के छ साना दलको दाउ ? 

के छ साना दलको दाउ ? 

काठमाडौं : संसद विघटनको विषयलाई लिएर सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संघरमा छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांगेसले संसद विघटनपछि के गर्ने भन्ने आवश्यक रणनीति तय गर्न सकेको छैन। तीनदिनदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा किचलो नै छ। 
 

संसद विघटनको विरोधमा तत्काल आन्दोलनमा जाने कि अदालतको आदेश कुर्ने भन्ने ‘कन्फ्यूज’ मै कांग्रेस छ। उसले यो कदमलाई असंबैधानिक भनेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल तत्काल आन्दोलन थाल्ने पक्षमा देखिएका छन् भने पार्टी सभापति शेरबहादुर देउवा अदालतको आदेश पर्खने पक्षमा देखिन्छन्। 

संसद विघटनबारे शुक्रबार संबैधानिक इजलासमा बहस हुँदैछ। संसद विघटनबारे सर्वोच्चले के फैसला गर्छ सबैको चाँसो त्यसैमा छ।  

साना तीन दल जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझा पार्टीले पनि संसद विघटनलाई असंबैधानिक कदम भएको बताएका छन्। तर, यी तीन दलले चुनावका बिषयमा भने स्पष्ट धारणा सार्वजनिक गरिसकेका छैनन्।

सडक संघर्षमा जसपा

जनता समाजवादी पार्टीको तत्काल नयाँ योजना छैन। संसद विघटनको कदमलाई सच्याउनुपर्ने जसपाको भनाई छ। ‘व्यवस्था संकटमा परेको अवस्थामा अरु के नै प्राथमिकता हुन्छ र ?’ जसपाका अध्यक्ष उपेन्द्र यादवले भने,‘प्रतिगमन सच्याउने नै पहिलो प्राथमिकतामा छ।’ 

संसद विघटनविरुद्ध जसपा अदालती प्रकृयासँगसँगै सडक संघर्ष पनि जारी राख्ने योजनामा छ। 

‘अदालती प्रकृयामा पनि गईसकेका छौँ। सडकमा पनि आईसकेका छौँ’ यादवले भने,‘चूनावी तयारीमा जाने भन्ने अहिले नै स्पष्ट छैन।’ ‘चुनावबाटै भाग्ने त होईन पहिले व्यवस्था नै सच्याउनुपर्छ भन्नेमा छौँ’ यादवले थपे। जसपाले केन्द्रीय कमिटिको बैठकमार्फत देशव्यापी सडक संघर्षका कार्यक्रम गर्ने निर्णय गरिसकेको छ।

ताजा जनादेशका पक्षमा राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बाटो भने दोधारे देखिन्छ। संसद विघटनलाई उसले असंबैधानिक मानेको छ। तर, चुनावमा जाने निर्णयको भने स्वागत गरेको छ। ‘हेर्दा दोहोरो चरित्र देखिन्छ तर, ताजा जनादेशमा जाने विषयमा जुनसुकै समयमा तयारी अवस्थामा रहनुपर्छ’ राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने, ‘आखिर हामी पनि त राजनीतिक पार्टी नै हौँ।’ 

पार्टीको सदावहार एजेण्डा हिन्दु राष्ट्रसहितको राजसस्था, सरकारका कमजोरी र अन्य जनजीविकाका एजेण्डासहित जनतामा जाने पक्षमा छ राप्रपा। 

‘जतिसुकै बहुमत भएपनि काम गर्न नदिएपछि ताजा जनादेशमा जानु नै उपयुक्त हो नि’ श्रेष्ठले भने,‘अदालतमा पनि यो बिषय पुगेको छ। तर, चुनावमा जान त जहिले भएपनि तयारी अवस्थामा छौँ।’

आन्दोलनकै पक्षमा विवेकशील साझा 

विवेकशील साझा पार्टीले पनि संसद विघटनको निर्णयले लोकतन्त्र खतरामा परेको भन्दै यसलाई जोगाउनु नै पहिलो प्राथमिकता ठानेको छ। 

पार्टीका संयोजक मिलन पाण्डे संसद विघटनपछि लगत्तै पार्टीले विरोधका कार्यक्रम सुरु गरेको बताउछन्। ‘लोकतन्त्र खतरामा परेको अवस्थामा यसलाई बचाउनु नै पहिलो प्राथमिकता हो’ उनले भने,‘असंबैधानिक कदमविरुद्ध सुरुदेखि नै आन्दोलनका कार्यक्रम जारी राखेका छौं।’

यो पार्टीले चुनावबारे तत्काल कुनै धारणा बनाईसकेको छैन। यसबारे अदालतमा बहस भइरहेकाले सोही अनुसार धारणा बन्ने संयोजक पाण्डेको भनाई छ। 


 

पुष ९, २०७७ बिहीबार १४:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।