१६५ निर्वाचन क्षेत्रमा कांग्रेसको प्रदर्शन, शिर्ष नेता को कहाँ ?

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् विघटनको विरुद्धमा भोलि देशभर प्रदर्शन गर्दैछ।
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गरेर मध्यावधि निर्वाचन गर्ने कदमलाई असंवैधानिक भनेको कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको हो।
०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा जुन क्षेत्रबाट चुनाव लडेको हो त्यही क्षेत्रमा जाने निर्णय भएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
‘नेताहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ’ पौडेलले भने।
पौडेलका अनुसार सभापति शेरबहादुर देउवा कार्यव्यस्तताका कारण गृहजिल्ला डडेलधुरा जान नसक्ने पौडेलले जानकारी दिए। उनका अनुसार देउवाले भक्तपुरमा हुने सभालाई सम्बोधन गर्ने भएका छन्।
यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले भने तनहुँस्थित आफ्नै निर्वाचन क्षेत्रमा सम्बोधन गर्ने कार्यक्रम छ। युवा नेता गगन थापाले नेपालगञ्जमा हुने सभालाई सम्बोधन गर्ने बुझिएको छ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वरमा आयोजना हुने सभालाई सम्बोधन गर्ने जनाइएको छ।
पुष १२, २०७७ आइतबार १४:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।