एक वर्षमा घुससहित समातिए आठ सय कर्मचारी 

एक वर्षमा घुससहित समातिए आठ सय कर्मचारी 

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा झण्डै आठ सय कर्मचारीलाई घुससहित पक्राउ गरेको छ। 
 

आयोगको आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन अनुसार ७८५ कर्मचारी घुससहित समातिएका हुन्। पक्राउ परेकामध्ये ९ जना विशिष्ठ श्रेणीका, तीन सय ३५ अधिकृत स्तरका र चार सय ४० सहयोगी कर्मचारी रहेको आयोगले जनाएको छ। 

ती सबैविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको आयोगले जनाएको छ। 

स्थानीय तहका उजुरी बढी  

गत आर्थिक वर्षमा आयोगमा परेका उजुरीमध्ये स्थानीय तहका बढी छन्। प्रतिवेदन अनुसार आयोगमा परेका उजुरीमध्ये संघीय मामिला तथा स्थानीय तहका ३०.०७ प्रतिशत छन्।

यस्तै, शिक्षासम्बन्धी १६.३६, भूमि प्रशासनसम्बन्धी ८.२९, वन तथा वातावरणसम्बन्धी ४.२१, स्वास्थ्यसम्बन्धी ४.०७ प्रतिशत उजुरी परेको आयोगले जनाएको छ।

यसैगरी, गृह प्रशासनतर्फ ३.६५, भौतिक तथा यातायाततर्फ ३.५९, ऊर्जा, जलस्रोत तथा सिँचाइतर्फ २.६६, अर्थतर्फ २.१७ प्रतिशत उजुरी परेको प्रतिवेदनमा उल्लेख छ। साथै नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी ७.६३, गैरकानुनी सम्पत्तिसम्बन्धी ६.३७ र अन्य निकाय तथा क्षेत्रसँग सम्बन्धित १०.९४ प्रतिशत उजुरी परेका छन्। 

प्रदेश २ मा सबैभन्दा बढी उजुरी

प्रदेशका आधारमा सबैभन्दा बढी प्रदेश २ मा उजुरी परेका छन्। त्यहाँ कूल उजुरीको २३.८७ प्रतिशत उजु्री परेको प्रतिवेदनमा उल्लेख छ।  यस्तै, सबैभन्दा कम उजुरी गण्डकी प्रदेशमा परेका छन्। त्यहाँ कूल उजुरी संख्याको ५.३५ प्रतिशत उजुरी परेको छ। 

यसैगरी, प्रदेश १ मा ९.८२, बाग्मतीमा १९.५९, लुम्बिनीमा १०.८९, कर्णालीमा ५.८२ र सुदूरपश्चिममा ८.४४ प्रतिशत उजुरी परेका छन्। बाँकी १६.३२ प्रतिशत उजुरी गैरकानुनी सम्पत्ति, झुठा प्रमाणपत्रलगायत विषयका रहेको आयोगले जनाएको छ। 

६७.५ प्रतिशत मुद्दा फर्छ्यौट

गत आर्थिक वर्षमा ६७.५ प्रतिशत मुद्दा फर्छ्यौट भएको आयोगले जनाएको छ। प्रतिवेदन अनुसार गत आर्थिक वर्षका कूल २५ हजार एक सय ५२ उजुरीमध्ये १६ हजार नौ सय ५२ उजुरी फर्छ्यौट गरिएका छन्। 

उक्त प्रतिवेदन आयोगका प्रमुख आयुक्त डा. गणेशराज जोशीले गत बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएका थिए। 

पुष ११, २०७७ शनिबार १७:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।