चुनाव चिह्नको मोह 

चुनाव चिह्नको मोह 

काठमाडौं : महाकाली सन्धि राष्ट्रवाद हो कि राष्ट्रघात भन्ने विवाद बढ्दा २०५४ फागुन २१ मा एमाले विभाजित भएर माले बन्यो। संगठन र वैचारिकरूपमा बलिया एमालेका नेताहरू मालेतिर लागे। नेतृत्व गरिन् साहना प्रधानले। सिपी मैनाली, वामदेव गौतम, घनश्याम भुसाल, योगेश भट्टराई लगायतको जुझारु टिम थियो मालेमा।

सूर्य चिह्नमा चुनाव लड्दै आएका नेताहरू २०५६ मा तारा चिह्न लिएर चुनावी मैदानमा उत्रिए। दोस्रो दलको आश गरेका नेताहरू सबै पराजित भए। पार्टीले प्रतिनिधि सभामा एक सिट पनि नल्याएपछि बसेको समीक्षा बैठकमा हारको कारण नेपाली कांग्रेस, एमाले र मालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा मालेले जित्न सक्ने ठाउँमा एमालेले कांग्रेसका नेताहरूलाई भोट हालेको देखियो। अर्को मुख्य कारण देखियो– चुनाव चिह्न। 

नेकपा मालेका तत्कालीन कार्यालय सचिव केशवलाल श्रेष्ठले तितो दिन सम्झँदै भने, ‘नेकपा माले सैद्धान्तिक आधारमा फुटेको थियो। चुनाव चिह्नले त्यति फरक पार्दैन भनेर हामीले सूर्य चुनाव चिह्नै दाबी पनि गरेनौं। जसै चुनावको परिणाम आयो धेरै समीक्षामा साथीहरूले चुनाव चिह्नका कारण हारेको बताए।’ 

००० 

विघटित प्रतिनिधि सभा ब्युँताउन सर्वोच्च अदालतमा परेको रिटको छिनोफानो नहुँदा औपचारिक घोषणा नभए मात्र हो। व्यावहारिक रूपमा एमाले र माओवादीको मिलनबाट बनेको नेकपा व्यावहारिकरूपमा विभाजित भइसक्यो। 

पुष्पकमल दाहाल र माधव नेपाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्षसमेत रहेका केपी ओलीलाई अध्यक्षबाट त हटाए नै संसदीय दलको प्रमुखबाट समेत हटाइसकेका छन्।

अदालतले संवैधानिक इजलासमा पुर्याएको विघटित संसद् ब्युँताउनु पर्ने माग गरिएको रिटको छिनोफानो लागेसँगै दुवै समूहबीच नेकपा नाम र सूर्यभित्र हँसिया हथौडा चुनाव चिह्न आफ्नो पक्षमा पार्न कानुनी घम्साघम्सी हुने पक्का छ।

सचिवालय, स्थायी समिति, केन्द्रीय समिति र संसदीय दलको संख्याको आधारमा दाहाल र नेपाल समूहले नै नेकपा नाम र चुनाव चिह्न पाउने सम्भावना बलियो छ। यसको विकल्पमा ओली समूहले नेकपा एमाले ब्युँताउन मानसिकरूपमा तयार छन्। तर, सूर्य चुनाव चिह्नको मोह त्याग्न सकेका छैनन् ओली पक्षका पूर्व एमालेहरूले। उनीहरूको सूर्य चिह्नप्रतिको मोह सामाजिक सञ्जाल हेर्दा पनि देखिन्छ नै।

चुनाव चिह्नको मोह 

पार्टीको नाम र नेताको सार्वजनिक छविले प्रभाव पार्नु पर्ने हो। तर, योभन्दा पार्टीको सिद्धान्त र नीति महत्त्वपूर्ण हुनु पर्ने हो मतदाताका लागि। तर, नेपालको चुनावी परिणाम हेर्ने हो भने सिद्धान्त, नीति, पार्टीको नाम र नेताभन्दा चुनाव चिह्न नै हावी हुने गरेको छ निर्वाचनमा।
मालेको एक उदाहरण त भयो। २०५८ मा नेपाली कांग्रेस विभाजित भएर नेपाली कांग्रेस प्रजातान्त्रिक बन्दा पनि पार्टीको सिद्धान्त, नीति र नेतामाथि चुनाव चिह्न नै हावी भयो। 

