विमानस्थल विस्तार गर्न नदिने प्रभावितहरुको अडान
सुर्खेत : संघीय सरकार र कर्णाली प्रदेश सरकारको संयुक्त लगानीमा थालिने सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारको काम गर्न नदिने प्रभावितहरुले अडान राखेका छन्।
वीरेन्द्रनगर नगरपालिका–१० र १२ का धावनमार्ग प्रभावितहरुले सयौं परिवार बेघरवार हुने भएकोले विमानस्थल विस्तारको काम अगाडि बढ्न नदिने अडान राखेका हुन्।
नागरिक सरोकार संघर्ष समितिका संयोजक टिकाराम आचार्यले विस्तारका लागि गरिने अधिग्रहणबाट करिव पाँच सय परिवारको उठिबास खर्बौंको सम्पत्ति विनाश हुने भएकोले धावनमार्ग विस्तारको काम अगाडि बढ्न नदिने बताए।
उनका अनुसार दुई वटा विद्यालय, एउटा क्याम्पस, एउटा शहरी स्वास्थ्य कार्यालय, तीन वटा निजी विद्यालय, सहकारी संस्थालगायतका भौतिक संरचनामा क्षति पुग्ने छ।
‘विकास जनताका लागि हुनुपर्ने हो। जनतालाई नै उठिबास गराउने कस्तो विकास ल्याउन खोजिएको हो ?’ आचार्यले प्रश्न गरे,‘ठूला विमानस्थल बनाउनका लागि अन्यत्र जग्गा खोज्न आग्रह गर्छौ।’
विमानस्थल धावनमार्ग विस्तार गरे दीर्घकालीन नहुने प्राविधिक प्रतिवेदनले औँल्याएकोले छोटो समयका लागि मात्र गरिने विकासको औचित्य नहुने उनको भनाई छ।
विमानस्थल विस्तार गर्ने नाममा खर्बौँको सम्पत्तिको क्षति हुने भएकाले मुआब्जा दिने रकमले नयाँ विमानस्थल बनाउन आचार्यले सरकारी निकायलाई आग्रह गरे।
संघर्ष समितिका सदस्य पूर्णप्रसाद पौडेलले आफूहरु विकास विरोधी नभएको भन्दै प्रभावितहरुको असहमतिमा काम अगाडि बढाउन नहुँने बताए।
प्राविधिक रुपमा धावनमार्ग दीर्घकालीन नहुँने भएकोले अहिले विस्तारको औचित्य नभएको उनको भनाई छ।
वीरेन्द्रनगर नगरपालिका–१२ का वडाअध्यक्ष लोकप्रसाद चालिसेले जनतालाई डिपे्रशनमा जाने गरी दुःख नदिन आग्रह गरे।
उनले सरकारलाई प्रभावितहरुको माग सम्बोधन गरेर अगाडि बढ्न सुझाव दिए। वडा नम्बर १० का वडाअध्यक्ष रत्नबहादुर बुढाले पनि प्रभावितहरुसँग कुनै समन्वय नै नगरेर काम अगाडि बढाएकोमा आपत्ति जनाए।
उनले विकासका कामहरु जनमैत्री हुनुपर्ने भन्दै त्यसका लागि सवै पक्षसँग समन्वय गरेर गर्न आग्रह गरे।
२०२३ सालमा स्थापना गरिएको सुर्खेत विमानस्थल तीन पटकसम्म विस्तार गरिसकिएको छ। पहिलो पटक २०३४ सालमा, दोस्रो पटक २०६० सालमा र तेस्रो पटक २०६६ सालमा विस्तार गरिएको थियो।
तीन पटकसम्म प्रभावितहरुलाई चित्तबुझ्दो मुआव्जा नदिई जबर्जस्ती हटाइएको आरोप पीडितहरुले लगाएका छन्। यसपटक पनि जबर्जस्ती हटाउन खोजिएको भन्दै उनीहरुले आपत्ति जनाएका छन्।
सुर्खेत नागरिक उड्डयन कार्यालयले सूचना जारी गरी १५ दिनभित्र धावनमार्ग अधिग्रहण हुनसक्ने क्षेत्रमा नयाँ संरचना बनाउन, जग्गा खरिद विक्री गर्न, हक हस्तान्तरण गर्न, धितो बन्धकलगायतका कुनैपनि कार्य सिफारिस नगर्न आग्रह गरेको छ।
प्रभावित क्षेत्र वीरेन्द्रनगर १० र १२ को विमानस्थलको उत्तरतर्फ ६ सय मिटर, दक्षिणतर्फ चार सय मिटर, पूर्वतर्फ २५ मिटर र पश्चिमतर्फ दुई सय मिटर क्षेत्रमा लगत संकलनका लागि प्राविधिकहरु खटिएको कार्यालय प्रमुख उमेशकुमार पन्थीले जानकारी दिए।
प्राविधिकहरु खटिएकोले १५ दिनसम्म कुनै सिफारिस नगर्न आग्रह गरिएको उनको बताए।
पुष ११, २०७७ शनिबार १८:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।