बादलको कित्ता ‘क्लियर’, ओली समूहको उपाध्यक्ष बन्ने 

बादलको कित्ता ‘क्लियर’, ओली समूहको उपाध्यक्ष बन्ने 

काठमाडौं : केपी शर्मा ओली र पुष्पकमल दाहाल समूहबिच पार्टीमा बढेको किचलोमा मौन रहँदै आएका रामबहादुर थापा बादल पार्टी विभाजनको विन्दुमा पुग्दा समेत मौन नै रहे।

 

 

 

पछिल्ला समय बढेको गुटगत भेलामा उनी कतै देखिएनन्। कित्ता क्लियर गर्न उनले बिहीबारको दिन रोजे र प्रधानमन्त्री केपी ओली समूहको उपाध्यक्ष बन्न राजी भए।

बिहीबार उनी ओली समूहको केन्द्रीय समितिको बैठकमा सहभागी हुँदै ओली समूहमा प्रवेश गरेका हुन्।  केन्द्रीय समितिको बैठकमा सहभागी हुनु अगाडि उनले प्रधानमन्त्री ओलीसँग एक घण्टा बढी एक्लै छलफल गरेका थिए। 

उता बादल ओलीसँग छलफलमा बस्दा यता दाहाल र नेपाल समूहमा उनी ओली समूहमा प्रवेश गर्ने सूचना आइसकेको थियो।

दाहाल–माधव समूहको नेताहरूको बैठक स्थलमा हल्ला हुँदाहुँदै उनी ओली समूहको केन्द्रीय समितिको बैठकमा सहभागी भएको सूचना आएको थियो।

ओली समूहले बादललाई उपाध्यक्ष बनाउने तयारी गरेको स्रोतले बताएको छ। स्रोतका अनुसार उनलाई आजैको केन्द्रीय समिति बैठकबाट उपाध्यक्ष बनाउने सम्भावना छ। 

पूर्वमाओवादीबाट टोपबहादुर रायमाझी र लेखराज भट्ट पनि ओली समूहमा गएका छन्। 

ओली समूहतिर लागेका सिन्धुपाल्चोकका सांसद शेरबहादुर तामागं भने बिहीबार दाहाल–नेपालको भेलामा देखिए।

पुष ९, २०७७ बिहीबार १४:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।