ट्राफिकज्यू, फु...गर्दा कोरोना सर्दैन र !
काठमाडौ : मंगलबार साँझ काठमाडौंको जमलमा एक ट्राफिक प्रहरी मोटरसाइकल चालकले मादक पदार्थ सेवन (मापसे) गरे या नगरेको चेकिङ गर्दै थिए।
मुखमा मास्क लगाएका ती ट्राफिक प्रहरीले ब्रेथलाइजरबाट (मापसे चेकिङ गर्ने मेसिन) चालकको मापसे चेकिङ गरिरहेका थिए। यात्रु मास्क खोलेर मेसिनमा फु...फु...गरिरहेका थिए।
कोरोना भाइरस संक्रमणको जोखिम उस्तै छ। तर राजधानीका अधिकांश ठाउँमा सामान्य समय झै राति ८ बजेपछि यस्तै दृश्य देखिन्छन्।
ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौंको जमल, दरबारमार्ग, गोंगबु, कलंकी, कमलपोखरी, माइतीघरलगायत क्षेत्रमा ट्राफिक प्रहरीले मापसे चेकिङ गर्दै आएका छन्।
मापसे चेकिङमा खटिएका ट्राफिक प्रहरीले पर्याप्त सुरक्षाका मापदण्ड पालना गर्ने गरेको समेत देखिँदैन। उनीहरूले मास्क लगाएर मापसे चेकिङ गर्ने गरेका त छन् तर, मास्ककै भरमा कोरोना संक्रमणको जोखिम नघट्ने चिकित्सकहरू बताउँछन्।
काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन
मापसे चेकिङ गर्ने ट्राफिक प्रहरीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम हुने बताउँछन्।
‘मापसे चेकिङ गर्ने क्रममा हा... गरेर श्वास निकाल्दा थुकका छिटा निस्कन सक्छन्। घाँटी खसखस गरेर खोकी लाग्न सक्छ। संक्रमित व्यक्तिले खोक्दा वा फु...गर्दा निस्कने थुकका छिटा मापसे जाँच गर्ने ट्राफिकको प्रहरीको अनुहार तथा हातमा पर्न सक्छ,’ उनी भन्छन्।
संक्रमित व्यक्तिका थुकका छिटा आँखामा परेको अवस्थामा आँखाबाट पनि संक्रमण सर्न सक्छ। संक्रमित व्यक्तिको थुकका छिटा अनुहार वा हातमा परेको अवस्थामा पनि कोरोना संक्रमणको जोखिम हुन्छ।
‘त्यसैले मास्क मात्रै लगाएर मापसे जाँच गर्दा सुरक्षित हुन सकिँदैन,’ उनी भन्छन्, ‘कोरोनाबाट बच्नका लागि मापसे जाँच गर्ने प्रहरीले अनिवार्यरूपमा फेस सिल्ड वा भाइजर लगाउनु पर्छ। एक जना व्यक्तिको मापसे चेक गरिसकेपछि स्यानिटाइजर लगाएको राम्रो।’
त्यसैले ट्राफिक प्रहरीले टाढेैबाट फुक्ने ब्रेथलाइजर प्रयोग गरे पनि यसले कोरोना संक्रमणको जोखिम छ नै। ट्राफिकसँँगै यात्रु संक्रमित हुनेे जोखिम पनि उस्तै छ।
‘ यसमा दुवै पक्ष (चेकिङ गर्ने र गराउने) सचेत र सजग हुन आवश्यक छ,’ डा पुनले भने।
कोरोना संक्रमणसङ्क्रमणको उच्च जोखिम,तर छैन वास्ता
राजनीतिक घटनाक्रम जोखिमपूर्ण बन्दै गएकाले हिजोआज कोरोना सङ्क्रमणको डर घट्दै गएको देखिन्छ। छाम्यामा छ सङ्क्रमण। कोरोना विरुद्धको खोपले स्वीकृति पाएपछि आत्मबलसँगै हेलचेक्याइ समेत बढाएको छ।
तर जोखिम उस्तै छ कोरोनाको।
बुधवारको तथ्याङ्क अनुसार २४ घण्टामा कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु भयो। ६ हजार ५ सय ५९ जनाको पीसीआर परीक्षण गर्दा ७ सय ४३ जना सङ्क्रमित पहिचान भए।
यसमध्ये सबैभन्दा बढी वाग्मती प्रदेशमा ३ सय ७८ जना सङ्क्रमित पहिचान भएका छन्। प्रहरी सङ्गठनले यही बागीतममा मापे परीक्षण खुल्ला गराएको छ।
ट्राफिक उच्च जोखिममा
२०७७ जेठ १५ देखि मङ्सिर १५ सम्मको तथ्याङ्क अनुसार ६ हजार ४ सय ३० प्रहरी सङ्क्रमित भइसकेका छन्। त्यसमा ट्राफिकको सङ्ख्या बाक्लै छ।
काठमाडौँमा मात्रै २ सय बढी ट्राफिक सङ्क्रमित भइसकेका छन्। कोटेश्वर प्रभाका १७ जना ट्राफिक एकै पटक सङ्क्रमित भएका थिए।
साउन १८ मा ट्राफिक प्रहरी महाशाखामा २ जना ट्राफिकलाई कोरोना सङ्क्रमणउँधा महाशाखा प्रमुख भीम ढकालसहित ३ सय ७५ जना ट्राफिक प्रहरी क्वारेनटाइनमा बसेका थिए। महामारीका बेला किन मापसे चेकिङ थालेको ?
ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले मापसे गरि सवारी चलाउने बढेकाले दुर्घटना न्यूनीकरणका लागि चेकिङ थालिएको बताए। उनी भन्छन्, ‘मापसे चेकिङ हाम्रो रहर नभइ बाध्यता हो।’
पुष ८, २०७७ बुधबार २१:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।