सिपीको नजरमा तीन नेता : केपी ‘रअ’का मान्छे, प्रचण्ड भारतबाटै पालिएका, माधव सम्झौतावादी

सिपीको नजरमा तीन नेता : केपी ‘रअ’का मान्छे, प्रचण्ड भारतबाटै पालिएका, माधव सम्झौतावादी

कुनै समय थियो– सिपी मैनालीको नामै सुनेर सत्तामा रहेकाहरूको मुटु काप्थ्यो। कम्युनिस्ट नेता कार्यकर्तामाझ उनी चे ग्वाभाराझैं आदर्श पात्र थिए। कम्युनिस्ट विचारधारामा आकर्षितहरू उनको एक झलकका लागि लालायित हुन्थे।

४० वर्षमा राजनीतिले यस्तो ‘यु टर्न’ गर्यो कि झापा विद्रोहबाट उदाएका मैनाली अहिले गुमनामझैं छन्। तत्कालीन नेकपा एमाले विभाजन भएर बनेको नेकपा मालेमा सक्रिय भएका उनको दल अहिले ‘प्रभावहीन’जस्तै छ। वामदेव गौतम लगायतको ठूलो समूह तत्कालीन एमालेमै विलीन भए पनि उनी अझै पनि मालेमै छन्। तत्कालीन मालेका महासचिव सिपी आफ्नो राजनीतिक छवि ध्वस्त बनाउन मदन भण्डारीको बढी भूमिका देख्छन्।

मैनालीले उकेराकर्मी ईश्वर मैनालीसँग आफ्नो राजनीतिक यात्रा र दृष्टिकोण यसरी बाँडे :


केही दिनयताको राजनीतिक माहोल हेर्दा मलाई मालेको उदय र विभाजनको तेस्रो रूप डबल नेकपा विभाजन हो जस्तो लाग्छ। 

राजनीतिक मतभिन्नता कम्युनिस्ट पार्टीमा हुन्छ नै, त्यसलाई स्वभाविकरूपमा लिनुपर्छ। तर, मतभिन्नता हुुन्छ भन्दैमा वैदेशिक दावेदारीवादको सिकार नेकपा हुनुहुँदैनथ्यो। 

वैदेशिक दावेदारीवादलाई विकास गराउन पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओली दुवै उत्तिकै जिम्मेवार छन्। प्रचण्डले कथित जनयुद्ध भारतकै नुनपानी खाएर गरेका हुन् भन्नेमा थप विश्लेषण नै आवश्यक पर्दैन।

ओली र भारतको सम्बन्ध

२०५० पछि ओलीले भारतीय खुफिया एजेन्सी ‘रअ’को नजिक रहेर काम गरे। 

महाकाली सन्धिले ओलीको जिन्दगी नै ‘कायापलट’ गरिदियो। सन्धिपछि साधारण किसान परिवारका ओलीको आर्थिक अवस्था एकाएक बढ्यो। ओलीको सम्पत्तिमाथि आजसम्म कुनै अध्ययन भएको छैन, हुनु जरुरी छ। खैर, भविष्यमा यो हुँदै जाला।

यसमा माधवकुमार नेपाल पनि जोडिन्छन्। दुई दशकअघि नेपालका कम्युनिस्ट नेतामध्य भारतको विश्वासपात्र कोही थिए भने नेपाल र ओली नै थिए। 

२०७२ को नाकाबन्दीयता भने ओलीसँग भारत चिढियो। र, भारतले ओलीलाई गाल्न खोजेको पनि हो। प्रचण्ड त भारतबाटै पालिएका र पोसिएका नेता हुन्।

इखालु ओली

अलि इखालु स्वभावका ओली भारतले पेल्न थालेपछि अटेरी देखिए। जे–जे गर्दा पनि नगलेपछि भारतले सामन्त गोयललाई नेपाल पठाएको हो। गोयलले ओलीलाई फकाएर उचाँले। त्यसपछि ओलीको व्यवहार फेरियो। सामन्त गोयल भारत फर्किएपछि प्रचण्डले आफ्ना दुई छोरीलाई दूत बनाएर पठाएकै हुन्। 

छोरीहरू नेपाल फर्केलगत्तै प्रचण्डको पनि व्यवहार फेरिँदै गयो र नेकपा विभाजनतिर लम्कियो। 

मदन भण्डारीले मलाई सिध्याए 

हिजोका दिनमा जनगणतन्त्रको मर्म बोकेर हिँड्दा मलाई अनेक आरोप लगाइयो। राम्रा कदमलाई राम्रो भन्दा राजावादी भने। माक्र्सवादलाई नेपालीकरण गर्न खोज्दा विदेशीको लहलहैमा मलाई सिध्याउन सबै लागि परे। 
मदन भण्डारीलाई म आदर्श नेता मान्थें। उनी राम्रा वाककला र साहित्यिक चेत भएका व्यक्ति हुन्। मलाई सिध्याउनमा मदन भण्डारीको पनि ठूलो हात छ। त्यस्तै, मोदनाथ प्रश्रितले सुराकी गरेर मेरा गतिविधि भारत पुर्याउँदा रहेछन्। 