संकटकाल लगाउने विषयमा बढेको विवादले पार्टीलाई विभाजनसम्म पुर्यायो। विवाद बढ्दै जाँदा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेपछि विकल्पमा अर्को दलको जन्म भएको थियो।

त्यो बेला पनि रुख चुनाव चिह्न कसले लिने भन्ने रस्साकस्सी चलेको नै थियो। तर, निर्वाचन आयोगले कोइराला नेतृत्वको नेपाली कांग्रेसलाई नै रुख चिह्न दियो। देउवा समूहले चुनाव चिह्न पाए कलश। कलशमा कांग्रेसी मतदाताहरूको मोह नै जागेन।

तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकका नेता गोपालमान श्रेष्ठले ती दिन सम्झँदै भने, ‘त्यो बेला हामीले रुख चुनाव चिह्न दाबी गरेका  थियौं। तर, पाएनौं।’

लामो रस्साकस्सीपछि बल्लबल्ल एक भएको राष्ट्रिय प्रजातन्त्र पार्टी चुनाव चिह्न गाई राख्ने कि हलो भन्ने विवादमै फेरि फुटेको थियो। कमल थापा गाई त्याग्न राजी भएपछि पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनी सहमत हुँदै पुनः पार्टी एक भयो र चुनाव चिह्न हलो कायम भयो। 
नीति राम्रो बोकेर चुनावी मैदानमा उत्रिए पनि नयाँ दललाई मतदातासँग परिचित हुन समय लाग्नुको कारण चुनाव चिह्न नै कारक देखिन्छ। राष्ट्रिय पार्टी नहुँदासम्म निश्चित चिह्न नपाउँदा घाटा समेत हुने गर्छ नयाँ दललाई।

यसको गतिलो उदाहरण हो– विवेकशील दलले भोगेको कठिनाइ। संविधान सभा निर्वाचनमा विवेकशील नेपाली दलले कुकुर चुनाव चिह्न पाएको थियो। तर, २०७४ को  स्थानीय चुनावमा चुनाव चिह्न बदलिएर इस्ट कोटमा पुग्यो। चुनाव प्रचारमा चुनाव चिह्न भिजाउनै समय लागेको विवेकशीलबाट काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार बनेकी रञ्जु दर्शनाले बताइन्। 

रञ्जु चुनावको मुखैमा चुनाव चिह्न पाउँदा विवेकशील मन पराउने मतदातासमक्ष आफ्नो चिह्न चिनाउन नपाउँदा मतदाता अलमलमा परेको बताउँछिन्।

‘हाम्रो पार्टीबाट पहिले नै तत्कालीन अध्यक्ष उज्जवल थापा कुकुर चुनाव चिह्न लिएर उठ्नुभएको थियो। पार्टीभित्र यही चुनाव चिह्न लिएर उठ्ने कि भन्ने पनि भएको थियो,’ रञ्जु भन्छिन्, ‘यो चुनाव चिह्न नपाएपछि हामीले चुनावको मुखैमा इस्ट कोट चुनाव चिह्न पायाँै। यसबाट हामीले के सिक्यौ भने नेपाली समाजमा चुनाव चिह्नको महत्त्व धेरै छ। आफ्नै चुनाव चिह्न भएको भए हामीले केही मत अझ बढाउँथ्याँै भन्ने समीक्षा गरेका थियौं।’

चुनाव चिह्नको मोह किन ?

‘पुरानो चुनाव चिह्नमा मतदाताको भावना र सेन्टिमेन्ट जोडिएको हुन्छ। त्यसैले दलहरूलाई पुरानै चुनाव चिह्नको चाहना हुन्छ,’ श्रेष्ठले भने।

नेपालमा कांग्रेसलाई भन्दा रुखलाई अनि एमालेलाई भन्दा सूर्य चिह्नलाई माया गर्ने मतदाताको संख्या बाक्लो छ। कुन नेता कता गए र कसले कस्तो सिद्धान्त लिए भन्नेभन्दा पनि चुनाव चिह्न के हो भन्ने निर्णायक हुन्छ निर्वाचनमा।

श्रेष्ठको मत अनुसार चुनाव चिह्नले राजनीतिक दलहरूलाई चिन्ने भएकाले चुनाव चिह्न सजिलै छोड्न सकिँदैन। 
 

पुष ८, २०७७ बुधबार २३:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।