बदलिए बादल
बैठकमा उहीँ ओझपूर्ण आवाजमा उनले सम्बोधन थाले, ‘प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको हो। चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरूलाई परास्त गर्नु पर्ने छ। उहाँहरूको ध्यान क्रान्तिका उपलब्धिहरूलाई उल्ट्याउन केन्द्रित छ।’
नेकपाका दुई अध्यक्ष ओली र दाहालबीच बढ्दो दुरीमा बादल प्रायः मौन नै देखिएका थिए। उनले सचिवालय बैठकमा कुनै समूहलाई बल पुग्ने गरी समर्थन गरेनन्।
उनका तर्क मध्यमार्गी देखिए। गुटगत भेलाबाट टाढै बस्न रुचाएका उनी र दाहालको लामो राजनीतिक यात्रा अनि सशस्त्र विद्रोहताकाको सहयात्राले यदि कता उभिने निर्णय गर्नैपर्याे भने उनी दाहालको पक्षमा उभिने राजनीतिक विश्लेषण बाक्लो थियो।
अविश्वास प्रस्ताव दर्ताको प्रयासबाट विकसित भएको राजनीतिक घटनाक्रम प्रतिनिधि सभा विघटनमा पुग्दासम्म मौन बसेका बादल बिहीबार बल्ल खुले। र, राजनीतिक अनुमानविपरीत ओली समूहमा मिसिए।
जोडघटाउको राजनीतिक अभ्यासको बानी परेका दाहाल समूहका पूर्वएमालेका नेताका लागि बादलको निर्णय सामान्य नै लाग्यो होला। तर, दाहाल समूहका पूर्वमाओवादी समूहका लागि भने बादलको निर्णयले झट्का पक्कै दियो।
त्यो झट्का मदन भण्डारीको प्रतिमामा माल्यार्पण गर्न पुगेका नेतात्रयमध्ये दाहालको मुहारमा गाढा देखियो पनि।
सत्ता स्वार्थमा पोख्त हुँदै बादल
माओवादी विद्रोहताका साहसी कमाण्डको छवि भए पनि उनको सार्वजनिक पहिचान २०६२–०६३ को राजनीतिक उपलब्धिपछि नै सार्वजनिक भएको थियो।
२०६४ सालको पहिलो संविधानसभामा चितवन–२ बाट निर्वाचित भएर रक्षामन्त्री भएपछि मच्चिएको कटवाल काण्डपछि उनको जोखिम उठाउने शैली पनि सार्वजनिक भयो।
कटवाल काण्ड योजना अनुसार सफल भएन। पार्टीलाई ‘ब्याकफायर’ भयो। सशस्त्र संघर्षका ‘सुप्रिमो’सँग कुरा मिलेन। उनी किरण वैद्यतिर लागे। त्यता नि मन अडिएन।
माओवादीमा फर्किए। र, दाहालसँगै एमालेमा विलीन भएर नेकपाको परिचय बोके। प्रदेश–३ बाट राष्ट्रियसभामा निर्वाचित भएर गृहमन्त्री भएका उनी यो साढे दुई वर्षको नयाँ यात्रामा मौसम अनुसारको खाँटी नेता बनेर निस्किए।
व्यक्ति केन्द्रित यात्रा
संसद् विघटनपछि उनी मौन रहँदा एक पक्षले चिन्ता र आक्रोशले उनी मौन रहेको तर्क गरे। उनको राजनीतिक चरित्र भिन्न थियो। अर्को पक्षले भने उनी बार्गेनिङमा लागेको आशंका गरे।
बिहीबार बालुवाटारमा प्रधानमन्त्री ओलीसँग तीन घन्टाको वार्तापछि उनी ओली समूहको बैठकमा वक्ता बनेसँगै उपाध्यक्ष पदको आश्वासनमा सहमत भएको दाबी आए। उनको मौनता नीतिगतभन्दा व्यक्तिगत भागवन्डा केन्द्रित रहेको पुष्टि भयो।
नेकपामा समाहित पूर्वमाओवादीका केही सांसद् र केन्द्रीय सदस्य उनी निकट छन्। तर, उनको ओली यात्रामा ती कता हुनेछन् खुलिसकेको छैन। पम्फा भुसाल लगायतका केही नेता नियमितरूपमा दाहाल–नेपाल भेलामा सहभागी छन्। उनी निकट १६ केन्द्रीय सदस्यले भेटेरै दाहाललाई साथ दिन अनुरोध गरिसकेका छन्।
बादलको तर्क– दाहालले धोका दिए
सशस्त्र विद्रोहकालमा पनि दाहाल–बादल सम्बन्ध ‘लभ–हेट’कै थियो। साँस्कृतिक विचलनको आरोपमा उनी कारबाहीमै परेका थिए।
संसदीय राजनीतिमा आएपछि पनि दुवैको सम्बन्ध एकनासको रहेन। वैद्य दाहालसँग छुट्टिँदा उनी पनि उतै लागे। नेत्रविक्रम चन्द समूह बाहिरिएपछि केन्द्रीय राजनीतिमा वैद्य कमजोर बने। उनी विप्लवसँग जान सकेनन्। छटपटिएका उनलाई दाहालले आफ्नो समूहमा फर्कन निम्ता दिए।
माओवादी र एमालेबीच एकता भएपछि उनको भागमा गृह मन्त्रालय पर्यो। प्रारम्भमा ठूला गफ गरे पनि मध्यम क्षमताका नेता देखिए। नेकपामा खटपट बढ्दा उनी दाहालसँग टाढिँदै गए। टाढिनुको कारण पटक–पटक उनलाई गृहबाट हटाउने दाहालको प्रयासलाई लिइन्छ।
दाहाल आफैले सार्वजनिकरूपमा ओलीलाई बादललाई मन्त्रीबाट हटाउन दबाब दिएको भनेर झुट बोलेको दाबी गरेका थिए।
दाहालले सार्वजनिकरूपमा बादललाई हटाउने प्रयास नगररको दाबी गरे पनि बादल निकट स्रोतका अनुसार दुवैको सम्बन्ध चिसिनुको कारण मन्त्रीबाट हटाउने प्रयासै हो।
बादलले आफू निकटकालाई दाहालले आफूलाई धोका दिएको बताउने गरेका थिए। अहिले ओलीतिर लाग्नुको एक कारण दाहालसँगको अविश्वास पनि कारण रहेको ती नेताले दाबी गरे।
‘प्रचण्डले हैन भने पनि मन्त्रिपरिषद् पुनर्गठनको मागमा गृह पनि थियो। उहाँ बादललाई गृहबाट निकाल्ने रणनीतिमा हुनुहुन्थ्यो। ओलीले त्यसैलाई हतियार बनाउँदा बादलले प्रचण्डलाई विश्वास गर्न सक्नु भएन,’ ती नेताले भने।
पुष १०, २०७७ शुक्रबार ०१:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।