँगको छलफल र पत्रका आधारमा चलचित्र खोल्ने विषयमा गृहकार्य भइरहेको उनले बताए।
‘अहिले नै चलचित्र हल खोलिहाल्ने भन्ने कुनै सम्झौता भएको छैन। तर, खोल्ने विषयमा छलफल भैरहेको छ।’ पराजुलीले भने।
संचालकहरुले बुझाएको आवश्यक मापदण्ड पुरा गरेर हल खोल्नपाउँ भन्ने व्यहोराको पत्र गृहमन्त्रालय पठाइसकेको पराजुलीले जानकारी दिए।
‘मैले अनुगमनका लागि प्रहरीलाई निर्देशन दिइसकेको छु। यदि कसैले निमयविपरित खोलेको पाइए कारबाही हुन्छ’ पराजुलीले भने,‘ जहाँसम्म मलाई लाग्छ हल खुलेका छैनन्।’
सिडियोले हल संचालन नभएको बताए पनि काठमाडांैका अधिकांस चलचित्र हल सञ्चालनमा आइसकेका छन्।
शुक्रबारबाट हलमा चलचित्र ‘आमा र सेन्टिभाइरस’प्रर्दशन भइरहेको छ। चलचित्रकर्मीले चलचित्र हेर्नका लागि सामाजिक सञ्जालका वालमा पोष्टर टाँसिसकेका छन्।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्र बहादुर बुढाले यसबारेमा बोल्न चाहेनन्। चलचित्रको बारेमा गृह मन्त्रालय भन्दा पनि नजिकको सिडियोसँग कुरा गर्न उनले आग्रह गरे।
चलचित्र संघका महासचिव अशोक शर्माले भने शुक्रबारबाट देशभरका हल संचालनमा आएको बताए।
‘सरकारले हल खोेल्ने अनुमती नदिए पनि विरोध स्वरुप भएपनि हल खुल्लै राख्छौँ। यसमा कुनै दुईमत छैन’ उनले भने।
पुष १२, २०७७ आइतबार १९:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।