भारतलाई नेपालमा स्थिर राजनीति कहिल्यै मन परेन, पर्दैन। र, उसले नेपालको राजनीतिमाथि खेल्न सधैं अनेक हत्कण्डा अपनायो। त्यसकै पछिल्लो रूप नेकपाको यो विभाजनको रडाकोलाई लिन सकिन्छ। 

त्यतिबेला मेरो राजनीतिक परिपक्कता नभएको अहिले मलाई महसुस हुन्छ। उदाउँदै गरेको मालेमा विभाजन ल्याउन नेपाली कांग्रेसको पनि हात रह्यो। 

त्यतिबेला एक पक्षलाई मात्र भारतको आशीर्वाद थियो भने अहिले दुवै पक्षलाई छ। बहुमतको सरकारमा बसेर पनि ओलीले आफ्नो पुरानो बानीलाई बदल्न सकेनन्। गफ धेरै काम थोरै भएपछि जनताले पनि ओलीलाई त्यति रुचाइरहेका थिएनन्। पार्टीमा एजेण्डाविहीन भएर सबै आफैले ओगट्न खोज्नु उनको सबैभन्दा ठूलो कमजोरी रह्यो। 

पश्चिमा शक्तिलाई पूर्वका दुई ठूला शक्तिराष्ट्र भारत र चीनसँग खेल्नलाई नेपाल मैदान बन्दै आएको छ। अब भारत मात्र होइन, अमेरिकाको नजर पनि नेपालमा छ। अमेरिकी नयाँ नेतृत्वले पनि अब खेल्न सुरु गर्छ। 
भारत त भइ नै हाल्यो। भारतले कहिले पनि नेपालमा स्थिर सरकार होस् भन्ने चाहँदै चाहेन। 

भारतको लक्ष्य भनेको नेपाललाई सके सिक्किमीकरण गर्ने, नसके भुटानीकरण गर्ने नै हो। यो वैदेशिक दावेदारीवादका कारण नै मेरो राजनीतिलाई दिल्लीले सिध्याई दियो। 

अहिले पनि त्यस्तै परिदृश्य देखिएको छ। यसले पक्कै राम्रो गर्दैन। तर, यो विभाजन एकदिन हुनु थियो, भयो। 

दोस्रो सिपी कोही बन्न सक्दैन 

बजारमा दोस्रो सिपी मैनाली यो बन्छ, त्यो बन्छ भन्ने बहस रहेछ। सिपी मैनाली एउटै थियो र एउटै रहन्छ। दोस्रो सिपी मैनाली कोही बन्नै सक्दैन। 

३८ वर्षअघि नेकपा मालेकै नेतृत्वमा रहँदा ममाथि ‘तानाशाह’को आरोप लगाइएको थियो, जुन निराधार थियो। त्यतिबेला मदन भण्डारी, जीवराम आश्रित, मोदनाथ प्रसिदहरूको ‘अविवेकीपन’का कारण मैले यस्तो आरोप खेप्नुपरेको थियो, त्यसमा मेरो सधैं आपत्ति रहन्छ। 

मैले देशको अवस्था र आवश्यकतालाई हेरेर पार्टीको नीति बनाएको थिएँ। म अल्पमतमा परें। अल्पमतमा परेको मान्छेले महासचिवमा बस्नु हुन्न भनेर मैले राजीनामा दिएँ। मदन भण्डारी, वामदेव गौतम लगायतका नेताहरूले मेरो राजीनामा च्यातिदिए। र, मलाई अनुशासनको कारबाही गरे। 

मैले लिएका नीतिमा माधव र मदन धेरैजसो चुप बसे। उनीहरू सधैँ मौकाको पखाईमा रहेछन्, त्यो कुरा म अहिले बुझ्दै छु। मलाई त्यतिबेला पार्टीको साधारण सदस्य समेत नरहने गरी निकाल्न खोजेका थिए। त्यसको नेता भण्डारी थिए। 

मैले त्यतिबेला मबिना स्थायी कमिटीको बैठक बस्छु भन्दा मान्नु ठूलो भुल भएछ। अनुशासनको कारबाही भन्दै मेरो राजनीतिमाथि पूर्णविराम लगाउन खोजेका थिए। त्यसो गर्नुको कारण जेलमा रहेका साथीहरूलाई पार्टीको नीतिबारे बताएको पत्र थियो। त्यो पत्र लेख्दा अधिकांश साथीहरू साक्षी थिए। कुनै गुप्तरूपमा गरेको काम पनि थिएन त्यो। 

पहिला पनि त्यसो गर्ने गरिएको थियो। मैले पनि त्यही गरें। त्यसै विषयलाई लिएर ६ महिनापछि ममाथि त्यस्तो नाजायज कदम चालियो। मलाई र मेरो नीतिलाई सफल हुन नदिन सबै लागि परे। त्यसमा विदेशीको आशीर्वाद रह्यो। 

बाहिरी तत्त्व नै शक्तिशाली

 

