नेकपा विभाजनले लुम्बिनी सरकार अल्पमतमा 

नेकपा विभाजनले लुम्बिनी सरकार अल्पमतमा 

बुटवल : संसद् विघटनपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) देखिएको विभाजनले शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार अल्पमतमा पर्ने देखिएको छ। 
 

प्रदेशसभामा बहुमतका लागि आवश्यक ४४ सिटमध्ये ओली समूहका पोखरेलको पक्षमा ३० सांसद् मात्रै देखिएपछि सरकार अल्पमतमा पर्ने देखिएको हो। 

८७ सिट रहेको लुम्बिनी प्रदेशसभामा ६१ जना नेकपाका सांसद् छन्। तीमध्ये पूर्वएमालेका ४१ र पूर्वमाओवादीका २० सांसद् छन्। यसमा पूर्वमाओवादी सांसद्हरूले साथ छोड्दा पनि सरकार अल्पमतमा पर्छ। 

सांसद् विष्णु पन्थीले प्रदेशसभामा ओलीइतर (दाहाल–नेपाल) समूहमा पूर्वएमालेका ९ जना सांसद् रहेको दाबी गरिन्। 

यस्तै, प्रदेशसभामा नेपाली कांग्रेसको १९, जनता समाजवादीको ६ र राष्ट्रिय जनमोर्चाको १ सांसद् छन्। 

नेकपा विभाजनले प्रदेश सरकार अल्पमतमा परे पनि केन्द्रको ‘कोर्स’ले सरकारको ‘आयु’ निर्धारण हुने ओली पक्षकै सांसद् डा. कृष्ण न्यौपाने बताउँछन्। सरकार अल्पमतमा परेको अवस्थामा भने मुख्यमन्त्री पोखरेलले कांग्रेससँग सहकार्य गर्ने सम्भावना रहेको उनको भनाइ छ।  

‘सरकार टिकाउन ओली पक्षले कांग्रेससँग हात फैलाउन सक्ने सम्भावना प्रबल भएकाले पोखरेल नेतृत्वको सरकार ढल्ने सम्भावना निकै कम छ,’ उनी भन्छन्।   

कांग्रेस के गर्ला ? 

कांग्रेसका संसदीय दलका नेता वीरेन्द्र कनौडिया नेकपा फुटेर सरकार अल्पमतमा परे दाहाल–नेपाल पक्ष, कांग्रेस र जनता समाजवादी पार्टी मिलेर दुईतिहाइ बहुमतको सरकार बन्ने सम्भावना रहेको बताउँछन्। ‘पार्टी केन्द्रको निर्णयपछि यसबारे निर्णय गर्नेछौं,’ उनले भने। 

कांग्रेस सचेतक निर्मला क्षेत्री पनि नेकपा फुटेको अवस्थामा दाहाल–नेपाल समूहसँग मिलेर कांग्रेसले सरकार बनाउन सक्ने सम्भावना देख्छिन्। प्रदेश राजधानी दाङ सारिएपछि मुख्यमन्त्रीसँग कांग्रेस रुष्ट रहेकाले यो सम्भावना बलियो भएको उनको भनाइ छ। 

तर, ओली समूहसँग मिलेर सरकार बनाउने सम्भावना पनि नटरेको उनको भनाइ छ। ‘यी सबै सम्भावना छन्। हेरौं के हुन्छ,’ उनले भनिन्।  

प्रधानमन्त्रीको केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले  गत पुस ५ गते संसद् विघटन गरेपछि नेकपा स्पष्टरूपमा दुई भागमा विभाजन भएको छ। 
 

पुष १२, २०७७ आइतबार १५:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।