संसद् विघटनमा काँग्रेस नेता विभाजित: पौडेल गरम, देउवा नरम

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष ओलीको कदम गैर संवैधानिक भएकाले निरन्तर आन्दोलन चर्काउनुपर्ने पक्षमा छन् भने पार्टी सभापति शेरबहादुर पक्ष तत्काल प्रभावकारी आन्दोलनमा जाने पक्षमा देखिएका छैनन्।
त्यसको प्रभाव पार्टीको केन्द्रीय समितिको बैठकमा प्रस्टै देखिएको एक नेताले बताए। बैठकमा पौडेल समूहका नेताले ओलीको कदमप्रति आक्रामक प्रतिक्रिया दिने गरेका छन् भने देउवा पक्षका अदालतमा विचाराधीन विषय भन्दै पन्छिने गरेका छन्।
त्यसको असर आन्दोलन घोषणामा पनि देखियो। पौडेल पक्ष कमसेकम एक हप्ता निरन्तर आन्दोलन गर्नुपर्ने पक्षमा उभिएका थिए। बिहीबार को केन्द्रीय समिति बैठक अगाडि बसेको पौडेल भेलाले यही निर्णय गरेर केन्द्रीय समितिको बैठकमा गएका थिए। तर सभापति देउवा पक्ष सहमत नहुँदा आन्दोलन एक दिन मात्र तोकियो।
बैठकमा देउवा पक्ष प्रधानमन्त्री ओलीको पक्षमा नरम रूपमा प्रस्तुत भएको एक नेताले बताए। देउवा समूहका नेताहरू कहिले निर्वाचन लोकतान्त्रिक प्रक्रिया हो विपक्षमा जान हुन्न भन्ने गरेका छन् त केहीले अदालतमा विचाराधीन विषय भएकाले यसबारे तत्काल कुनै निर्णय गर्न नहुने तर्क गर्ने गरेका छन्।
पौडेल पक्षका नेताहरूले भने संसद् विघटन संविधान विपरीत भएकाले संविधान जोगाउन प्रभावकारी आन्दोलनमा जानुपर्ने बताउँदै आएका छन्। यसमा पौडेललाई अर्का नेता कृष्ण सिटौला समूहमा रहेका नेताले पनि साथ दिएका छन्। तर देउवा तत्काल प्रधानमन्त्री ओलीलाई दबाब पर्ने गरी आन्दोलनमा जान तयार देखिएका छैनन्।
'सभापतिज्यू अदालतको आदेश कुर्ने मुडमा देखिनुभयो। त्यसैले अदालतबाट यो मुद्दा किनारा नलागेसम्म देखाउने आन्दोलन मात्र हुने डर छ,' एक केन्द्रीय सदस्यले भने' अदालतबाट संसद् विघटन सदर भए चुनावमा जान दबाब बढ्न सक्छ।'
पुष १०, २०७७ शुक्रबार ०८:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।