नीतिगत समस्याका कारण भन्दा पनि बाहिरी तत्त्वका कारण नै नेपालका राजनीतिक दलहरूमा अस्थिरता बढी आउने गरेको मेरो अनुभव छ। हिजोको दिनमा मैले भन्ने गरेको जनगणतन्त्र विरोध गर्नेहरूले पछि नेतृत्व फेरिँदा त्यही कुरालाई स्वीकारे। यदि मैले भनेको त्यति बेला गलत थियो भने पछि पनि गलत हुनुपर्यो। तर, त्यसो भएन। यस्ता धेरै कथा छन्। 

सिपी मैनालीको संगठन सानो होला। तर, सिद्धान्त र विचार आज पनि त्यही छ। म अरुलाई आफूजस्तै कम्युनिस्ट भएर देखाउन चुनौती दिन्छु, तब तुलना गर्नु। 

मैले त त्याग गरेको छु, इमानमा बसेको छु। अरु नेताहरू जस्तो परस्त भएको भए आज म सत्तामा हुन्थें होला। म विचार र सिद्धान्तको राजनीति गर्छु।

जबजले तुहाई दियो मार्क्सवाद

मार्क्सवादको अभ्यास भइरहँदा मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज)ले त्यस अभियानलाई तुहाई दियो। त्यसपछि एमालेले जबज भजाएर मार्क्सवाद बिर्सियो। वामदेवले पार्टी फुटाएर जबजलाई शीरमा राखे। तर, उनीजस्तो अस्थिर मान्छेले त्यसमा केही उपलब्धि गर्न सक्ने कुरा थिएन। पछि एमालेमा विलीन भए। माओको पथ पछ्याएका प्रचण्ड कहिले माओवादी बन्न सकेनन्। उनी पद र पैसामुखी भएर नै रहे। 

वास्तवमा भन्ने नै हो भने तत्कालीन एमालेको सिद्धान्त जबज हुनु हुँदैनथ्यो। जबजलाई निश्चित समयको नीति बनाउन पर्ने हो। तर, त्यसो हुन सकेन। 

माधवले जबज बुझ्दैनन्

जबजको पथ मदनपछि माधव नेपालले सम्हाले भन्छन् केही साथीहरू। तर, त्यो गलत हो। जबजलाई मदनपछि कसैले राम्रोसँग बुझेका थिए भने ती ओली नै हुन्। तर, माक्र्सवादलार्ई बुझेका नेता नगन्य मात्रामा मात्र भए। यो हाम्रो विडम्बना हो। 

अलि ‘कम्युनिजम’ बुझेका कोही नेता नेकपामा छन् भने झलनाथ हुन्। तर, उनी ‘पीपलपाते’ छन्। माधव सधैं सम्झौता गर्ने मान्छे हुन्। र, उनी मौकाको पर्खाइमा माहिर छन्। 

वामदेवलाई त नेता मान्दिएको मात्र हो भन्दा हुन्छ। पार्टी फुटाएपछि उनले करोडौं रकमको खेला गरे। उनले केही व्यापारीलाई त विदेशिनसमेत बाध्य पारेका छन्। प्रचण्ड त तावेदारवादी भई हाले। उनी सधैं विदेशीकै इसारामा मात्र चलेका छन्। 

गलत सिद्धान्तलाई बोकेपछि एकता गरेर पो कसरी राम्रो हुन सक्छ र ? नेपालको माटो सुहाउने माक्र्सवादको अभ्यास भएको खोई ? कसैले आफूलाई कम्युनिस्ट हुँ भन्दैमा हुन्छ र, चारित्रिक विशेषता खोई ? 

सधैं सत्ता र सम्पत्तिको भोगमा कुद्नेहरूले कम्युनिजमको गलत व्याख्या गरेका छन्। अहिले नेकपा फुटको कथा पनि सिद्धान्त र कार्यशैलीमा नै गएर ठोकिन्छ। कम्युनिस्ट हुँ भन्नेको सिद्धान्तको राजनीति नहुँदा जनतामा कम्युनिजमको गलत व्याख्या बढेको छ। 

मध्यावधि : पुराना नेतालाई तह लगाउने ‘छडी’

नेपालमा एकदम कम नेता मात्र ‘कम्युनिस्ट’ भए। जनताको चाहना र देशको आवश्यकतालाई बुझ्ने मान्छे भएनन्। शक्तिको लोभमा मात्र रम्ने प्रवृत्ति बढ्यो। त्यसकारण मध्यावधिमा देश गयो भने यी पुराना नेतालाई जनताले बिदाई गर्ने सम्भावना उच्च देख्छु। 

अब विचार र सिद्धान्तको राजनीतिको पनि अभ्यास हुुनु पर्छ। विदेशको आशीर्वादले चल्ने परम्परा रोकिनु पर्छ। हाम्रो देशको आवश्यकता हामीलाई थाहा हुनु पर्छ। सधैंभरि विदेशीलाई खेल्ने ठाउँ बनाउन मात्र पार्टी बनेको होइन। आफ्नो देशको भूगोल, संस्कृति लगायतका कुरालाई ध्यानमा राखी नेपालीपनको कम्युनिजम हिजो राम्रोसँग अभ्यास हुन पाएन, अब हुनु जरुरी छ।

पुष ११, २०७७ शनिबार १८:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।