रोकिएन मुग्लान जानेको लर्को, घर बस्दा पेट पाल्नै झर्को
ज्यान जोगाउन घर त फर्किए तर, पुनः भारत नफर्किएर नहुने भयो। ‘आफ्नो देशमा केही रोजगारी छैन। भारत नगएर त नहुँने भयो।’ ४८ वर्षीय तुलारामले बाध्यता सुनाए,‘मेरो त जीन्दगी भारतमै चौकीदारी गरेर गयो छोराहरुको पनि त्यसै हुने भयो।’
फागुनको अन्तिममा घर फर्किएका तुलाराम एक्लै भारत जना लागेका हैनन्। उनको साथमा छोरा र बुहारी पनि छन्।
नेपालमा कुनै रोजगारी नहुँदा छोरा र बुहारीलाई पनि सँगै लगेको उनले सुनाए।
‘आफ्नो देशमै बसेर काम छैन। भोको पेट मर्नु भन्दा छोरा र बुहारी पनि नोकरी गर्लान भनेर उतै लगे।’
तुलाराम त एउटा प्रतिनिधि पात्र मात्र हुन्। उनी जस्तै स्वदेशमा रोजगारी नपाएपछि परीवारको भोके पेट भर्न र नांगो शरिर छोप्नकै लागि दैनिक हजारौ नेपाली मुग्लान गैरहेका छन्।
गौरीफन्टा नाकामै भेटिएका कैलालीको गौरीगंगा नगरपालिका–१ का भरत थापाले पनि तुलारामको जस्तै ब्यथा सुनाए।
‘कोरोना महामारी फैलिँदा ज्यान जोगाउन भारतबाट निकै कष्ट भोगेर घर फर्कियो।
अहिले भने फेरी उतै लाग्नुपर्ने भएको छ’ थापाले भने,‘भारतबाट आउँदा त अब कहिलै भारत फर्किनु पर्दैन होला सोचेको हो तर, नफर्कि नहुने भयो।’
दुई महिना पहिले भारतको मुम्बईबाट नेपाल आएका धनगढी उपमहानगरपालिका–१९ का हिरा विक पनि तुलाराम र भरतसँगै रोजगारीका लागि मुग्लान पसेका छन्।
देशमा रोजगारी नहुँदा पुनः भारत जान लागेको उनले बताए। उनले भने,‘घरमा स–साना छोराछोरी परिवार भएकाले एक छाक टार्नका लागि भए पनि बाध्य भएर भारत जान लागेको हुँ। देशमै रोजगारी मिलेको भए घर परिवार सँगै बसेर काम गर्ने थिए के गर्नु हजुर जिन्दगी अर्काकै देशमा बित्ने भयो।’
पछिल्लो समय भारतबाट नेपाल फर्किने भन्दा पनि जानेको सङ्ख्यामा बुद्धि भएको त्रिनगर नाकाको हेल्थ डेस्कले जनाएको छ। कार्तिक महिना देखि हाल सम्म ५५ हजार नेपालीहरू भारत गएको हेल्थ डेस्कको तथ्यांक छ।
भारतबाट नेपाल आउने दैनिक ३ सयको हाराहारीमा छन् भने भारत जाने दैनिक २ हजारको हाराहारीमा रहेको त्रिनगर नाका हेल्थ डेस्क प्रमुख दिनेश ठकुल्लाले बताए।
साँझ बिहानको छाक टार्न समस्या भएपछि नेपालीहरू भारत जान बाध्य भएको उनले बताए।
गौरीफन्टा नाका भएर नेपालीहरू भारतको मुम्बई, दिल्ली, महाराष्ट, पंजाव र उत्तराखण्ड रोजगारीका लागि जाने गर्दछन्।
देशमा लोकतन्त्र गणतन्त्र जे आए पनि गरिब नेपालीले रोजगारीका लागि भारत लगायत अन्य मुलुकमा नै जानुपर्ने बाध्यता हटेको छैन।
पुष १०, २०७७ शुक्रबार २०:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।